किरणराज पौडेल
देवघाटधाम पवित्र तिर्थस्थलको रुपमा प्रख्यात छ । देवघाटलाई हरिहर क्षेत्र पनि भनिन्छ । देवघाटको महत्वको बारेमा पुराणहरुमा पृष्ठ भरिएका छन् । अझ शालग्रामका शिलाहरुलाई स्पर्श गर्दै बग्ने कालिगन्डकी र त्रिशुली नदीको संगममा रहनुले पनि देवघाटको महत्व चुलिएको हो ।
स्मरणीय कुरा के छ भने देवघाट कालिगन्डकी र त्रिशुली सप्तगन्डकीको संगम पनि मानिन्छ । किनभने सातवटा गन्डकीहरुको समायोजन भएकोले यसलाई सप्तगन्डकी भनिएको हो । ति सातवटा गन्डकीहरुमा धर्मधारा, त्रिशुली, यशोधारा, बुढिगन्डकी, विश्वधारा (दरौंदी), सितप्रभा (मस्र्याङदी÷कामदा), रत्नधारा (मादी), सुवर्णमा (सेती) र कृष्णामा (कालिनदी) रहेका छन् ।
गन्डकी महात्म्यमा देवघाटको राम्रो बर्णन पाइन्छ । देवघाटका बारेमा रामायण, माहाभारत र पुराणका पृष्ठहरुले बेस्सरी चर्चा र विवेचना गरेका छन् । माघे संक्रान्तिमा देवघाटमा गरिने स्नानहरुको त अझ अत्याधिक महिमा पाइन्छ । त्यसैले देवघाटमा बसेर नित्य स्नानको त आफ्नै महत्व छ., अझै माघेसंक्रान्तिको दिन गरिने स्नानको त बयान नै गर्न सकिँदैन ।
उक्त दिन देवघाटमा ठुलो मेला लाग्छ । भक्तजनहरुको आगमनलाई विशेष ख्याल गरि शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिन्छ । त्यो दिन सामाजिक अभियन्ताहरु विशेषरुपले खट्छन् । साधु सन्तहरुले कालिगन्डकीको पवित्र गंगामा स्नानगर्दै पुराणहरु लगाउँछन् । धार्मिक प्रवचनहरु दिन्छन् । उक्त दिन नेपाल भित्रबाट मात्र भक्तजनहरुको आगमन हुँदैन, भारतका असंख्य भक्तजनहरु पनि ओईरिन्छन् ।
देवघाट क्षेत्र विकास समितिले यस क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका निम्ती धेरै पहिलेदेखी नै काम गर्दै आएको छ । देवघाटधामलाई अझै आकर्षक र राम्रो धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत अगाडी बढाउने प्रयास भईरहेका छन् ।
आँपटारीबाट देवघाट क्षेत्र प्रवेश गर्नासाथ धार्मिक क्रियाकलाप भईरहने गौपालन क्षेत्रको रुपमा सुपरिचित बागिश्वरी निकट पुग्नासाथ नारयणीको प्रवाहले एक प्रकारले मन आनन्दित र प्रफुल्लित हुन्छ । मनमा शान्तिको प्रवाह हुन थाल्छ ।
यहाँका धेरै मठमन्दिर, गुरुकुल, विद्यालय, बृद्धाश्रमहरु, योगाश्रमहरु आदिले पनि देवघाटधामको आकर्षण बढाएको छ । देवघाटधाम धार्मिक दृष्टिकोणले मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि यसको आकर्षण र प्रभाव दिनोत्त्तर बढ्दै गईरहेको छ । तनहुँ र चितवनको सिमानामा पर्ने भएकोले यातयातको जति सुगमता हुनुपर्ने हो, त्यो हुन सकेको छैन । पुलको निर्माण हुन सकेको छैन । गंगाको तट वरिपरि सिँढीहरु निर्माण हुन सकेको छैन । यस क्षेत्रको विकासको निम्ती सम्बन्धित क्षेत्रबाट अझ धेरै काम हुनुपर्ने देखिन्छ । सबैतिरबाट सहयोग र सद्भाव भएमा देवघाटधाम धार्मिक नगरीसँगै पर्यटकीय नगरी बन्नेमा कुनै शंका छैन ।
जयतु संस्कृतम् ।