प्रदिपराज अधिकारी
आज भोलि दमौलीमा केहि बिषय जबरजस्त रुपमा बहको बिषय बन्छ कि बन्दैन परीक्षण गर्न खोजिदै छ । ति बिषयहरु दमौलीमा बन्दै गरेको तनहूँ सभाहल, त्यसको नयाँ नाम जुराईएको कुरा र सँगै निर्माण गर्न लागिएको बिपिको शालिक, नगर पालिकाले निर्माण गर्न खोजेको बहुउद्धेसीय भवन तथा गणेशमान चोकनेर रहेको दमौलि ट्रेड सेण्टर । यीनै सवालमा आम बजारबासी मात्र हैन, जिल्ला भरका सचेत नागरिकहरुले विभिन्न माध्यम बाट आ—आफ्नो धारणा, मत, चासो र आक्रोश ब्यक्त गरेका छन् । तिनै बिषयबस्त प्रति आफ्ना धारण यस आलेखमा राख्न खोजेको छु ।
आज बन्दै गरेको सभाहल २०३५ सालमा निर्मित जिल्ला सभागृह तनहूँको नयाँ स्वरुप हो । नेपाल सरकार शहरी बिकाश मन्त्रालय अन्तरगत शहरी विकाश तथा भवन निर्माण डिभिजन विभाग संघीय आयोजना कार्यान्वयन ईकाई (गोरखा भवन डिभिजन कार्यालय) हाल पोखरा र तत्कालिन जिल्ला विकास समिति कार्यालयविच ठेक्का सम्झौता भएको सभाहल लगभग सन्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले लगभग २३ करोड ५० लाख भन्दा बढि रकम खर्चेर निर्माण भएको यो भवन अहिले चर्चाको विषय बनेको छ । चर्चा खासमा यसको नामाकरणको विषय हो । भवन आयोजनाले नबुझाउदै जिल्ला समन्वयन समितिले यसको न्वारान गरिदिएको र नाम वि पि स्मृति सभाहल राखेको कुरा चर्चामा छ ।
सामान्यतया सबैले वुझ्ने कुरा के हो भने सरकारले कुन नाममा बजेट विनियोजन गर्याे, सझौता के नाममा गरियो भबनको नाम त्यहि हुन्छ । पुरानो जिल्ला सभागृह मासेर त्यहि स्थानमा निर्माण भएको हलको निर्माणका लागि सरकारले जिल्ला सभागृह कै नाउँमा वजेट छुट्याएको र सोहि नाउँमा संझौता भएको कुरा घाम जस्तै छर्लङग नै छ । तसर्थ त्यसको नाम जिल्ला सभागृह तनहूँ नै हो र हुनुपर्छ । यसमा बिबाद छैन र विवाद गर्ने कथित प्रयास कोहि कसैले गर्नु हुदैन । बिपि कोईराला बहुआयामिक ब्यक्तित्व भएका अझ कांगे्रसको भाषामा जननायक हुन । प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । उनलाई विवादमा तान्ने काम कुनै पनि संघ सस्था वा पार्र्टी बिशेषले गर्न हुदैन र गर्न सुहाउने बिषय पनि हैन । विपि प्रति कसैको अनादर छैन । तर विवाद कै वीचमा उहाँकै नाममा कुनै भौतिक संरचनामा साईनबोर्ड झुन्ड्याउने, शालिक निर्माण गर्ने कुरा कांग्रेसजनका लागि पनि ईज्जत र प्रतिष्ठाको विषय बन्न सक्दैन । कांग्रसले विगतको कुरा स्मरण गर्नु मनासिव हुन्छ । एउटा क्रान्ति योद्धा, किसान आन्दोलनको आदर्श पुरुष व्यास क्षेत्रमा जन्मेका एकदेव आलेको शालिक बजार क्षेत्रमा राख्ने सवालमा हार्दिकता देखाउन सकेन । यहि कुराले पनि आम सहमति बन्ने कुरा एकादेशको कथा बन्न पुग्नेछ ।
दोस्रो नम्बरको विषय व्यास नगरपालिकाले निर्माण गर्ने भनिएको बहुृउद्देश्यिय प्रयोजनको भवन । नगरले आफ्नो कार्यालय प्रयोगका लागि भवन बनाउने कुरा ठूलो भएन । तर प्र्र्रश्न के हो भने पालिकाको लागि नयाँ बन्ने यो भवन कति आवश्यक हो ? बहस यहि केन्द्रित छ । अहिलेको देशको आर्थिक अवस्था समस्याग्रस्त छ । नगरलाई त्यसले प्रभाव नपार्ने कुरै रहेन । गत आ.व मा ब्यासले अनुमान गरे अनुसारको राजश्व उठाउन सकेन । यस वर्ष यो समस्या अझ बढ्ने संकेत छ । यस्तो अवस्थामा नगरले १० करोड भन्दा बढि आफुले संकलन गरेको राजश्व बन्ने नयाँ भवनमा खर्चनु पर्दछ । २८ करोड भन्दा बढि ऋण रकमको सावा ब्याज तिर्नु पर्नेछ भने मासिक झन्डै ३ लाखको हाराहरीमा उठाई रहेको भाडा आम्दानी नगरले गुमाउने छ । नगरलाई नगरवासीका शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने प्राथमिकता बाट पछि हटेर नगरवासीबाट उठाएको राजश्व जनताको आवस्यकता नै नभएको निर्माण कार्यमा लगानी गर्ने छुट हुदैन ।
एउटा भवन हुदाँहुदै फेरी उस्तै प्रकृतिको अर्को भवन बनाउनु पर्ने नगरको हठको पछाडीको राज के हो ? यो बुझि नसक्नुको बिषय बनेको छ । भवन बनाउन प्राविधिक तथा सामाजिक प्रावधान पुरा हुनु पर्नेमा नगरपालिका सचेत हुनु पर्ने हो । तर यस तर्फ नगरपालिका उदासिन बन्न खोज्दैछ । जिल्ला समन्वयको नाममा रहेको जमिन भवन निर्माण क्षेत्रमा पर्दछ । यो जमिनको स्वामित्व ब्यास नगरसगँ छैन । सार्वजनिक भवन निर्माण गर्दा जम्मा क्षेत्रफलको ५० प्रतिशत जमिन खुल्ला रहनु पर्दछ । यि दुबै प्रावधान पुरा हुने अवस्था नगरसगँ छैन र पनि यो प्रोजेक्ट किन अगाडी सारिएको छ ?
अहिले दमौली बजारको आर्थिक क्रियाकलाप खुम्चिएको छ । संघियताले सदरमुकाममा हुने काम पालिका तर्फ केन्द्रीत भएका छन । दमौली केन्द्रीत वस्ती पनि गाउँ केन्द्रित भएका छन् । परिणामत दमौलीका घरहरु खालि छन, शटरहरु खालि छन । यो विषम स्थिती बजारबासीले भोगिरहेको अवस्थामा नगरपलिका आफुमा ब्यापार केन्द्रीत गर्न खोजिरहेको छ । बरु नगरले भवन वनाउनु भन्दा अर्को विकल्प अगाडी सार्नु पर्दछ । यसका लागि बहुपक्षिय एवं सर्वदलिय छलफलको आयोजना गरी सही निकास निकाल्नु पर्दछ ।
ब्यास नगरपालिका र समन्वय समितिले सटर ब्यापारमा आफ्नो ध्यान केन्द्रित गरेका छन । दमौली बजारमा मानिसको आवागमनलाई कसरी बढाउन सकिन्छ ? शिक्षा स्वास्थ्यका नयाँ सम्भावनाहरु के हुन सक्दछन ? दमौली र आसपासमा भएका धार्मिक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक पर्यटनलाई कसरी एकिकृत बनाउन सकिन्छ ?रोजगारका सम्भावित अन्य क्षेत्र के हुन सक्दछन ? पालिका भित्र बेतिथिको चाङ छ । यसका वारेमा योजना बनाउने र कार्यान्वयन गर्ने तर्फ पालिका लाग्नु पर्दछ । वर्षौ देखि क्रोनिक समस्याको रुपमा रहेको फोहोर ब्यबस्थापनको समस्या ज्युँ का त्युँ छ । सवारी पार्किङ्गको ब्यवस्थित ब्यवस्थापन छैन । पालिकाले यतातिर ध्यान नदिई आफ्नो ध्यान किन अर्को तिर मोडेको छ ? कुरा विचारणीय छ ।
दमौली टे«ड सेण्टरको नाममा सन्चालित ब्यापारिक केन्द्रको स्थानमा पार्क बनाउने कुरा पनि जोडतोडले उठ्ने गर्दछ, बेला बेलामा । यसमा पनि केही ब्यापारिक घरनाको स्वार्थ गासिँन पुगकोछ । ब्यापारको केन्द्र बनेको सो ठाउँ हटाउदा आफु र आफ्नो वरपर ब्यापारिक चहल पहल बढ्ने, ब्यापारको केन्द्र अन्ततिर सर्ने मानसिकताबाट यो कुरा उठाउने गरिएको छ । राम्रो के हुन्छ भने हिजो जो सँग सम्झौता गरिएको थियो, ऊसँग सम्झौता तोडि समन्वय आफैले त्यसको ब्यवस्थापन गर्नु हुन्छ ।
अन्तमा समाजमा उठ्ने र उठाईने हरेक बिषयहरुका सकारात्मक नकारात्मक दुवै पक्ष मौजुदा रहन्छन् । तर नेतृत्वले आम नागरिकलाई समाज रुपान्तरणको पक्षमा एकिकृत रुपमा हिडाउन प्रयत्न गर्नु पर्दछ । दिर्घकालमा त्यसको परिणम सुखद हुने र स्मरण योग्य हुने कुरामा ध्यान केन्द्रित गर्न सक्नु नै सस्था संचालन गर्ने नेतृत्वको खुबि हो ।
(लेखक नेकपा एमाले जिल्ला कमिटि तनहुँका उपसचिव हुनुहुन्छ)