कहाँ पुग्यो देवघाटमा बन्ने भनेको तिन मुखे पुलको योजना ? मुख्य कारण बजेट अभाव कि स्थानीय अन्तरविरोध ?

Devghat Online

शेयर गरौ

प्रकाशचन्द्र भट्टराई

देवघाट, माघ ४

तनहुँ, चितवन र नवलपुरको संगममा रहेको नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधाममा तिनमुखे पुल (ट्रिज) निर्माण हुने बारेमा ४ बर्ष अघि घोषणा भयो । तर देवघाटको कालिगन्डकी र त्रिशुलीको संगम बेणीमा बन्ने घोषणा भएको पुल अन्तिम समयमा आएर रोकिएको छ ।

सडक विभाग अन्तर्गतको सस्पेन्स बिज्र डिभिजनले निर्माण गर्ने गरि पुलको डिपिआर समेत भएको थियो । उक्त पुलले चितवन, तनहुँ र नवलपुरलाई एक साथ जोड्ने र यहाँको धार्मिक पर्यटन प्रबद्र्धन हुने विश्वास समेत गरिएको थियो ।

नेपालको अर्काे चर्चित धार्मिकस्थल रिडीमा गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने तिनमुखे पुल निर्माण भएपछि देवघाटमा पनि त्यस्तै डिजाईनको पुल बनाउनु पर्ने माग भएको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पुर्वाधार विकास विभागले ५५ लाख खर्चेर पुलको डिजाईन समेत गरेको थियो ।

डिपिआर अनुसार तत्कालिन समयमा पुलको निर्माण लागत ८२ करोड रहेको थियो । तर एकाएक उक्त पुलको निर्माण कार्य रोकिएको छ । यसबारेमा कतिपय देवघाटबासीले बिर्सिपनि सके होलान् । विभागले उक्त आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको थियो ।

हाल चितवन र तनहुँ जोड्ने गरि त्रिशुलीमा रहेको झोलुङ्गे पुल जिर्ण भएको र साथै उक्त पुलले नवलपरासीलाई नजोड्ने भएकोले नवलपरासीलाई समेत जोड्ने गरि बेणी संगममा तिनमुखे पुल निर्माणको योजना अगाडी सारिएको थियो । उक्त तीन मुखे पुलले तीन जिल्लालाई एक साथ जोड्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

उक्त पुल निर्माणमा गन्डकी प्रदेश सरकार र बाग्मती प्रदेश सरकारले पनि चासो दिएका थिए । प्रदेश सरकारले पनि आफ्नै योजनामा उक्त पुल बनाउने घोषणा समेत गरेका थिए । गण्डकी प्रदेश सरकारले त नीति तथा कार्यक्रममै तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको थियो ।

गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा उक्त तीनमुखे पुल निर्माण गर्ने घोषणा गरेको थियो । देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष बद्री अधिकारीले जानकारी दिए ।
तर उक्त त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको निर्माण किन रोकियो भन्ने बारेमा देवघाटका सरोकारवालाहरु नै अनभिज्ञ रहेका छन् ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बजेट धेरै भएको कारण उक्त योजना स्थगित भएको बताए । ‘सरकारसँग बजेट नभएरै योजना रोकिएको हो’ पौडेलले भने ‘तर बाहिर हल्ला चाँही स्थानीय अन्तरविरोधलाई देखाईएको छ ।’ आफु देवघाट क्षेत्र विकास समितिको अध्यक्ष हुँदा उक्त पुल निर्माण गर्न उपयुक्त छ भनेर सम्बन्धित निकायमा सिफारिस गरेको पौडेलले बताए ।

बेणी संगममा पुल निर्माण भएपछि त्यहाँ स्नान गर्ने भक्तालुहरुलाई भने असर पर्ने पौडेलले बताए । माथि पुलमा मान्छे हिड्ने, फोटो खिच्ने र त्यहाँबाट खानेकुराहरु फाल्ने कार्य भयो भने तल नदीमा स्नान गर्नेहरुलाई स्वभाविक रुपमा असर गर्ने पौडेलले बताए ।

त्यसैगरि उक्त पुलको बारेमा देवघाट क्षेत्रमा रहेका विभिन्न आश्रमहरु विच पनि अन्तरविरोध उत्पन्न भएको थियो । यसलाई पनि पुलको निर्माणमा अवरोध मानिएको छ । देवघाटमा आयोजित एक बैठकमा गलेश्वर आश्रम बाहेक अन्य आश्रमहरुले उक्त पुल देवघाटको धार्मिक पर्यटनको लागि अनुपयुक्त भएको बताएका थिए ।

गलेश्वर आश्रम वेणी संगमको आडैमा रहेको कारण पनि पुल बनेपछि गलेश्वर आश्रम आउने पर्यटक तथा भक्तजनको अहिलेको भन्दा बृद्धि हुने तथा अन्य आश्रमहरुले खासै लाभ लिन नसक्ने र हाल भईरहेको पर्यटकको संख्यामा पनि कमी हुने अन्य आश्रमका सन्चालकहरुको आशंका थियो । त्यसले पनि पुल निर्माण कार्य तत्कालकोलागि स्थगित भएको बताईएको छ ।

यता देवघाट क्षेत्र विकास समितिले डिपिआर तयार भईसकेको उक्त पुलको निर्माण कार्य शिघ्र हुनु पर्नेमा प्रधानमन्त्री र राष्ट्रपतीको ध्यानाकर्षण गराएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले उक्त पुलको निर्माण कार्य सुरु गर्नु पर्ने बारेमा प्रधानमन्त्री र राष्ट्रपपतीलाई भेटेर अनुरोध गरिएको बताए ।

ठुलो धनराशी खर्च हुने भएको कारण सरकारी पक्षले उक्त पुल निर्माण गर्न नचाहेको भन्दै कार्यकारी निर्देशक बरालले त्यो भन्दा अलि कम लागतमा रिडीको जस्तै डिजाईनमा पुल बनाउने बारेमा भने सस्पेन्स बिज्र डिभिजनका अधिकारीहरु सकारात्मक भएको बताए । तर डिजाईन निर्माणमै ५५ लाख खर्च भईसकेको हुँदा पुलको डिजाईन पुनः परिवर्तन गरेर अर्काे बनाउन भने समस्या हुने सस्पेन्स बिज्रका इन्जिनियरहरुले आफुलाई बताएको बरालले जानकारी दिए ।

उक्त त्रिकोणात्मक पुल प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक क्षेत्र तथा राष्ट्रपती रामचन्द्र पौडेल अन्तिम पटक निर्वाचित भएको क्षेत्र एवं काँग्रेसका प्रभावशाली नेता शशांक कोईरालाको निर्वाचन क्षेत्र समेतमा पर्ने हुँदा सरकारले चाहेमा जुनसुकै बेला बजेट विनियोजन गरेर डिजाईन अनुसारकै पुल बनाउन सक्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू