तनहुँमा दादुरा रुबेला खोप अभियान सुरु, २० हजार बालबालिकालाई खोप लगाईने

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

तनहुँ जिल्लामा दादुरा रुबेला खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय तनहुँले मंगलबार दमौलीमा एक कार्यक्रम आयोजना गरि उक्त खोप अभियान सुरु गरिएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार उक्त खोप अभियान तनहुँमा दुई चरणमा सन्चालन हुनेछ । पहिलो चरणमा फागुन १५ देखी १९ गतेसम्म व्यास नपा, देवघाट, बन्दिपुर, आबुँखैरेनी र म्याग्दे गाउँपालिकामा सन्चालन हुनेछ भने फागुन २२ गते देखी २७ गतेसम्म भानु नपा, भिमाद र शुक्लागन्डकी नपा तथा ऋषिङ र घिरिङ गाउँपालिकामा सन्चालन हुनेछ ।

खोप अभियानकालागि तनहुँका २३८ खोप केन्द्रमा २३८ स्वास्थ्यकर्मी र ४६६ स्वंयसेवक तथा प्रत्येक पालिकामा एक जना चिकित्सक परिचालन हुनेछन् । दुबै चरणमा गरेर तनहुँका ९ महिनादेखी ५ वर्ष मुनीका २० हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यास नपा २ स्थित जनसेवा आधारभुत विद्यालयमा खोप लगाएपछि बालबालिकाहरु

खोप अभियान सन्चालनकोलागि यस अघि सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई जिल्ला स्तर र पालिका स्तरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भईसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।

खोप अभियानको शुभारम्भ गर्दै गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले सबै बालबालिकालाई खोपको पहुँचमा पु¥याउनु पर्ने बताए । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले खोपको महत्वको बारमा मन्तव्य राखेका थिए ।
गत आइतबारबाट देशभर दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको सन्चालन भएको छ । चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।

सरकारले दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । दादुराको जोखिम बढि भएको तराईका २१ जिल्लामा १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो भने अन्य जिल्लामा ९ महिना देखी ५ वर्षसम्मका बालबालिकालाई खोप दिइनेछ । करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । देशभर खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३० हजार बढी जनशक्ति खटाइएको छ ।

नियमित खोप अन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो ।

यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने चिकित्सकहरुको भनाई छ । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष