देवघाट, पुस १५
माघे सक्रान्तिको अवसरमा देवघाटमा स्नान गर्न तथा मेला भर्न लाखौं भक्तजन उपस्थित हुन्छन् । लाखौं भक्तजन भेला हुनेभएपछि देवघाट प्रवेश गर्ने सडक तथा पुलहरुको बारेमा सँधै चर्चा हुने गर्छ । हाल देवघाट प्रवेशको लागि तिन वटा पुलहरु सन्चालनमा छन् । देवघाट जोड्ने सबैभन्दा मुख्य नाकाको रुपमा लिईने त्रिशुलीको झोलुङ्गे पुल जिर्ण भईसकेको हुँदा उक्त पुलले मात्र मेलाका भक्तजनको चाप थेग्न नसक्ने सरोकारवालाहरुले बताएका छन् ।
त्यसबाहेक दासढुङ्गाको मोटरेवल पुलबाट पनि हजारौं भक्तजन देवघाट आवत जावत गर्छन् । अर्काे गैंडाकोटबाट प्रवेश गर्ने हर्दीको मोटरेबल पुल पनि हालै सन्चालनमा आएको छ । तर दासढुङ्गा र हर्दीको पुललाई भक्तजनले खासै प्रयोगमा ल्याउँदैनन् । नारयणगढलाई देवघाटसँग जोड्ने सबैभन्दा नजिकैको मोटरेवलपुलको रुपमा रहेको ठिमुराको पुललाई लिइन्छ । तर ठिमुराको पुल सन्चालनमा नआउँदा माघे संक्रान्तिमा उक्त पुल हुँदै देवघाट आवतजावत गर्ने भक्तजनको आशा यसपटक पनि पुरा हुन गाह्रो छ ।
चितवनको भरतपुर महानगरपालिका–१ को ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदीको मोटरेवल पुल निर्माणको लामो समय भईसक्दा समेत अझै सम्पन्न भएको छैन । ठेकेदारको लापरवाहीको कारणले पटक–पटक क्षतिग्रस्त भएको पुल अहिले निर्माणको अन्तिम चरणमा आएर पुनः रोकिएको छ ।
८.५ मिटर चौडाइ र २२० मिटर लामो उक्त पुल हाल ढलान भईसकेर पनि पहुँच मार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ । एक दशक अघिदेखी निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा राज्यको करोडौं रकम अलपत्र रहेको छ । साथै क्षेत्रका नागरिकहरु पनि पुल उपभोग गर्नबाट बन्चित भएका छन् । पुलको पहुँच मार्ग तयार नगर्दा पैदल हिडडुल गर्न बाहेक मोटरसाईल र साईकल आवत जावत गर्न पनि कठिनाई भएको छ । त्यसबाहेक पुलको साइडबार पनि लगाउन र अन्य धेरै काम पनि बाँकी रहेको छ ।
गत शुक्रबार देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको माघे संक्रान्ति मेलाको तयारी सम्बन्धी बैठकमा सरोकारवालाका प्रमुखहरुले माघे संक्रान्ति अघि नै ठिमुराको पुल सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए । तर ठेकेदारले पुल निर्माणको रकम भुक्तानी नपाएको कारण पुल निर्माण सम्पन्न भईसकेपनि पुलमा यातयात सन्चालन गर्न रोक लगाएको बुझिएको छ । उक्त बैठकमा सहभागी भएका तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीहरुले ठिमुराको पुल माघे सक्रान्ति अघि नै सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पनि ठिमुराको पुल माघे सक्रान्ति अघि नै सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टंकनाथ पौडेलले उक्त पुल निर्माण कार्यलाई तत्कालै सन्चालनकोलागि पहल गरिएपनि निर्माणपक्षको लापरवाहीले खासै सकारात्मक नभएको बताए । उक्त पुलको भरतपुर तर्फको भागमा ठुलो खाल्डो रहेको हुँदा कुनै पनि समयमा दुर्घटना हुन सक्ने, मान्छे हिड्दा तल खस्न सक्ने जोखिम रहेको भएपनि उक्त खाल्डो पुरेर सहज बनाएर यातयात सन्चालनकोलागि सहयोग गर्न निर्माण कम्पनीलाई अनुरोध गरिएको बताए । उक्त पुललाई आगामी माघे संक्रान्तिमा उद्घाटन गर्ने आफुहरुको योजना रहेको भन्दै पौडेलले त्यस अघि नै पुलमा यातयात सन्चालन गर्ने गरि आफुहरुले चासो दिईएको बताए । तर माघे संक्रान्तिमा पुल सन्चालनमा आउन कठिनाई रहेको छ ।
उक्त ठिमुराको पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणीले संयुक्त रूपमा लिएका थिए । सम्झौता अनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपर्नेमा पटक पटक म्याद थपेर पछिल्लो पटक काम सक्नुपर्ने समयसीमा २०७८ असार १२ सम्म तोकिएको थियो । तर अन्तिम पटक थपिएको अवधिको दुई वर्ष पुरा भईसक्दा पनि उक्त पुल अझै तयार भएको छैन । पुल सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा अहिले बढेर २१ करोड ६८ लाख पुगेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहन्छ ।
ठेकेदारको लापरवाहीको कारण उक्त पुल निर्माणको क्रममा दुई पटक भत्किएको थियो । पुल भत्कँदा ३ जना मजदुरको मृत्यु भएको थियो । पहिलो पटक २०७७ चैत २४ गते विहान पुल भत्किएको थियो । सो क्रममा कुनै मानवीय क्षती भने भएन । दोश्रो पटक २०७८ बैशाख १२ गते पुल भत्कँदा ३ जना मजदुरको नदीमा डुबेर मत्यु भएको थियो । मजदुरले काम गरिरहँदा एक्कासी पुल भत्किएको थियो, सो क्रममा मजदुरहरु नदीमा खसेका थिए ।