ध्रुवराज पौडेल
उपसचिव, नेपाल सरकार
पृष्ठभूमिः
विश्वका सबै देश धनी र शक्तिशाली बन्न चाहन्छन् तर यस्तो अवसर सबैलाई उपलब्ध हुँदैन । सम्पन्न बन्नका लागि एउटा कुरा त प्रकृतिले साथ दिनुपर्दछ, त्यो भन्दा महत्वपूर्ण कुरा देशको वागडोर सम्हाल्ने नेतृत्वमा भिजन, इच्छा शक्ति, इमान्दारिपूर्ण प्रयास र सोको निरन्तरता जरुरी छ । वर्तमान विश्व परिदृश्यमा हेर्दा संयुक्त राज्य अमेरिका सबैभन्दा शक्तिशाली, विकशित, सम्पन्न र सभ्य देशको रुपमा परिचित छ । कतिपयले यसलाई सपनाको संसारको रुपमा पनिलिएको पाइन्छ । आखिर अमेरिका यति विकशित कसरी भयो होला त ? अरु देशहरु किन यस्तो बन्न सकेनन् ? यो खुल्दुली मेटाउनका लागि मैले गरेको अध्ययन, अनुसन्धान र अमेरिकामा आई गरेको प्रत्यक्ष अनुभूति र अन्य विभिन्न माध्यमबाट प्राप्त तथ्याङ्कलाई समेत राखेर एउटा सानो अनुभव शेयर गर्न गैरहेको छु । यसको अध्ययन र विष्लेषणबाट हामीजस्ता अल्पविकसित मुलुकहरूले पाठ सिक्न पनि सकिन्छ । यसमा प्रयुक्त कतिपय तथ्याङ्क तथा विवरणहरु हुबहु तादात्म्य नहुन पनि सक्छन् तथापि यसको माध्यमबाट एउटा सकारात्मक र अनुकरणीय अभ्यासलाई अरूका लागि सन्दर्भ सामग्रीको रूपमा आत्मसात गर्न सकियोस् भन्ने ध्येय यस लेखको रहेको छ । संयुक्त राज्य अमेरिका आजको विकशित अवस्थामा आइपुग्नुका कारणहरु तथा यसका अनुकूलताहरु यसप्रकार रहेका छन् ।
१) अमेरिकालाई प्रकृतिले साथ दिएको छ । उर्वर भूमि, बसोवासयुक्त जमिन, पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागर तथा मध्य अमेरिकामा बनाइएको मानव निर्मित पनामा नहर (जल संयोजक) का कारणले पारवहनका हिसाबले अत्यन्त अनुकुल अवस्था छ । यसका कारण संसार भरी सहज रुपमा आवागमन गर्न सजिलो छ ।
२) यहाँको उत्कृष्ट शिक्षा नीति, गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति जुन देशमा मात्र हैन विश्व बजारमा राम्रोसँग विक्न सक्छ । विश्वभरीबाट अत्यन्त जेहेन्दार एवं क्रिम विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अमेरिका ल्याई मास्टर डिग्री तथा विधावारिधि गराउँछ र उनीहरुलाई काम दिन्छ, अमेरिकी नागरिकता दिन्छ, सबै सेवा सुविधा उपलब्ध गराउँछ, यो सभ्य र विकशित समाजको जीवनशैलीमा घुलमिल गराउँछ र स्वभाविक रुपमा उसले देशकै लागि उच्च स्तरको जनशक्ति भएर काम गर्छ । यहाँबाट यन्यत्र बौद्धिक पलायन हुने संभावना छैन ।
३) बसोबासयोग्य जमिन पर्याप्त भएको हुनाले वर्षेनी हजारौं व्यक्तिलाई इडिभिको माध्यमबाट आयात गर्दछ जुन सक्रिय जनसंख्या हो । यसबाट पर्याप्त जनशक्तिको आपूर्ति हुनसक्छ । लाग्छ, अमेरिकामा विश्वको आधा जनसंख्यालाई राम्रोसँग बसोवास गराउन सकिन्छ । सक्रिय जनसंख्या विकास र समृद्धिको अनुकुल अवस्था हो । यस देशले जनसाख्यिंक लाभ लिन सकेको छ ।
४) अमेरिकामा विश्वभरका बैज्ञानिकहरु मध्ये अधिकाँशको बसोवास रहेको छ । यसले विश्वका उच्च तहको विशेषज्ञ जनशक्तिलाई आकर्षण गरी सबै सेवा सुविधा र नागरिकता दिई आफ्नै देशमै व्यवस्थापन गरेको छ ।
५) संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका राष्ट्र संघीय एजेन्सीहरु अमेरिकाको अनुकुलतामा काम गर्दछन् । ती निकायहरूमा लगानी, नेतृत्व र भिटो पावरवाला देश भएको कारणले यसलाई अनुकुलता छ ।
६) दक्ष जनशक्ति, कच्चा पदार्थ, आधुनिक प्रविधि र श्रमिक वर्ग सबै उपलब्ध भइसकेपछि स्वाभाविक रुपमा उच्च तहको र वृहत उत्पादन संभव हुन्छ ।
७) अमेरिकामा ९६.२ प्रतिशत जनताले रोजगार पाएका छन् । सबैजना आफ्नो काममा व्यस्त छन्, आफ्नै डेली सेड्युल छ, फाल्तु गफ गरेर बस्ने, अरुको कुरा काट्ने वा अरुको खुट्टा तान्ने, तानाबाना बुन्ने समय कसैलाई पनि छैन । सबैले समयको महत्व बुझेका छन् ।
८) यहाँ श्रम प्रति सम्मान गर्ने संस्कृतिको विकास भएको छ । काम भनेको सानो ठूलो हुँदैन, सबैले काम गर्नैपर्छ, काम वा कर्म भनेको पुजा हो भन्ने संस्कारको विकास भएको छ । समयको महत्व बुझेर होला अमेरिकामा साप्ताहिक सार्वजनिक बिदा बाहेक अन्य बिदा ७ देखि १० दिन मात्र हुने रहेछ ।
९) यहाँ सरकार प्रति जनताको विश्वास र भरोसा छ । जनताका लागि राज्यले धेरै अवसरहरु सिर्जना गरेको छ । काम गर्छन्, कमाउँछन्, तोकिएको कर तिर्छन्, यसमा कुनै प्रकारको छलछाम गर्ने गुञ्जाइस नै हुँदैन । कर लिने मात्र होइन राज्यले जनतालाई पनि त्यतिकै मात्रामा सुविधा उपलब्ध गराएको छ । सरकारलाई जनताले अभिभावक मान्छन् । कानून कार्यान्वयनमा कुनै विभेद छैन । सबैकुरा सिष्टममा चलेको छ । कसैको सोर्सफोर्सले कुनै काम हुँदैन ।
१०) सरकारले जनतालाई दिने सेवामा अत्याधुनिक प्रविधिको प्रयोग भएको छ । अधिकांश सेवाहरु अनलाइन र स्वचालित प्रकृतिको हुन्छ । यसका लागि जनतालाई सास्ती पनि हुँदैन र धेरै जनशक्ति पनि चाहिँदैन ।
११) सपनाको संसारको रुपमा लिने हुनाले संसार भरिबाट यहाँ आउने पर्यटकहरुको संख्या करोडौं हुने गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो टेवा पुग्दछ ।
१२) कुनै व्यक्तिले कुनै व्यवसाय गर्न चाह्यो वा सोको स्तरवृद्धि वा विस्तार गर्न चाह्यो वा घर किन्न वा गाडी किन्न वा पढ्न वा व्यवसायिक तालिम लिन चाह्यो वा जुनसुकै काम गर्न चाह्यो भने बैंक तथा वित्तीय संस्थाहरुले विना धितो यथेष्ट ऋण उपलब्ध गराउँछन् । यसका लागि व्यक्तिको आर्थिक प्रोफाइल राम्रो हुनुपर्यो । ऋण तिर्न सक्ने किसिमको आम्दानी र उसले वितगमा लिएका कर्जाको इमान्दारिपूर्ण ढंगले भुक्तानि गरेको हुनुपर्यो ।
१३) जव सरकारले अभिभावकीय भूमिका निर्वाह गर्छ, जनता खुशी छन्, पर्याप्त कर संकलन हुन्छ, नागरिकले समयको महत्व बुझेका छन्, सबै नागरिक रोजगारमा छन् भने विकासको गति स्वाभाविक रुपमा अघि बढ्ने नै भयो ।
१४) देशमा नै खनिज, प्राकृतिक तेल, विद्युत तथा आणविक उर्जाका कारण इन्धनको भण्डार छ जसका कारण दैनिकी मात्र होइन कुनै पनि यन्त्र उपकरण तथा कलकारखानाका लागि आवश्यक इन्धनको आपूर्तिमा समस्या छैन ।
१५) उर्वर भूमि, अनुकूल हावापानी र आधुनिक प्रविधिको प्रयोगले जम्मा १६.८ प्रतिशत जमिन कृषियोग्य भएको अमेरिकामा जम्मा २ प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन् तथापि अमेरिकाले मकै, सोयाविन, जौ, ओटस्, कपास लगायतका कृषि उपजहरु विदेश निर्यात गरिरहेको छ । कृषिमा आधुनिक कृषि उपकरण, प्रविधि र मेशिनरीको प्रयोग भएको छ जसबाट उत्पादन लागत कम हुन्छ र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ ।
१६) हाल अमेरिकाले बोइङ लगायत अत्याधुनिक हवाइजहाज, फाइटर, जेट, अत्याधुनिक हतियार, राइफल, गोलिगठ्ठा, ट्याङ्क, मिसाइल, वारहेड, वारशिप आदि उत्पादन गरी विश्वलाई ठूलो मात्रामा विक्री गर्दछ । यसबाट अथाह आम्दानी गर्दछ । पुँजी वृद्धि भएपछि लगानी बढ्छ, लगानी बढेपछि रोजगारी सिर्जना हुन्छ, रोजगारी वृद्धि भएपछि उत्पादकत्व बढ्छ, जनताको क्रयशक्ति बढ्छ, बचत वृद्धि हुन्छ, बचत बढेपछि देश र जनता समृद्धिको मार्गमा अघि बढ्छन् ।
१७) विश्व व्यापार संगठनको सदस्य भएको नाताले यहाँ विश्वभरबाट हरेक सामान आउने जाने भैरहन्छ । अमेरिका आउने सामग्री अत्यन्त गुणस्तरीय हुँदोरहेछ । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने वा मिसावटयुक्त खाद्य पदार्थ आयात हुँदैन । यसो हुँदा मानिस पनि स्वस्थ नै हुनेभए । स्वस्थ नागरिक पनि राज्यको सक्रिय पुँजी हो ।
१८) अमेरिकामा बन्ने कुनैपनि सार्वजनिक संरचना वा पूर्वाधारहरु अत्यन्त गुणस्तरीय, टिकाउ र मानवमैत्री हुँदो रहेछ । सडक, रेलवे, सुरुङ् मार्ग, जलविद्युत, भवन, कारखाना, विमानस्थल वा जुनसुकै भौतिक संरचना राम्रो भएपछि यसले विकासका लागि प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने नै भयो ।
१९) राजनैतिक स्थायित्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरुमा निरन्तरताले गर्दा अमेरिकामा सरकार परिवर्तनको खासै असर नपर्ने रहेछ । यहाँको दुईदलीय व्यवस्था रहेको मुलुक (डेमोक्रेटिक र रिपब्लिकन पार्टी) हुनाले दलहरु बीचमा त्यस्तो भाँडभैलो र किचलो पनि देख्नु नपर्ने रहेछ । जुन दलको सरकार भएपनि देशको अर्थनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा, आणविक कार्यक्रम तथा अन्तरिक्ष विज्ञान जस्ता महत्वपूर्ण विषयहरुमा राष्ट्रको नीतिमा स्थायित्व छ । देशको हितमा शुरु भएका आयोजनाहरुको पूर्णताका लागि सरकार परिवर्तनसँग कुनै सरोकार रहँदैन ।
२०) देशको सबल अर्थतन्त्र, पारदर्शिता, सुशासन, आधुनिक प्रविधिको उच्चतम् प्रयोग, सरकारको जवाफदेहिता र राजनैतिक स्थिरता जस्ता गुणहरुका कारणले देश विकासको गति पनि उच्च भएको पाइयो ।
अतः अमेरिकाबाट हामीजस्ता अल्प विकासित मुलुकहरुले सिक्नुपर्ने कुराहरु धेरै छन् । माथिका २० वटा बुँदाहरु मध्ये कतिपय प्राकृतिक कुराहरु हामीसँग मेल नखालान्, कतिपय भौगोलिक र प्राकृतिक सम्पदाका हिसाबले फरक पनि पर्लान् तथापि हामीले गर्न सक्ने कुराहरु धेरै छन् । देशमा राजनैतिक स्थायित्व हुनुपर्ने रहेछ । देश चलाउने व्यक्तिमा दुरदर्शिता हुनैपर्ने रहेछ । विषय विज्ञलाई सम्बन्धित क्षेत्रको नेतृत्व दिनुपर्ने रहेछ । सरकारले आफ्ना जनतालाई विश्वासमा लिन सक्नुपर्ने रहेछ । सुशासन विकासको पूर्वशर्त रहेछ । देशको आन्तरिक व्यवस्थापन, पूर्ण रोजगारी र जनतासँगको सम्बन्ध सुमधुर भएपछि स्वाभाविक रुपमा पुँजी निर्माण हुने रहेछ । देश विकासका लागि मानवीय स्रोत (दक्ष जनशक्ति) अत्यन्तमहत्वपूर्ण रहेछ । त्यसकारण राज्यले शिक्षामा पर्याप्त लगानी गर्नुपर्ने रहेछ । हरेक राष्ट्रले आफ्नो विकासको संभावना र अनुकूलता आँफै देख्नुपर्ने रहेछ । आधुनिक प्रविधिलाई मानव पुँजीमा बदल्नुपर्ने रहेछ । जनतालाई विश्वासमा लिनका लागि देशमा सिष्टमको विकास गर्नुपर्ने रहेछ जसले सबै नागरिकलाई समान देखोस्, तेरो मेरो नभनोस्, कानून कार्यान्वयनमा विभेद नगरोस् र जनतालाई राज्यले दिने डेलिभरी सेवाग्राही मैत्री होस् । देश विकासका लागि कानून कडा हुनुपर्ने र यसको पालना गर्न र गराउन सक्षम सरकार चाँहिदोरहेछ । कुनैपनि देशको युवा पलायन भएर देश बन्दोरहेनछ । यसका लागि राज्यले आफ्नो सक्रिय जनसंख्यालाई स्वदेशमै राखी उनीहरुलाई स्वरोजगार गराएर मात्र उत्पादन बढाउन सक्दो रहेछ । आफ्नो उर्जावान् जनशक्ति विदेश पठाएर कुनैपनि देशले समृद्धि हासिल गर्न सक्दो रहेनछ भन्ने कुरा समृद्ध मुलुकहरूको अभ्यासबाट पुष्टि हुन्छ ।
हाम्रो देश नेपालमा विकासका पर्याप्त संभावनाहरु रहेका छन् । नेपालको प्राकृतिक सम्पदाहरु अनुपम प्रकृतिका छन् ।नेपालका अथाह नदीनालाहरुले जलविद्युत, सिंचाइ र खानेपानीको संभावनालाई उजागर गरिदिएको छ । दैलेखमा पेट्रोल खानी, नवलपरासीमा फलाम खानी, गणेश हिमालमा पेट्रोल र तामा खानी लगायत देश भरी विभिन्न प्रकारका खनिज तथा पेट्रोलियम पदार्थको संभावना रहेको छ । यसको व्यवस्थित ढंगले उत्खनन् गर्न सके यसमा हामी आत्मनिर्भर हुन सक्ने सम्भावना छ । नेपालका मनोरम प्राकृतिक सौन्दर्य हाम्रो पर्यटनका लागि बरदानको रुपमा रहेका छन् । विविधतायुक्त हावापानी, उर्बर माटो र सिंचाइको पर्याप्त संभावनाका कारण यो पनि अर्को बरदान हो । नेपालको जनसाँख्यिक हिसाबले हेर्दा अहिले नेपालमा १६–४० वर्ष उमेर समूहका युवाको जनसंख्या करीब ४२ प्रतिशत रहेको छ । यो नेपालको लागि जनसाँख्यिक लाभको समय हो । युवाको जनसंख्या बढी हुनु भनेको विकास र समृद्धिका लागि अत्यन्त अनुकूल अवस्था हो । नेपालको उत्तर र दक्षिण तिरका विशाल छिमेकी राष्ट्रहरु चीन र भारत विश्वमा उदयीमान शक्तिको रुपमा अगाडि बढेका छन् । यो पनि हाम्रा लागि व्यापार, पर्यटन र बजारको हिसाबले अत्यन्त अनुकुल अवस्था हो । नेपाललाई शिक्षा र स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गराउन सक्ने पर्याप्त संभावना देखिएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा नेपाली युवाहरुलाई स्वदेशमा नै संभावना र अवसरहरु छन्, आफ्नै माटो खनीखोस्री गरिएमा यहिँ सुन फल्न सक्छ भन्ने विश्वास जगाउन सक्नु नै विकास र समृद्धिको पूर्वशर्त हो । व्यवसायिक र आधुनिक कृषि प्रणालीमा युवाहरुलाई इन्गेज गराउनका लागि कृषिमा सहुलियत (विउविजन, मेशिनरी, विद्युत छुट कृषि बिमा र उत्पादित बस्तुको बजारको सुनिश्चितता) दिन सकिएमा पक्कै पनि यो क्षेत्र उन्नत भएर अघि बढ्छ भन्नेमा शंका छैन । उनीहरुले गरेको उत्पादनको बजारको सुनिश्चितता मात्र गरिदिने हो भने विदेश गएका युवाहरु अधिकांश नेपाल फर्केर कृषि पेशा अंगाल्ने अवस्था रहेको छ । कृषिमा सहुलियत, सहज कर्जा प्रवाह र बजारको सुनिश्चितता हुने वित्तिकै हाल पहाडी क्षेत्र लगायत देशका विभिन्न ग्रामीण क्षेत्रमा बाँझो रहेका जमिनहरु क्रमशः हराभरा र उर्वर बन्न थाल्नेछन् । देश विकासको लागि प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन गरी सबै नागरिकलाई रोजगार दिनु अति आवश्यक छ । कुनै युवाले जुनसुकै पेशा वा व्यवसाय सञ्चालन गर्नका लागि कर्जा माग गरेमा उनीहरुलाई विना धितो शुरुवाती पुँजी उपलब्ध गराइयो भने धेरै युवाहरु स्वरोजगार हुन सक्छन् । आजका युवाहरुमा विषयवस्तुको ज्ञान पर्याप्त छ, उनीहरुमा इच्छाशक्ति पनि छ, आधुनिक प्रविधिको प्रयोग गर्ने दखलता पनि छ तर शुरुवाती पुँजीका लागि कर्जा प्राप्तिमा समस्या (झण्झटिलो प्रक्रिया र धितो आवश्यक) छ भन्ने युवाको गुनासो रहेको छ । अतः नेपाल सरकारले यस प्रकारको गुनासोको सम्बोधन गरी सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सहज कर्जा प्रवाहका लागि अनुकूल वातावरण निर्माण र आँफू जमानी बसेर भएपनि कर्जा निकासामा वाध्यकारी व्यवस्था लागु गरिदिनु जरुरी छ । युवा पलायनलाई नरोकेसम्म अर्थात् देशको सक्रिय जनशक्तिलाई विदेश पठाएर विकास र समृद्धि संभव छैन । यसलाई गम्भीर ढंगले सम्बोधन गरी अघि बढ्नु जरुरी छ ।यसरीमाथि उल्लेख गरिएका नेपालको विकासका संभावनाहरुलाई यथार्थतामा परिणत गर्नका लागि सरकारको नीतिगत मार्गदर्शन, भिजनरी नेतृत्व विकास, स्रोत परिचालन गर्ने उपयुक्त रणनीति, कार्यान्वयन गर्ने शाहस, प्रतिबद्धता, इमानदार प्रयासर योजना र कार्यक्रमको निरन्तरता भएमा हामी पनि समृद्धिको मार्गमा अघि बढ्न सक्छौं भन्ने लेखकको ठम्म्याइ रहेको छ । धन्यवाद ।