ठेकेदारले मुद्दा हालेपछि कृष्णमार्गको बिजोग, करोडौं फ्रिज

Devghat Online

शेयर गरौ

पोखरा, माघ २६

सडक निर्माणको जिम्मा लिएको ठेकेदार मुद्दा मामिलामा लागेपछि कृष्ण मोटरमार्ग अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको २५ किलोमिटर खण्ड अलपत्र छ । पाल्पाको रामपुरलाई तनहुँको दुलेगौडामा पृथ्वी राजमार्गसँग जोड्ने कृष्ण मोटरमार्गको धेनुङ देउराली–केलादीघाट खण्डको निर्माण १५ महिनामा सक्नुपर्ने गरी २०७३ वैशाख २३ गते सम्झौता भएको थियो ।

१० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी चितवनको सन्तोषी निर्माण सेवाले काम नसक्दै सकिएको दाबी गर्दै भुक्तानी माग गरेको थियो । पूर्वाधार विकास कार्यालय तनहुँले काम पूरा नगरेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएपछि ठेकेदारले उच्च अदालत पोखरा हुँदै नेपाल मध्यस्थता परिषदमा मुद्दा दायर गरेको हो ।

निर्माण व्यवसायीले मेसिन र कामदारमार्फत लागतभन्दा धेरैको काम गरेको मौखिक दाबी गरेको तर हाजिरी लगायत काम गरेको पुष्टि हुने कागजात पेश नगरेको पूर्वाधार कार्यालय तनहुँको भनाइ छ ।

२०७३ सालमा जिल्ला प्राविधिक कार्यालय मार्फत निर्माण सुरु भएको यो सडक देश संघीयतामा गएपछि गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय नवलपुरमा हस्तान्तरण भएको थियो । त्यसपछि फेरि यो सडक पूर्वाधार विकास कार्यालय तनहुँ मातहत ल्याइएको थियो ।

जिल्ला प्राविधिक कार्यालयसँग भएको सम्झौता अनुसार ठेकेदार कम्पनीले यो सडकको निर्माण २०७४ साउन २८ गतेभित्र सक्नुपर्ने थियो । तर, त्यो बेला बल्ल काम थालेको कम्पनीले पछि पनि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो ।

ठेकेदारले ७५ प्रतिशत काम गरेको र ७ करोड ६० लाख ३७ हजार रुपैयाँ ९करिब ७१ प्रतिशत० भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय तनहुँको भनाइ छ ।

नाला बनाउने, ट्राफिक संकेतहरु राख्ने, टेवापर्खाल बनाउने जस्ता धेरै काम अधुरो राखेर ठेकेदारले क्षतिपूर्तिको मागसहित मुद्धा हालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सन्तोषी निर्माण सेवाले ब्याजसहित ४ करोड २५ लाख २७ हजार रुपैयाँ माग दाबी गर्दै मुद्धा हालेको थियो । नेपाल मध्यस्थता परिषदले २०७९ चैत ९ गते ठेकेदारकै पक्षमा फैसला गरेपछि पूर्वाधार विकास कार्यालय तनहुँले यही वैशाख ११ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

अहिले उच्च अदालत पाटनले मध्यस्थता परिषदको फैसला बदर गर्दै सम्झौता अनुसार काम गरेपछि मात्र भुक्तानी दिन आदेश दिएको छ । तर फैसलाको पूर्णपाठ नआएकाले फैसला कार्यान्वयन अघि बढ्न नसकेको घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७८÷२०७९ मा यो सडकमा निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रम अन्तर्गत ४४ करोड रुपैयाँ बजेट परेको थियो । तर अदालतमा मुद्धा विचाराधीन भएकै कारण उक्त रकम खर्च गर्न नसकेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

‘ठेकेदारले दुख दिने, समयमा काम नगर्ने र उल्टो मुद्धा हाल्ने गरेपछि सडक विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म सहजीकरणको याचना गर्दै पुग्यौं’, उनले भने, ‘तर, परेको बजेट पनि खर्च गर्ने बाटो पाएनौं । नागरिकको आक्रोश भने हामीमाथि छ ।’

नागरिकलाई यातायातकै सास्ती

घिरिङ–१ का रामप्रसाद श्रेष्ठले पोखराबाट सामान ल्याउन खोज्दा सडकको अवस्था खराब भएका कारण पाल्पातिरबाट घुमाएर ल्याउनुपरेको बताए । आइतबार गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा उनले भने, ‘पालिकाले नै खर्च गरेर भए पनि कम्तीमा ग्राभेल गर्ने व्यवस्था गर्नुपर्‍यो ।’

घिरिङ गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा धेरैले यही सडकको विषय उठाए । घिरिङ–५ का सुशीलकुमार श्रेष्ठले सडक नबन्दा जनताले सधैं धु्लोहिलो खानु परेको दुखेसो गरे ।

घिरिङ–१ की लक्ष्मीमाया बस्ताकोटीले गाउँपालिका आउन सक्ने स्थिति पनि नरहेको बताइन् । ‘पालिकामा कहिले रामबहादुर आउँछ, कहिले श्यामबहादुर आउँछ तर जनताको सास्ती बुझ्न कुन बहादुर आउने हो रु’ लक्ष्मीमायाले प्रश्न गरिन् ।

गाउँपालिकाका पूर्वअध्यक्ष रनबहादुर रानाले सडक निर्माणका लागि ठेकेदारलाई प्रशासनमा बोलाएर पटक पटक छलफल गरे पनि समस्या समाधान नभएको बताए । अब जनताकै पहलमा भए पनि यो सडक बनाउनुपर्ने उनले बताए । ‘कसले छेक्दो रहेछ यो बाटो पिच गर्नका लागि रु बजेट हाल्नुस्, हामी जनता नै उठेर पिच गर्छौं’, रानाले भने ।

गाउँपालिका अध्यक्ष होमबहादुर थापाले मुद्धा पर्‍यो भन्दैमा आफूहरु पनि चुप नलागेको बताए । ‘पूर्वाधार कार्यालय, विभाग, प्रदेशको भौतिक मन्त्रालय, मुख्यमन्त्री हुँदै प्रधानमन्त्रीको कार्यालयको ढोका ढकढक्यायौं’, अध्यक्ष थापाले भने, ‘हाम्रो दबाब, निवेदन धेरै ठाउँमा पुगेको छ । तर, कृष्ण मोटरमार्ग हाम्रो काबुभन्दा बाहिर गयो ।’ (अनलाइनखबरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू