२९ असार, दमौली
‘मेरा इनार, त त सत्तल पाटी केही छन्
जे चिज र धनहरु छन् घर भित्र नै छन्
त्यो घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी किर्ती’
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले घरको उल्लेख गर्दै आफ्नो किर्तीमा घाँसीको बारेमा व्याख्या गरेका छन् । कुनै किर्ती नराखीकन घरमा मात्रै बस्नु धिक्कार हो भन्ने आशय भानुले आफ्नो किर्तीमा उल्लेख गरेका छन् । तिनै आदिकविले भने झैं आज उनको जन्म घर उचित संरक्षणको अभावमा झन÷झन खण्डहर बन्दै गईरहेको छ ।
भानु नगरपालिका वडा नम्बर ४ को शिखरकटेरीमा आज भन्दा २१० वर्ष अघि भानुभक्त आचार्यको जन्म भएको थियो । भानु जन्मेको घर आज जताततै भत्किएको खण्डहर मात्र देखिन्छ । घर भित्र काँडा सहितका ठुला ठुला रुख हुर्किएका छन् । भानुभक्त आचार्यको नाममा उनको जन्मजयन्तीको अवसरमा हरेक वर्ष देश बिदेशमा ठुला ठुला कार्यक्रम हुन्छन् । आज २०६ औं भानु जयन्तीको अवसरमा पनि देश तथा बिदेशमा धेरै कार्यक्रम आयोजना गरिएका छन् तर भानु जन्मेको घरको संरक्षण तर्फ कसैको ध्यान पुगेको छैन ।
भानु जन्मस्थलको विकास र त्यस क्षेत्रको संरक्षणकोलागि सरकारले गठन गरेको भानुजन्मस्थल विकास समिति गठन गरेको छ । विकास समिति भएपनि समितिलाई आवश्यक बजेटको व्यवस्थापन गर्न नसक्दा भानुभक्तको जन्मभुमीको विकास र प्रबद्र्धनकोलागि कुनै काम हुन सकेको छैन । भानु जन्मस्थल शिखर कटेरी पुग्ने जो कोही साहित्यानुरागीहरुको मन भानुभक्त आचार्यको जन्मघरको अवस्था देखरे कटक्क खान्छ । २०७३ साल चैत २२ गते मा पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाले भानु जन्मघरको पुननिर्माण गर्ने घोषणा गरेको थियो । तत्कालिन मुख्य सचिव सोमलाल सुवेदी, पुर्व मुख्य सचिव लिलामणी पौडेल र मञ्चका तत्कालिन अध्यक्ष रामकाजी कोनेले भानु जन्मघरको संयुक्तरुपमा शिलान्यास समेत गरेका थिए ।
तर त्यसपछि कुनै काम अगाडी नबढाउँदा घरको संरक्षण गर्ने अन्य संस्थाको पहल समेत सफल नभएको जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । भानु घरको पुननिर्माण कार्य तुरुन्त सुरु गर्न उक्त संस्थालाई पटक–पटक ध्यानाकर्षण गराएपनि खासै काम नभएको रानाभाटले बताए । ६८ लाखको लागतमा गुरुयोजना सहितको भानुगृह पुननिर्माणको काम अगाडी बढाईने घोषणा गरिएपनि त्यसपछि कुनै काम नभएको रानाभाटको भनाई छ । मञ्चले भने खानेपानीको अभाव, भानुगृह सम्म पुग्ने सडकको अवस्था, व्यवसायीको सुरक्षा आदिको कारण तत्काल पुननिर्माण कार्य सुरु गर्न समस्या रहेको जानकारी दिएको थियो ।
भानु जन्मस्थल विकास समितिसँगको सहकार्यमा २०५७ सालमा चलचित्र निर्देशक यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामको चलचित्र निर्माण गर्ने क्रममा एक लाख रुपैयाँको लागतमा भानु जन्मघरको पुननिर्माण गरिएको थियो । तर उक्त चलचित्रको छायांकन सकिएर टोली फर्किएपछि जंगलको विचमा रहेको उक्त घर २०६१ साल जेठमा जंगलमा आगो लाग्दा ध्वस्त भएको थियो । त्यसयता भानुगृह भग्नावशेषमा परिणत भएको छ ।
भानु जन्मस्थल खण्डहर बनेपनि त्यसैको आडैमा २ करोड ६५ लाखको लागतमा रामायण भवनको निर्माण गरिएको छ । संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोगमा तीन तलाको उक्त भवनको निर्माण गरिएको हो । उक्त भवनमा भानुभक्त र रामायणसँग सम्बन्धीत श्लोकहरु, विभिन्न सामाग्रीहरु राखिने र सभाहल, कार्यक्रम स्थल पनि निर्माण गरिने कार्यकारी निर्देशक रानाभाटले बताए ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ । भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताउए ।
भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ ।
चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउछन् । ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।’ भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउछन् ।
दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ ।