एसपी विष्टको एक वर्षे कार्यकालः १०७ जना फरार अभियुक्त पक्राउ, ५१६ उजुरी दर्ता

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्ट क्षेत्रीको सरुवा भएको छ । उनको उपत्याका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा सरुवा भएको हो । सरुवा भएसँगै विष्ट शुक्रबार तनहुँबाट बिदाई समेत भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृतहरुले बिदाई गरेका हुन् ।

एसपी विष्टको सरुवासँगै उनको एक वर्षे कार्यकालमा जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुले एक वर्षमा सम्पादन गरेका कामहरुको बारेमा जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गरेको छ । यस अघि यस्तो विवरण सार्वजानिक गर्ने प्रचलन नभएपनि एसपी विष्टले आफ्नो कार्यकालमा सम्पादन भएका कामहरु सरुवा भएर जाने बेलामा सार्वजानिक गरेका हुन् । यो कार्यलाई अव भविष्यका प्रहरी प्रमुखहरुले पनि निरन्तरता दिनेमा विश्वास गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ माघ २५ गते २०८० माघ २५ गतेसम्मको एक वर्षे अवधिमा तनहुँमा १०७ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । जसमा महिला १४ र पुरुष ९३ जना रहेका छन् । अदालतको फैसला कार्यान्वयन तर्फ अदालतबाट दोषी ठहर भएका फरार अभियुक्तहरु पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुबाट १११ वर्ष २६ दिन कैद र ४१ लाख ५१ हजार ३९१ रुपैयाँ जरिवाना असुल हुनु पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला केही वर्षमा फरार अभियुक्त पक्राउ परेको संख्यालाई तनहुँका प्रहरी प्रमुखहरुले आफ्नो उपलब्धी मान्दै आएका छन् ।

यसैगरि यो एक वर्षको अवधिमा ५१६ वटा विभिन्न प्रकृतिका उजुरीहरु दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालयमा २३५ वटा उजुरी दर्ता भएको छ भने इप्रका बेलचौतारामा ११०, इप्रका आबुँमा १०६ र इप्रका भानुमा ६५ वटा उजुरीहरु दर्ता भएका छन् । जिप्रकामा दर्ता भएको २३५ वटा उजुरी मध्ये १०६ वटा फछ्र्यौट भई १२९ वटा बाँकी रहेको छ । कुल ५१६ उजुरी मध्ये २५७ वटा उजुरी फछ्र्यौट भई २५९ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै आत्महत्याको उजुरी दर्ता भएको छ । आत्महत्याको १२५ वटा उजुरी दर्ता भएको छ । जसमा ७० पुरुष,४१ महिला, ५ बालक र ८ बालिकाले आत्महत्या गरेको प्रहरीको भनाई छ । यसैगरि ५५ वटा लागु पदार्थको मुद्धामा ७८ जना पक्राउ परेका छन् । त्यस्तै चोरी सम्बन्धी ४७ वटा उजुरी, बैंकिङ कसुर सम्बन्धि ३३ वटा, जबरजस्ती करणी सम्बन्धि २२ वटा, कतव्र्यज्यानको ९ वटा र जबरजस्ती करणी उद्योगका ४ वटा उजुरी दर्ता भएका छन् ।

त्यसैगरि चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्रै ३११ वटा उजुरी दर्ता भएका छन् । जसमा १५५ वटा फछ्र्यौट र १५६ वटा बाँकी रहेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै अभद्र व्यवहार तर्फ ५८ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै आत्महत्या सम्बन्धी ५३ वटा, चोरी सम्बन्धी चोरी सम्बन्धी ३० वटा, बैंकिङ कसुर सम्बन्धी ३० वटा, लागु औषध सम्बन्धी ३२ वटा, जबरजस्ती करणी सम्बन्धी ११ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा ३५ वटा विभिन्न शिर्षकमा उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू