दमौली, पुस १
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेले हिउँद याममा हुने उर्जा संकटको समाधान र देशको समग्र उर्जा सुरक्षाकोलागि तनहुँ जलविद्युत आयोजना महत्वपुर्ण रहेको बताएका छन् । आइतबार निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको निरिक्षणपछि बोल्दै सांसद वाग्लेले तनहुँ जलविद्युत आयोजना कुलेखानी आयोजना पछि बनेको पहिलो जलाशययुक्त आयोजना भएको हुँदा यसको निर्माण पश्चात विद्यमान उर्जा संकटलाई केही हदसम्म भएपनि समाधान गर्ने बताए ।
कुलेखानी जलविद्युत आयोजना बनेको ४० बर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत आयोजना बनेको भन्दै सांसद वाग्लेले यस आयोजना उर्जा सुरक्षाको दृष्टिकोणबाट यो आयोजना महत्वपुर्ण हुने बताए । जलविद्युत आयोजनाको निर्माणको क्रममा स्थानीय जनसरोकारवालाहरुलाई पनि विश्वासमा लिएर काम गर्ने उनको भनाई छ । तनहुँ जिल्लाका दक्षिणी भेगको ग्रामिण विद्युतीकरणमा पनि यसले योगदान दिएको पनि सांसद वाग्लेले बताए ।
बर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत उत्पादन पनि घट्दे जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनु पर्ने उनले बताए । बुढीगन्डकी र नलसिंङगाड विद्युत आयोजना जलाशय युक्त हुने हुँदा त्यसको पनि चाँडै निर्माण गर्नु पर्ने उनको भनाई थियो । विद्युत आयोजना निर्माणको लागि वन क्षेत्र, मुआब्जा र विस्फोटक पदार्थको आयातमा मुख्य समस्या हुने हुँदा यि तिनवटै समस्या समाधानकोलागि नीतिगत रुपमा नै सम्बोधन हुनु पर्ने सांसद वाग्लेको भनाई छ ।
तिनवटामा प्याकेजमा निर्माण भईरहेको तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भी कोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनाको बाँध निर्माणकोलागि नदी डाईभर्सन कार्य सम्पन्न भई बाँध निर्माण कार्य सुरु भईसकेको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज २ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता वमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइन लगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशत भन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।
प्याकेज ३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतसँग मिति १० पुस २०७५ मा भएको खरिद सम्झौता १० फागुन २०७५ मा कार्यान्वयनमा आएको थियो । ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरुको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।
यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका ४ र बन्दीपुर गाउँपालिका ६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।