आबुँखैरेनी, कार्तिक ३०
नेपालीहरुको दोश्रो मुख्य चाड तिहार सकिएको छ । यसपटक तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूलको मालाले बजार लिएको छ । तनहुँ जिल्लाका केही स्थानीय तहले सयपत्री फूलको प्रबद्र्धनमा सहयोग गरेको कारण तनहुँको बजारमा स्थानीय उत्पादनले नै बजार पाएको छ । तर धेरै उत्पादन भएको कारण मुल्य भने विगतको भन्दा कम पाएको व्यवसायीहरुले बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादन भएको सयपत्री फूल पहिलो पटक मै कतार निर्यात गरियो । गाउँपालिकाको सहयोगमा आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा करिब २८ रोपनी क्षेत्रफलमा उत्पादन गरिएको सयपत्री फूल कतार निर्यात गरिएको हो ।
पहिलो पटक व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको र पहिलो पटकमै कतार निर्यात गर्न पाउँदा कृषकहरुलाई निकै प्रोत्साहन मिलेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘हाम्रो पहिलो प्रयासले नै राम्रो सफलता पाएका छौं’ उनले भने ‘यसपटक परीक्षणको लागि २६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सक्नु नै हाम्रो लागि ठुलो सफलता हो’ । पहिलो चरणमा ३०० माला सयपत्री फूल कतार पठाईएको अध्यक्ष चुमानले बताए ।
आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । आफुहरुले उत्पादन गरेको सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसी तथा भुजेल समाज कतारका अध्यक्ष बिकाश भुजेलको समन्वयमा को समन्वयमा पहिलो चरणमा तीन सय थान सयपत्रीको माला कतार पु¥याईएको हो । पहिलो चरणमा प्रतिमाला एक सय ५० रुपैयाँका दरले कतार पठाइएको थियो । आँबुखैरेनीमा उत्पादित फूल कतारको दोहा स्थित रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले बिक्री गरेको थियो ।
अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूल विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ । आबुँखैरेनी गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडी बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।
गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि प्रत्येक शुक्रबार आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रम मार्फत् फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको थियो ।