दमौली, फागुन १५
आज ४२ औं मगर दिवस । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।
मगर दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन् । यो कुनै चाड नभएर मगर जातीहरु संगठित भएको दिन हो ।
२०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । तर संस्थागतरुपा मगर संघको स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको पाईन्छ ।
मगरजातीले फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएका छन् ।
स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो मगर समुदायको छ ।
वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।
आज मगर दिवसको अवसरमा तनहुँका अधिकांश स्थानीय तहले सार्वजानिक बिदा दिएका छन् । तनहुँको भानु नगरपालिका, शुक्लागन्डकी नगरपालिका, भिमाद नगरपालिका तथा देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाले पालिकाभित्र स्थानीय बिदा दिएका हुन् ।
तनहुँ देशभरीमा सबैभन्दा धेरै मगरजाती बसोबास गर्ने जिल्लाको रुपमा चिनिन्छ ।