दमौली, साउन २८
गत साउन १६ गते हाल अष्ट्रेलिया बस्ने महेश्वर घिमिरेले आफ्नो फेसवुकवालमा एउटा कविता लेखे–‘मदन तिमी किन जान्नी पल्टेको’ शिर्षकमा । उनले उक्त कविता दमौलीका अपाङ्गता अधिकारकर्मी मदन पौडेललाई लक्षित गरेर लेखेका थिए ।
कविता यस्तो थियो–‘मदन तिमी किन जान्नी पल्टेको, तिमी यसो अलिकति अपाङ्ग भयौ त के भो ?, तिमीले अपाङ्गको अधिकार बुझ्यौ त के भो ?, तिमीसँग अलि–अलि पैसा पनि छ, व्यवसाय पनि छ, जहान बालबच्चा छ, साथी इष्टमित्र सबै छन् त !
किन अपाङ्गता अधिकार चाहियो ? क–कसलाई चोटामा लैजानु पर्ने छ तिमीलाई ? तिमी अमुक दलको पृष्ठपोषक, अनि कसैको आलोचक ? कसैको हकको मान को शोषक !
तिमीलाई हाम्रो नेता मनपर्दैन, तिमीलाई हाम्रो पार्टी मनपर्दैन, तिमीलाई हाम्रो ठेकेदार मनपर्दैन, तिमीलाई नै खै किन धेरै जान्ने हुनु पर्छ ! तिमीलाई समयको वेगभन्दा उल्टो वहन पर्छ ।
ओछ्यान परेकाहरूको बारेमा सोचि टोपल्छौ कानून मिचेको भन्ने निहुँ पारेर घोची टोपल्छौ, हामिलाई थाहा छैन र तिमी को हौं ? अन्तराष्ट्रिय संस्थामा जागिर ग¥या छैनौं, डाक्टरी झुन्ड्याउने पढाइ पढ्या छैनौं, सदनमा पुग्ने खाले राजनीति ग¥या छैनौं,
अनि अझै तिमी हामी बराबरी हुन पर्छ ? के लाग्छ सबैले घरको बुईङ्गल छुनै पर्छ ? तिमीलाई लाग्दैमा, तिमीहरूले माग्दैमा, सबै साङ्ग–अपाङ्ग बराबरी हुनै पर्छ ? कति चाँडो बिर्सिन्छौं तिमी ? सरकारले भत्ता दिएको, परार ह्वीलचियर लिएको, संस्थाले ओखती दिएको, शिविरमा साधनको नापो लिएको, छात्रवृत्तिमा सरकारले बाह्र सय दिएको ।
उता..स्कूलको एउटा कोठा पनि तिम्रै लागि हो, कहाँ सक्छ र हाम्रो सरकारले सबै दिन, अपाङ्ग मात्रै छन् र लाइनमा सेवा लिन ? त्यसैले म पनि प्रश्न गर्छु तिमि किन जान्नी पल्टेको ? किन अर्कै तिर ढल्केको ? विरोध गर्न किन पल्केको ? देख्यौं विरोधको डढेलो सल्केको ? त्यसैले म फेरी पनि प्रश्न गर्छु मदन तिमि किन जान्नी पल्टेको ?’
कवितामा भनिए झैं मदन केही दिन यता जिल्ला सभागृह हल अपाङ्गतामैत्री नभएको भन्दै आवाज उठाईरहेका छन् । उक्त भवन अपाङ्गतामैत्री नबनाईए अपाङ्गता भएका व्यक्तिहरु गैंची, बेल्चा र कोदालो बोकेर आएर भवनको संरचना भत्काउने चेतावनी मदन लगायत अपाङ्गता भएका व्यक्तिहरुले दिएका छन् ।
२३ करोड ६२ लाख खर्चेर तनहुँको दमौलीमा निर्माण भएको ७५९ जनाको क्षमता भएको जिल्ला सभागृह अपाङ्गतामैत्री नभएको भन्दै केही दिन देखी पौडेलको अगुवाईमा विरोधका आवाजहरु उठ्न थालेका थिए । पौडेलको अगुवाईमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय अपाङ्ग महासंघ लगायतका सरोकारवाला संघ संस्थालाई सभागृह अपाङ्गतामैत्री नभएको बारेमा ध्यानाकर्षण समेत गराईएको थियो ।
गत साउन २१ गते राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायत जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका व्यक्तिहरुद्वारा जिल्ला सभागृह भवनको पहुँचयुक्तता परिक्षण गरिएको थियो । उक्त परिक्षणको क्रममा भवनको कुनै पनि संरचना मानवमैत्री नभएको पाइएको थियो ।
यसअघि साउन ७ गते अपाङ्गता अधिकारकर्मीहरुले सो सभागृह भवनको अवलोकन गरेका थिए । त्यसपश्चात सहृदयी मञ्च तनहुँले साउन १० गते सरोकारवाला निकायहरुमा ध्यानाकर्षणपत्र बुझाएका थिए । तर पनि उक्त भवन निर्माण गर्ने पक्षले भवनलाई अपाङ्गतामैत्री बनाउने तर्फ कुनै पहल र चासो देखाएको छैन ।
सार्वजानिक सभा सम्मेलन गर्ने हल र सिनेमा भवन अपाङ्गतामैत्री हुनु पर्ने कानुनमा स्पष्ट व्यवस्था गरिएको छ । कानुनमा सार्वजानिक सभा सम्मेलन हलभित्र ह्विल चेयर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहिन व्यक्ति लगायतका अपाङ्गता भएका व्यक्तिकालागि प्रवेशमा कुनै प्रकारको भौतिक अवरोध राख्न पाइनेछैन भन्ने लेखिएको छ । साथै सभा सम्मेलन हल भित्र कार्यक्रम सन्चालन लगायत विभिन्न क्रियाकलाप गर्न बनाईएको मन्चमा ह्विलचेयर जानसक्ने गरि ¥याम्पको व्यवस्था गरिएको हुनुपर्छ भन्ने उल्लेख छ । त्यस्तै गरि सभा सम्मेलन हलको दर्शक दिर्घामा कुल सिट संख्याको ५ प्रतिशत ह्विल चेयर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता लगायत अन्य हिडडुलमा कठिनाई हुने अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउनु पर्नेछ भनि कानुनमा उल्लेख गरिएको छ ।
तर दमौलीमा निर्माण गरिएको उक्त जिल्ला सभागृहमा यी कुनै पनि व्यवस्था गरिएको छैन । त्यसैकारण अपाङ्गता अधिकारकर्मीहरुले विरोध जनाउँदै आएका हुन् । उक्त भवन सिमित व्यक्तिहरुको लागि मात्रै बनेको रहेछ भन्ने महशुस भएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताए । ‘भवनको प्रवेशद्वार देखि नै ठाउँ ठाउँ मै काडेतार लगाएको महसुस भो हामीलाई’ पौडेलले भने ‘केही ठाउँमा बनेको ¥याम्प पनि कुनै गुणस्तरकै छैन, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा बनेको भवनमा समेत अपाङ्गता भएका व्यक्तिको लागि शौचालय समेत छैन ।’
मूल हलमा व्हिलचियर प्रयोग गर्ने व्यक्तिहरुको लागि दर्शक दिर्घामा बस्ने ठाँउ समेत नभएको पौडेलले बताए । ‘बालकोनीमा पुग्नु त परको कुरा, सानो हल त झन दुई तला माथि त्यसको पनि कुरै नगरौं ।’ पौडेलले गुनासो गरे । उक्त भवन अवलोकन गरिसकेपछि आफ्नो मनमा केही प्रश्नहरु उब्जिएको भन्दै पौडेलले सरकारलाई आफैले बनाएको ऐन कानुन, नियमावली, निर्देशिकाको बारेमा केही अत्तोपत्तो हुँदैन ? भन्ने प्रश्न गरेका छन् । आफै बनाउने सार्वजनिक स्थल सबैको लागि बन्न पर्छ भन्ने हेक्का सरकारलाई हुँदैन भन्दै पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्न स्थापना भएका संघ संस्थाहरुले सुरुवात देखि नै अवलोकन, समन्वय तथा दबाब गर्न पर्ने होइन ? भन्ने प्रश्न पनि गरेका छन् । पौडेलले यति ठूलो संरचनामा लिफ्ट जडान गर्नु पर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको यस भवनलाई पूर्ण मानवमैत्री बनाउन जिल्ला समन्वय समितिले तत्काल नै पहल गर्नु पर्ने पौडेलले बताए । यदि उक्त भवन पुर्ण अपाङ्गता मैत्री नबनाईए अवरोध भएको ठाउँ हेरी हेरीकन गैचीं, बेल्चा लगेर भत्काउन समेत समेत लिन पछाडी पर्न नहुने पौडेलले चेतावनी दिए ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि महासन्धि, अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धि ऐन तथा नियमावली र अन्य निर्देशिकाहरुले सार्वजानिक संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने स्पष्ट व्यवस्था गरेको भन्दै उक्त जिल्ला सभाहल पूर्ण मानवमैत्री भवन नबने सम्म उक्त भवनको उदघाटन हुन नदिने र सन्चालन हुन नदिन अभियान चलाउनु पर्ने पौडेलले बताए ।
विपी जयन्तीको दिन उद्घाटन गरिने
उक्त भवन विपी जयन्तीको अवसरमा आगामी भदौ २४ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवनको शिलान्यास पनि पुर्व सभामुखको हैसियतमा पौडेलले नै गरेका थिए । भवनको अगाडी नेपाली काँग्रेसका संस्थापक विपी कोईरालाको शालिक राखिने भएको छ । त्यसकोलागि गन्डकी प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेको छ ।
२०७४ माघ २८ गतेबाट निर्माण सुरु भएको उक्त भवन २०७७ असार १५ गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता थियो । तर कोभिड लगायतको विभिन्न कारण देखाउँदै भवन निर्माण कार्य लम्बिएको थियो । भवन अझैसम्म पनि जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको छैन ।
६ बर्ष लगाएर बनाईएको उक्त भवन कुनै पनि दृष्टिकोणमा अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले चासो दिनुलाई स्वभाविक मानिन्छ । ७ सय ५० जनाको क्षमता भएको उक्त सभागृह कुल २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । सरोकारवाला निकाय जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भवनको डिजाईन, निर्माण लगायतका सबै काम शहरी विकास भवन निर्माण डिभिजन विभागको भएको हुँदा यसमा आफुले केही गर्न नसक्ने बताएका छन् ।