देवघाट, माघ १
माघे संक्रान्तिको अवसरमा देवघाटधाममा लाखौं भक्तजन आएका छन् । देशकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगममा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे संक्रान्तिको अवसरमा लागेको मेलामा देश तथा बिदेशबाट लाखौं भक्तजन आएका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष पाँच लाख भन्दा बढि भक्तजन माघे संक्रान्ति मेलामा देवघाट आएका थिए ।
ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिना भर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लागेको हो ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक कृष्णबहादुर बानियाँले यस वर्ष पाँच लाख भन्दा बढि भक्तजन देवघाट आएको बताए । बानियाँका अनुसार यस वर्ष मेला शान्तिपुर्ण र सुरक्षित रह्यो । मेलामा सहभागी हुन आइतबार दिउँसैबाट देवघाट क्षेत्रमा भक्तजन भेला भएका थिए । भक्तजनहरु रातभर जाग्राम बसेर भजन किर्तन गरि बिहानै कालीगन्डकी र त्रिशुलीको बेणी संगममा स्नान गरेका थिए ।
बिहान ५ बजेदेखी साँझ ६ बजेसम्म ६५ वटा डुङ्गाले भक्तजनहरु वारपार गराएका थिए भने त्रिशुलीको झोलुङ्गे पुलबाट पनि बिहान ४ बजेदेखी साँझसम्म निरन्तर भक्तजनहरु वारपार गरेका थिए । मेलालाई सुरक्षित र व्यवस्थित बनाउन तनहुँ र चितवनबाट पाँच सय भन्दा बढि नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका थिए । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट आकस्मिक उद्धारका लागि २ वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाईएको थियो भने ससस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरीनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट २÷२ वटा उद्धार याफ्टिङ्ग डुङ्गा ल्याईएको थियो ।
देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।
धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । यसैदिन देखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।
वशिष्ठ, विश्वामित्र, जनक, सीता, जस्ता सयौं ऋषि महर्षि देवघाटमा आई तपस्या गरेका, रामले अश्वमेध यज्ञ लगाएका, सीताजी विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले बताए । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थ स्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिने उनले बताए ।
मेलाको अवधिभर सवारी साधनहरु चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको थियो । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको थियो ।
त्रिशुली नदीको झोलुङ्गेपुलमा हिड्दा नरोकिकन पंक्तिवद्ध भई विस्तारै हिड्ने व्यवस्था मिलाईएको थियो । सो पुलमा एकपटकमा एक सय जना यात्रु मात्र हिड्न दिने व्यवस्था मिलाईएको थियो । बैकल्पिक मार्गको रुपमा वेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको थियो । डुङ्गा तथा ¥याफ्टिङ्गबाट एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको थियो ।
माघे संक्रान्तिमा देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको छ ।
यसैगरि माघे संक्रान्ति मेलाको क्रममा देवघाट क्षेत्रमा धुम्रपान, मद्यपान तथा मांस मदिरा निषेध गरिएको थियो । देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलामा धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध गरिएको जनाएको थियो ।
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम आध्यात्मिक तपोभूमि भएकोले यस स्थलमा सदैव धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध रहँदै आएकोमा माघे संक्रान्ति पर्वको अवसरमा गत विगत वर्षहरुमा छिटपुट रुपमा बिक्री वितरण र सेवन कार्य भएको पाइएकोले उक्त कार्यहरु निषेध गर्ने भन्ने माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिको बैठकबाट निर्णय भएकाले मांस मदिरा बिक्री वितरण ओसार पसार र सेवन कार्य पूर्ण रुपमा निषेध गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।