अहिले गुमेको मत अर्काे चुनावमा फर्केला ?
दमौली, बैशाख १२
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदबार एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याएका थिए । परिस्थितिवश तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएपछि एमालेका नेताहरुको हिसाव थियो, रानाले ल्याएको मत जोगाउन सकियो भने यसपटक चुनाव जितिन्छ ।
पार्टीका बैठकहरुमा उनीहरुको दुईवटा तर्क हुन्थ्यो, पहिलो गठबन्धनमा माओवादीका सबै कार्यकर्ताले यसपटक काँग्रेसका उम्मेदबारलाई भोट हाल्दैनन् । दोश्रो काँग्रेसले मंसिरमा ल्याएको मत मध्ये करिब ५ हजार मत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबारले तान्छन् । अनि काँग्रेस र रास्वपाको प्रतिश्पर्धामा जित निकाल्न सकिन्छ भन्ने एमालेका नेताहरुको पनि अनुमान थियो । त्यही हिसाबले एमालेले उपनिर्वाचनमा आफुले जित्ने निश्चित रहेको दावी गरेको थियो ।
यहि हिसाब देखेर नै यसपटक उपनिर्वाचनमा एमालेबाट उम्मेदबारका आकांक्षीहरु धेरै देखिए । मंसिरमा एकबहादुर रानालाई नै जवरजस्ती उम्मेदबार बनाएको एमालेले यसपटक जिल्लाबाट उम्मेदबारको टुंगो लगाउन नसकेपछि केन्द्रमा पठाएको थियो । मंसिरमा भएको निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका सर्वेन्द्र खनाल पनि त्यही हिसाब सुनेर नै गृह जिल्लामा आएर चुनाव लड्न हौसिएका थिए ।
तर एमालेका नेताहरुले आफ्नो हिसाब बिग्रिएको पत्तै पाएनन् । चुनावी प्रचारकै क्रममा एमालेको हिसाब बिग्रिसकेको थियो । एमालेले बैशाख ५ गते दमौली र डुम्रेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितीमा बृहत चुनावी सभा गर्ने निर्णय गरेर सम्पुर्ण तयारी समेत गरेको थियो । तर अचानक अस्वस्थ भएपछि अध्यक्ष ओलीले आफ्नो कार्यक्रम रद्ध गरे । र एमालेको चुनावी सभा पनि स्थगित भयो । तर त्यस अघि नै बैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले दमौलीको अनसन चौतारीमा करिब पाँच हजारको उपस्थितीमा बृहत चुनावी सभाको आयोजना ग¥यो ।
नेपाली काँग्रेसले बैशाख ७ गते सोही ठाउँमा आयोजना गरेको चुनावी सभा रास्वपाको भन्दा निकै फितलो र कमजोर देखिएको थियो । आफ्नो पार्टीको चुनावी सभा नहुनु तथा रास्वपा र काँग्रेसको सभा हेरेका एमालेका कार्यकर्ताहरुले रास्वपाको सभालाई ठुलो देखेपछि त्यही बेला नै धेरैले घन्टीमा मतदान गर्ने निर्णय गरिसकेका थिए । त्यसमाथि चितवनमा समेत एमाले अध्यक्ष ओली चुनावी सभामा जान नसक्नु तर बारा जिल्लामा गएर सभालाई सम्बोधन गरेपछि एमाले समर्थक मतदाताको मनमा एमालेको समर्थन तनहुँ र चितवनमा घन्टीका उम्मेदबारलाई हुने रहेछ भन्ने बुझे ।
एकातिर एमालेको घर दैलो अभियान प्रभावकारी नहुनु र अर्काे तिर रास्वपाको प्रभाव बढ्दै जान थालेपछि एमालेका अधिकांश मतदाता घन्टीतिर आकर्षित हुन थालेका थिए । त्यसैबेलादेखी बिग्रिएको एमालेको हिसाब बैशाख १० गते मतपत्र मार्फत प्रकट भएको थियो ।
एमालेको मतदाता घन्टी तर्फ आकर्षित हुनुको अर्काे महत्वपुर्ण कारण पनि छ । त्यो भनेको प्रधानमन्त्री सहित ३ जना पुर्व प्रधानमन्त्रीहरुले डुम्रेमा गरेको चुनावी सभाको भाषण ।
उक्त चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसका उम्मेदबार गोविन्द भट्टराइलाई जिताएर पठाएमा मन्त्री बनाउने आश्वासन दिएपछि एमालेका मतदाताले कुनै पनि हालतमा काँग्रेसको उम्मेदबारलाई हराउने निर्णय गरेका थिए । विगत देखी नै गाउँमा काँग्रेससँग जुद्धै र भिड्दै आएका एमालेका कार्यकर्ताहरु अव झन काँग्रेसको मन्त्री नै बन्ने भएपछि काँग्रेसको ज्यादती बढ्न सक्ने भन्दै काँग्रेसलाई रोक्न घन्टीमा मतदान गरेको अनुमान गरिएको छ ।
एमालेका एक जिल्ला नेताले पार्टीले सर्कुलर गरे झैं गरेर कार्यकर्ताले घन्टीमा मतदान गरेको बताए । तर एमालेले घन्टीमा मतदान गर्ने कुनै निर्णय नगरेको ति नेताले बताए । आफ्नो उम्मेदबार मैदानमा भईसकेपछि उसैलाई जिताउने एमालेका कार्यकर्ताहरुको कतव्र्य हुन्थ्यो । तर आफ्नो उम्मेदबारले नजित्ने अवस्था देखेपछि परम्परागत प्रतिश्पर्धीलाई हराउन मतदाताले अर्काे पार्टीको चुनाव चिन्ह रोजेको विश्लेषण एमालेका नेताहरुले गरेका छन् ।
उपनिर्वाचनमा एमालेका उम्मेदबारले पाएको मत देखेर एमाले पंक्तिमा खैलाबैला मच्चिएको छ । कुनै नेताले पनि यसको जिम्मेबारी लिन तयार भएका छैनन । एमालेका नेताहरु सामाजिक सन्जालबाट पनि टाढा बसेका छन् । एमालेका एक कार्यकर्ताले भने ‘धन्न जमानत जोगिएछ’ ।
एमालेका केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरु रहेको वडामा नेकपा एमालेको उपस्थिती सबैभन्दा कमजोर बनेको छ । निर्वाचन भएको ४२ वटा वडा मध्ये एमालेले देवघाट गाउँपालिकाको वडा नम्बर १ मा मात्रै प्रतिश्पर्धी उम्मेदबारहरुलाई उछिनेको छ । बाँकी अन्य वडामा एमालेले प्राप्त गरेको मत तेश्रो स्थानमा रहेको छ ।
एमालेका सर्वेन्द्र खनालले ८४८८ मत पाए । एमालेले व्यास नगरपालिकाबाट १७३५, भानु नगरपालिकाबाट ३३७६, आवुँखैरेनीबाट ५९६, बन्दिपुर गाउँपालिकाबाट १४१८ र देवघाट गाउँपालिकाबाट १६६४ मत प्राप्त गरेको थियो । एमालेले सबैभन्दा बढि आश गरेको भानुको वडा नम्बर ३,४, ६, ८ र ९ देवघाटको वडा नम्बर ५, आवुँखैरेनीको वडा नम्बर ३, बन्दिपुरको वडा नम्बर ३ र ४ तथा व्यासको १२ मा एमालेको मत निकै कम आएको छ । यसैगरि एमालेले भानुको वडा नम्बर १३, व्यास नपाको वडा नम्बर २, ९, १३ र १४ तथा आवुँखैरेनीको वडा नम्बर १ र ५ र देवघाटको वडा नम्बर ३ मा सय मत पनि कटाउन सकेको छैन । एमालेले सबैभन्दा बढि मत देवघाटको वडा नम्बर ५ बाट ६०५ तथा वडा नम्बर १ बाट ४९४ मत ल्याएको छ । अन्य वडाहरुमा एमालेको मत बढिमा ३ सय सम्म रहेको छ ।
एमालेले यसपटक गुमाएको मत अर्काे चुनावमा पार्टीकै पक्षमा फर्केला त ?
यो प्रश्नले अव एमालेका नेताहरुलाई सँधै लखेटिरहन्छ । एमालेका नेताहरु भने यसपटक हुरी आएर एमालेलाई केही क्षती पु¥याएको तर अर्काे चुनावमा पार्टीकै पक्षमा उभिने विश्लेषण गर्न गालेका छन् । तर यसपटक घन्टीमा भोट हालेका मतदाता अर्काे चुनावमा एमालेमा फर्किनेमा शंका गर्न सकिन्छ । यसपटक रास्वपासँग घोषित गठबन्धन भएर घन्टीमा मतदान गरेको भए अर्काे चुनावमा उनीहरु एमालेमा फर्कन सक्थे तर मतदाताहरु स्वयंले घन्टी चुनाव चिन्ह र रास्वपा पार्टी रोजिसकेपछि पुनः एमालेमा फर्कने सम्भावना देखिँदैन ।
यसको ज्वलन्त उदाहरण चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको परिणामलाई लिन सकिन्छ । चितवन–२ मा गत मंसिरमा भएको निर्वाचन भन्दा यसपटक एमालेले करिब ४ हजार मत गुमाएको छ । मंसिरमा झुक्किएर घन्टीमा भोट हालेका मतदाता अव एमालेमै फर्कन्छन् भन्ने एमाले चितवनका नेताहरुको विश्लेषण फेल खाएको छ । चितवनमा एमालले पाँच महिनाकै विचमा चार हजार मतदाता गुमाएको छ । तनहुँमा पनि त्यो अवस्था नहोला भन्न सकिन्न ।