तनहुँमा डेंगु संक्रमण बढ्दो, दशैंको अवधिमा ३७४ नयाँ संक्रमित

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १०

तनहुँ जिल्लामा शनिबारसम्म ६३०१ जना डेंगु संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ५२७४ जना डेंगुका विरामी रहेका छन् ।

त्यसपछि शुक्लागन्डकी नपामा ३८९ जना, ऋषिङमा १७८ जना, भिमादमा १७४ जना, म्याग्देमा ९७ जना डेंगुका विरामी रहेका छन् । त्यस्तै भानु नगरपालिकामा ८० जना, आवुँखैरेनीमा ३९ जना, बन्दिपुरमा ४१ जना, देवघाटमा १४ जना र घिरिङमा ९ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमित मध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् ।

कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए । व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा १३८६ जना रहेका छन् । त्यसैगरि वडा नम्बर २ मा १३२८ जना संक्रमित भएका छन् । तनहुँमा हालसम्म डेंगुबाट ४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबै व्यास नगरपालिकाका रहेका छन् ।
दशैंको अवधिमा मात्रै तनहुँमा डेंगुका ३७४ जना विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक गरेको तथ्यांकमा कार्तिक २ गतेसम्म तनहुँमा ५९२७ जना डेंगुका विरामी थिए । दशैंको अवधिभर यो संख्या बढेर ६३०१ पुगेको हो ।

फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू