नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । साना–ठूला सैकडौं नदीका साथ मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी, कृष्णागण्डकी र गोसाइँकुण्डबाट आएकी त्रिशुली नदीको संगम भई मनोरम प्राकृतिक दृश्य बनेको यस क्षेत्रलाई पुराणहरुमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ वा चक्रतीर्थ आदि नामले चिनिन्छ । समुन्द्री सतहदेखि २०० देखि ५७५ मिटरसम्मको उचाइमा रहेको समशीतोष्ण हावापानी भएको यस क्षेत्रलाई सृष्टिको बिहानीदेखि देवताहरुले र हिन्दू संस्कृतिका संवाहक मुनि महर्षिहरुले आफ्नो कर्म र साधनाको भूमिको रुपमा उपयोग गरिआएको प्रसङ्ग पुराणहरुमा पाइन्छ ।
वर्तमानमा पनि यहाँ धेरै सन्त, महात्मा तथा साधकहरुले साधनामय जीवन विताइरहेका छन् भने सैकडौं गुफा, मठ, मन्दिर, साधनाकुटी, आश्रम तथा शिक्षालयहरुले यहाँको गौरव बढाइरहेका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्व पुराणहरुमा देवघाटधामलाई सबै तीर्थहरुमा श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने तीर्थको रुपमा वर्णन गरिएको छ । वराहपुराण, स्कन्दपुराण, भागवत् आदिमा यस तीर्थको ठूलो महत्त्व उल्लेख भएको पाइन्छ भने वराहपुराणको भनाई अनुसार यहाँ देवताहरु अटन (भ्रमण) गर्ने भएकोले यस क्षेत्रलाई देवाट वा देवघाट भन्ने नामाकरण भएको पाइन्छ । यस तीर्थमा स्नान गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ । यस क्षेत्रमा कालगतिले जसको मृत्यु हुन्छ त्यसलाई सायुज्य मुक्ति प्राप्त हुन्छ । यस पुण्यभूमिमा गरेको जप, पाठ, पूजा, हवन, दान तथा श्राद्ध आदि कर्मको फल अक्षय हुन्छ र धोरै गरेपनि धेरै फल प्राप्त हुन्छ । यहाँ पाइने शालिग्राम शिलाहरु देवताका रुप हुन् भने यहाँको जल अमृत समान हो । अत यो भूमि देवभूमि, तपोभूमि वा पुण्यभूमिको रुपमा प्रख्यात छ ।
यस्तै महत्व बुझेर वशिष्ठ, विश्वमित्र, यज्ञवल्क्य जनक, सीता आदि हजारौं महापुरुषहरुले यहाँ आई तपस्या गरे । रामले अश्वमेध यज्ञ गरेको र सीताजीको विलय भएको ठाउँ यही हो भन्ने भनाई प्रसिद्ध छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीं आएर तपस्या गरेको तथ्य इतिहासमा पाइन्छ । यस्ता अनेकौं ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक तथ्यसँग जोडिएको छ देवघाटधाम । धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वको संरक्षण र विकासका लागि वि.सं.२०५० सालदेखि देवघाट क्षेत्र विकास समिति गठन भई ऐनको तर्जुमा, मापदण्डको मस्यौदा एवं गुरुयोजना तयार गरी योजनाबद्ध विकासका लागि क्रियाशील भैरहेको छ ।
माघे संक्रान्ति पर्व
देवघाटधाममा अन्य पर्वहरुमा (एकादशी, पूर्णिमा, संक्रान्ति, ग्रहण आदि) सधै मेला लाग्दछ । त्यसमा पनि माघे संक्रान्तिमा ठूलो विशेष मेला लाग्ने गर्दछ । यस दिनमा देवघाटका सबै मठ, मन्दिरहरुमा भक्तजन पूजा–आजा, भजन–कीर्तन, दान–पुण्य, आदिमा व्यस्त रहन्छन् । देश–विदेशबाट आउने भक्तजनहरुको ठूलो भीड लाग्दछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । ज्योतिषको गणना अनुसार सूर्य धन राशीबाट मकर राशीमा गएको दिनलाई मकर संक्रान्ति भनिन्छ । पद्मपुराणको भनाईअनुसार सूर्य मकर राशिमा गएको बेला (माघ महिनामा) देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य र प्रयागमा स्नान गरेको फल प्राप्त हुन्छ । त्यस्तै हिमवत्खण्डमा पृथ्वीभरमा जति धार्मिक तीर्थहरु छन् ती सबैमा स्नान गर्नाले जे फल मिल्छ त्यो फल देवघाटमा यस माघ महिनामा स्नान गर्नाले प्राप्त हुन्छ भनी लेखिएको छ ।
माघे संक्रान्ति पर्वमा देवघाटको विशेष महत्व हुनुमा निम्न कारणहरु प्रसिद्ध छन्
१. त्रिशुली नदी र काली गण्डकीको संगम यसै दिनमा भएकोले यस दिनमा देवघाटधामको विशेष महत्व भएको हो ।
२. मकर संक्रान्तिको प्रातः ब्रह्ममुहूर्तमा दुवै नदीको संगमस्थलमा दिव्य अमृत प्रवाहित हुने भएकोले त्यस समयमा त्यहाँको स्नानको विशेष महत्व भएको हो ।
३ मकर संक्रान्तिको दिनमा यस पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवताहरु यहाँ आइपुग्छन् । अदृश्यरूपमा भएपनि सम्पूर्ण देवताहरुको जमघट हुने भएकोले यस समयमा संगममा स्नान गर्नुको ठूलो महत्व भएको हो ।
४.वशिष्ठमुनिको जन्मजयन्तीको दिन माघे संक्रान्तिमा पर्ने भएकोले यस अवसरमा यहाँ सम्पूर्ण ऋषिमुनिहरु भेला हुने गरेकाले त्यसै समयदेखि यहाँ मेला लाग्ने गरेको हो ।
५. विवाह, व्रतबन्ध, यज्ञ आदि शुभकार्य गर्न राम्रो हुने उत्तरायणसमय लागेपछिको प्रथम संक्रान्ति पर्व भएकोले शुभकार्य गर्न पनि यस दिनमा मेला लाग्ने गरेको हो ।
६. बौद्ध गुम्वामा प्रतिवर्ष माघे संक्रान्तिको अवसरमा पौष २८ देखि ३ दिनको विश्वशान्ति पूजा हुने गर्दछ । जसमा सहभागी हुन टाढाबाट बौद्ध लामाहरु आउने भएकोले बौद्धहरुका लागि पनि यो पर्व महत्वपूर्ण भएको हो ।
७. प्राकृतिक सौन्दर्य र मनोहर स्थल समेत भएकोले ।
देवघाटधाममा दर्शनीय स्थलहरूः
क) तनहूँतर्फ गलेश्वर आश्रम, मणि मुकुन्देश्वर धार्मिक उद्यान पार्क (निर्माणाधिन), चक्रेश्वर महादेव मन्दिर, सीतागुफा, वशिष्ठ गुफा, अघोरी आश्रम, हरिहर मन्दिर, पशुपति मन्दिर, हरिहर आश्रम, महेश आश्रम, वराह मन्दिर, वैकुण्ठेश्वर मन्दिर, देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रम, वेणी संगम, बद्री केदार मन्दिर, मुक्तिनाथ मन्दिर, विष्णुशैया धाम, सत्यनारायण मन्दिर, प्राणनाव अनाथ आश्रम, रामराम मन्दिर आदि ।
ख) वितवनतर्फ राम मन्दिर, वागीश्वरी मन्दिर, गणेश मन्दिर, हरिहर मन्दिर, राधाकृष्ण मन्दिर, धार्मिक प्रवचन मञ्च, यज्ञशाला मन्दिर, शंकराचार्य मन्दिर, गौरेश्वर पशुपति मन्दिर, दियालो बंगला, टोड्के ताल, आत्रेय गोत्र (पौडेल वंश) अनुसन्धान प्रतिष्ठान, संकटमोचन हनुमान मन्दिर, संकल्पेश्वर मन्दिर आादि ।
ग) नवलपुरतर्फ मौलाकालिका मन्दिर, लक्ष्मी मन्दिर, सूर्य कुण्ड, लक्ष्मी नृसिंह दिव्यधाम, शिवालय मन्दिर, राधाकृष्ण मन्दिर आदि ।
देवघाटधाममा लाग्ने विभिन्न मेलाहरू (संक्षिप्त)
वैशाख संक्रान्ति, श्रावण संक्रान्ति, श्रावण महिनाभर बोलबम मेला, (विशेषत श्रावण सोमवार), ठूलो एकादशी, बाला चतुर्दशी, माघे संक्रान्ति (वर्षकै सर्वश्रेष्ठ मेला) चन्द्र ग्रहण, सूर्य ग्रहण, औसी, एकादशी पूर्णिमा, महाशिवरात्री, रामनवमी आदि ।
देवघाटधाम जाने बाटोः
देवघाटधाम जानका लागि चितवन, नारायणगढको काठमाडौं–मुग्लिङ्ग सडकको नजिकै आँपटारी चोकमा देवघाटधाम प्रवेशद्वार रहेको छ । त्यहाँबाट पिचरोड हुँदै देवघाट झोलुङ्गेपुल पुग्न सकिन्छ । मकर सक्रान्तिको अवसरमा भने नारायणगढबाट रामनगर हुँदै देवघाट जानुपर्ने हुन्छ र एकातफी रोडको व्यवस्था अनुसार पिचबाटोबाट नारायणगढ फर्किन सकिन्छ । देवघाट जान नारायणगढको नारायणगढ बसपार्कबाट बसहरु पाइन्छन् । देवघाटधाममा रहेका मठ, मन्दिरमा बसोबासको लागि धर्मशालाहरुको पनि व्यवस्था छ । दासढुंगाबाट सवारी साधन प्रयोग गरी तनहुँतर्फ देवघाटधाम पुग्न सकिन्छ ।
देवघाटमा गएर के के गर्ने ?
यातायातको साधनबाट झोलेङ्गेपुलमा पुगेपछि त्यहाँका सङ्कल्पेश्वर हनुमान, सप्तगण्डकी र तीर्थदेवतालाई नमस्कार गरी स्नानघाट सङ्गममा जानु पर्छ । सङ्गममा सर्वप्रथम जल आचमन, अभिषेक गर्ने र आफू पवित्र बनी संकल्पसहित ३ पटक स्नान गर्नु पर्दछ । त्यसपछि सूर्यभगवान्, तीर्थदेव र अफ्ना पितृहरुलाई सम्झी छुट्टा छुट्टै जल चढाउनु पर्छ । सम्भव भए सङ्गममा वा अन्य योग्य ठाउँमा बसी विधिपूर्वक सन्ध्या, तर्पण, श्राद्ध, देवपूजन, दान आदि गर्नु । त्यसपछि गङ्गा मन्दिर, पशुपति मन्दिरको दर्शन गर्दै अधोरी आश्रम हुँदै गलेश्वर आश्रममा आई ज्योतिर्लिङ्गेश्वर मन्दिरमा पूजा अर्चना, हवन र यथाशक्ति दान पुण्य गर्नु पर्छ ।
त्यसपछि वशिष्टगुफा, सीतागुफा आदिको दर्शन गरी चक्रवर्ती मन्दिर तथा सत्यनारायण मन्दिरको दर्शन पूजा गरी महेश संन्यास आश्रम हुँदै दुर्गा पाञ्चायन मन्दिरको बाटो हरिहर मन्दिर पुगी त्यहाँ पूजा अर्चना गर्नु पर्छ । त्यसपछि राम मन्दिर, सत्यनारायण मन्दिर र पुलको नजिकमा रहेका केदारेश्वर मन्दिर तथा बद्रीनारायण मन्दिर आदि अन्य मन्दिर पनि दर्शनीय छन् ।
चितवनतर्फ सङ्गम वा चक्रतीर्थमा विधिवत् स्नान गरी दान पुण्य आदि कर्म गर्नु पर्छ । त्यसपछि सङ्गम समीपको सङ्गमेश्वर मन्दिर, हनुमानजी, यज्ञशाला मन्दिर, अष्टादशपुराण मन्दिरको अखण्डदीप, शङ्कराचार्य मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, राधासर्वेश्वर भजनाश्रम र राधामाधव मन्दिरको दर्शन गर्नु पर्छ । यसै पुलको समीपमा सङ्कल्पेश्वर हनुमान मन्दिर, बौद्ध गुम्बा र आत्रेयवंशीय कुल देवता मन्दिर दर्शनीय छन् ।
देवघाटमा आउँदा ध्यान दिनुपर्ने कुराहरूः
पवित्र धार्मिक क्षेत्र देवघाट आउँदा शरीर र मन पनि पवित्र हुनु पर्दछ । मदिरा, मांस र अन्य कुनै दुव्र्यसनको सेवन गर्नु हुँदैन । कसैप्रति राग, द्वेषको भावना मनमा हुनु हुँदैन । बाटो, स्नानघाट मन्दिर वा धर्मशालामा फोहोर गर्नु हुँदैन । आफ्नो कारणले तीर्थस्थल प्रदूषित हुन दिनुहुँदैन । धार्मिक एवं साँस्कृतिक मर्यादाको पालना हुनु पर्दछ । आफ्नो जीवनमा चारित्रिक परिवर्तन ल्याउने किसिमको कुनै शुभ संकल्प (आजीवन जुवा, तास, रक्सी, चुरोट, सुर्ती आदि दुर्व्यसनको त्याग, मांसाहारको त्याग वा अन्य कुनै राम्रो कामको थालनी गर्ने प्रतिज्ञा) गरी त्यस्ता सङ्कल्पको पालना गर्नु राम्रो हो । साथै आफ्नो राष्ट्रको आभूषण तथा धार्मिक आस्थाको केन्द्र भएको यस देवघाटधामभित्र रहेका मठ मन्दिरको संरक्षण, जीर्णोद्वार, अन्नक्षेत्र आदिको संचालन, विद्यालय सञ्चालन आदिमा यथाशक्य सहयोग गरेर वा वाटिका निर्माण जादी कुनै रचनात्मक कार्यमा सहयोग गरेर पुण्यलाभ लिन सकिन्छ ।
अन्त्यमाः
आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई धार्मिक स्थलबारे अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्न आग्रह गर्दछौं । नेपालीहरुको पवित्र महान् तीर्थ देवघाटधामको महत्व भारतवर्षका अन्य कुनै तीर्थको भन्दा कम छैन । अतः सबै मिलेर यस तीर्थको संरक्षण र प्रचार–प्रसार गरौं । यस तीर्थको गरिमालाई संरक्षण गर्दै एक आदर्श तपोभूमिको रुपमा विकास गरी आफ्नो सनातन धर्म र संस्कृतिको जगेर्ना गरौं ।
देवघाट क्षेत्र विकास समिति