वडा नम्बर १३ मा सरसफाई केन्द्र खोल्ने व्यासको निर्णयप्रति वडाबासीको मिश्रीत प्रतिक्रिया

Devghat Online

शेयर गरौ

दमौली, फागुन १८

व्यास नगरपालिकाले फोहोर मैलाको स्थायी रुपमा व्यवस्थापन गर्न सरसफाई केन्द्र निर्माणकोलागि व्यास नपा–१३ मा जग्गा खरिद गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाको सरसफाई केन्द्र व्यवस्थापन गर्न स्थायी समाधानकोलागि जग्गा खरिद प्रक्रिया अघि बढाउन गठित समितिको राय अनुसार व्यास नपा १३ मा जग्गा खरिद प्रक्रिया अगाडी बढाउने गत फागुन १५ गते बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

व्यास नपा–२ का वडा अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा गठित समितिको राय अनुसार व्यास १३ मा जग्गा खरिद गर्ने नगरपालिकाले निर्णय गरेको थियो । फोहोर मैला व्यवस्थापनको दिर्घकालिन समाधानको कार्य नहुँदा व्यास नगरपालिका सँधै आलोचित हुने गरेको थियो । व्यासले फोहोर मैलाको व्यवस्थापनमा सहयोग गर्न म्याग्दे गाउँपालिकासँग पनि अनुरोध गरेको थियो ।

अहिले वडा नम्बर १३ मा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद गर्ने नगरपालिकाको निर्णयको वडाबासीबाट मिश्रित प्रतिक्रिया आएको छ । व्यास–१३ मा अत्याधुनिक सरसफाई केन्द्र स्थापना हुनेभएपछि वडामा कृषि, उद्योग, पर्यटन, शिक्षा, रोजगारी र सडक स्तरोन्नतिमा पनि थप लगानी र बिकास भित्रिने वडाध्यक्ष बसन्त बहादुर आलेले बताए ।

उक्त परियोजना कागजमा मात्र सिमित नराखी द्रुत कार्यान्वयनमा लैजानुपर्ने र रोजगारीका लागि १३ नम्बर वडाबासीलाई बिशेष प्राथमिकता दिइनुपर्ने वडा अध्यक्ष आलेको जोड छ ।

यता २०७९ को निर्वाचनमा वडा अध्यक्षका प्रतिद्वन्द्वि नेकपा एमालेका नेता ललित पाण्डेले भने व्यास नपाको उक्त निर्णयको विरोध गरेका छन् । पाण्डेले विहिबार सामाजिक सन्जालमा लगातार दुई वटा स्टाटस लेखी उक्त निर्णयको विरोध गरेका हुन् । ‘ब्यास १३ मा फोहरको भकारी भरिने भएछ ! मैले बुझिन की उनले बुझेनन् ।’ पाण्डेले सामाजिक सन्जाल मार्फत लेखेका छन् ‘केही वर्षअघिका जनप्रतिनिधिहरुले नगर अस्पताल निर्माण गर्ने जग्गा ब्यास १३ मा छ भन्न समेत आँट गरेनन् आज फोहर थुपार्न किन हतार गर्दैछन् बुझ्न आबश्यक छ । पूर्णिमाको रात देखाएर अँधेरीमा टाउको ठोकेको देख्न नपरोस् ।’

पाण्डेको स्टाटसमा प्रतिक्रिया दिँदै व्यास १३ निवासी सामाजिक अभियन्ता इश्वरराज तिवारीले भनेका छन्–‘प्लाष्टिक र हस्पिटलजन्य फोहोर व्यवस्थापनका लागि छनौट गरिएको यो ठाँउबाट कृषिको उत्पादकत्वमा खासै सुधार नहोला कि ? तरपनि बिज्ञ टोलिको बातावरणीय प्रभाव अध्ययन प्रतिवेदन, सरोकारवाला यस क्षेत्रका नागरिकहरुसँगको अन्तरक्रिया र सार्वजानिक सुनुवाई, टोल बिकास संस्था, सामुदायिक वन, यस जग्गाका साँध सधियारहरुसँगको छलफल गरी निचोडमा पुगिएको बिषय हो भने यसलाइ नराम्रो भन्न सकिन्न कि ?’

यसैगरि व्यास १३ को छिमेकी वडा व्यास नपा–१२ निवासी शैक्षिक व्यक्तित्व माधव पन्थले प्रतिक्रिया दिँदै भनेका छन्–‘यो योजनालाई सकारात्मक मान्नुपर्छ तथापि व्यास नगरपालिकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना अन्तर्गत वडा नम्बर १३ मा स्थान छनोट गरिएको निर्णयलाई स्वागत गर्दै फोहोर व्यवस्थापन गरिने स्थान र मार्गका स्थानीय बासिन्दाका यी र यस्तै केही न्युनतम मागहरू पुर्वाधारको रुपमा पुरा गरेरमात्र फोहोर विसर्जन गर्ने कामको थालनी गरिनुपर्छ ।’ उनले फोहोर व्यवस्थापनका लागि पुर्व सर्तहरू समेत अघि सारेका छन् । सडक पक्की बनाउन पर्ने, फोहोर नचुहिने प्रतिबद्धता जनाउनु पर्ने, फोहोर थुपार्ने क्षेत्रमा तारबार लगाउनु पर्ने, नगल्ने र नसड्ने फोहोर मात्रै ल्याउने, स्थानीयलाई रोजगारीमा प्राथमिकता, कृषि, स्वास्थ्य, पर्यटन सम्बन्धि तालिमको व्यवस्था तथा फोहोरका कारणले वातावरण प्रदुषण बढेर बिरामी हुन पुगेको खण्डमा नगरपालिकाले उपचारको व्यवस्था गर्नुपर्ने लगायतका सर्त पुरा गरिनुपर्ने पन्थको जोड छ ।

यस्तै व्यास १४ निवासी नेकपा एमाले नेता तथा वडा अध्यक्षका प्रत्यासी नुरबहादुर आलेले सरसफाई व्यवस्थापन केन्द्रको कारण ‘१० करोडको पशु फर्म १० लाखमा झ¥यो भन्ने दिन आउलान है, फोहोर ब्यबस्थापन राम्रो भएन भने त्यस्को प्रत्यक्ष असर पशुपालनमा पर्ने हो, एक जनाको जग्गा बिक्री होला नगरपालिकाले खरिद गर्ला तर अरु सबै मर्कामा पर्नसक्छ । व्यासकै नमुना कृषि फर्म भएको ठाउँमा यो काम नगरेकै ठिक’ भन्ने सुझाव दिएका छन् ।

यसैगरि उनले अर्काे प्रतिक्रिया जनाउँदै ‘चर्चको बाटो र कुकुरढुङे बिच हो भने चाहिँ ठिक होईन, यो एरियामा त पशुपालन फस्टाइरहेको छ, सुँढे एरिया हो भने चाहिँ ठिक हो, त्यहाँ रोडको माथि जङ्गल मासेर १३÷१४ दुबैको जङ्गलमा सम्भावना छ, जग्गा किन्नुपनी परेन ।’ भन्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले