देवघाट, चैत १२
संस्था परिचय
तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल, प्राचीन पुराणहरुमा आदिप्रयाग हरिहर क्षेत्रका नामले वर्णित देवताहरुको तपोभूमी देवघाटधाममा रहेको महेश सन्यास आश्रम धामिर्क तथा शैक्षिक उन्नयनको केन्द्रको रुपमा विकास हुँदै गएको छ । देवघाटधाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्वले भरिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रूपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णागण्डकी र गोसाईकुण्डबाट प्रवाहित त्रिशूली नदीको पावन सङ्गम रहेको यस तीर्थमा पर्व–पर्वमा देवताहरू पनि स्नान गर्न आउँछन् भन्ने मान्यता रहेको छ ।
यसै पुण्यभूमिमा वैदिक सनानतन धर्म र आर्य संस्कृतिको संरक्षण, संवर्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराजको आशिर्वाद तथा ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा) को प्रेरणाबाट श्रद्धेय श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको संकल्प अनुसार संस्था दर्ता ऐन अन्तर्गत २०५० सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा महेश सन्यास आश्रमको विधिवत दर्ता भएको थियो ।
विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । उक्त आश्रमको विधान अनुसार संस्थापक डा.स्वामी रामानन्द गिरिजी महाराजको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समितिको गठन गरी प्रचलित संस्था सञ्चालन नियमावली अनुसार आश्रम सञ्चालन हुँदै आएकोमा संस्थापक स्वामीको ब्रह्मसायुज्य पश्चात् उहाँकै कृपाप्राप्त शिष्य श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा संस्थाका सम्पूर्ण गतिविधिहरू हाल सञ्चालित छन् ।
महेश संन्यास आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष डा.स्वामी रामानन्द गिरिजी महाराजको सङ्कल्पद्वारा वि.सं.२०५२ सालबाट शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना र सञ्चालन भएको हो । संस्थापक स्वामीको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट स्थापित यस गुरुकुललाई नेपाल सरकारको प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार संस्थागत निजी शैक्षिक गुठीको रूपमा सम्बद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिँदै आएको छ ।
महेश संन्यास आश्रम अन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदाङ्ग लगायत पौरस्त्य वाङ्मयको शिक्षा दिने व्यवस्था गरिएको छ । जस अन्तर्गत आधारभूत तहदेखि स्नातकोत्तर र विद्यावारिधि तहसम्मको औपचारिक अध्ययन–अध्यापनको व्यवस्था एकै प्राङ्गणबाट उपलब्ध हुँदै आएको छ । कक्षा ६ बाट प्रारम्भ हुने गुरुकुलीय शिक्षाको आधारभूत तह नेपाल सरकारद्वारा निर्धारत गुरुकुलीय पाठ्यक्रममा आधारित भएर सञ्चालित छ भने उच्च तहमा नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रम अनुसारको अध्ययन–अध्यापन सञ्चालन भईरहेको छ ।
संस्थाको उद्देश्य
आश्रमले मानवता विश्वशान्ति र विश्वबन्धुताको मूल आधार भएको सनातन आर्य संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने, आध्यात्मिक ज्ञान विज्ञानको मूल स्रोत तथा बौद्घिक ऊर्जाको खानी भएको प्राचीनतम संस्कृत भाषाको संरक्षण तथा संबद्र्धन गर्ने र त्यस अन्तर्गतका अनुसन्धानयोग्य महत्त्वपूर्ण ज्ञानसम्पदाको खोजी गरी प्रकाशनमा ल्याउने, संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्य राखेको छ ।
त्यससैगरि उत्पादित जनशक्तिद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लोपोन्मुख समग्र विश्वको सम्पत्ति भएको संस्कृत भाषा र वाङ्मयको प्रचार प्रसार गर्ने र त्यस माध्यमले वसुधैव कुटुम्बकम्को भावनालाई विस्तार गरी नैतिक चेतनाको विकास गर्ने, संस्कृत वाङ्मयभित्रका विचार प्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र आदि व्यावहारिक विषयको समेत थप शिक्षा दिलाउने, समाजमा स्वधर्म, संस्कृति र संस्कृतको महत्वलाई दर्शाउँदै सामाजिक समरसता कायम गर्न चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा सनातन धर्म संस्कृति र आध्यात्मिक पुनर्जागरणका लागि अनुसन्धान केन्द्रको स्थापना गर्ने र विचारपरक रचनाहरूको प्रकाशन तथा प्रचार–प्रसार गर्ने आफ्नो उद्देश्य बनाएको छ ।
गुरुकुल तथा विद्यापिठ
यस संस्थाले वि.सं. २०७५ सालमा यस गुरुकुल–आश्रम स्थापनाको पच्चीस वर्षे गौरवमय रजतवर्षका रूपमा विविध कार्यक्रमका साथमा मनाइसकेको छ भने हाल योजनाबद्ध स्वर्णिम यात्राको गन्तव्यमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । हाल देशका सुगमदेखि दुर्गमसम्मका ५४ भन्दा धेरै जिल्लाका मेधावी ३ सय छात्रहरूले आवासीय सुविधासहितको निःशुल्क पूर्ण शिक्षा प्राप्त गरिरहेका छन् । गुरुकुलबाट उत्पादित जनशक्ति देशका प्राज्ञिक, शैक्षिक, प्रशासनिक, धार्मिक एवं शान्ति–सुरक्षाका महत्त्वपूर्ण पद र प्रतिष्ठाहरूमा रहेर राष्ट्र र समाजको सेवामा समर्पित भइरहेको छ भने विश्वपरिवेशमा आएको संस्कार र संस्कृतप्रतिको जनलहरलाई गुरुकुलबाट उत्पादित दक्ष जनशक्तिले मार्गनिर्देश गर्ने कुरामा विश्वास गरिएको छ ।
उक्त आश्रममा गुरुकुल तहको शिक्षणकोलागि उपप्राध्यापक फणिन्द्रप्रसाद पौडेल प्रधानाचार्य रहनु भएको छ । उहाँको नेतृत्वमा गुरुकुल (मावि) तहको शिक्षकहरुको टिम रहेको छ भने विद्यापिठ तहको लागि रमणान्द गिरी पिठाधिश, मधुसुदनान्द गिरी संरक्षक र उपप्राध्यापक कमल सुवेदी प्रचार्य रहेको अध्यापकहरुको टिम रहेको छ ।
दैनिक पुजा आरधाना
आश्रममा सनातन धर्म, संस्कृति र परम्पराअनुसार शास्त्रीय विधानको अनुशीलन गरी विश्वशान्तिको उद्देश्यले शिवपाञ्चायन देवताको दैनिक विशेष पूजा आराधना गरिन्छ । १०८ बटुकहरूद्वारा प्रातः कालमा प्रतिदिन रुद्राभिषेक हुन्छ । यसका साथै गुरुकुलका बटुकहरूबाट यज्ञशालामा नित्य हवन यज्ञ सञ्चालन गरिन्छ । साथमा प्रतिदिन रुद्राष्टाध्यायी, शिव महिम्नः स्तोत्र, श्रीमद्भगवद्गीता, दुर्गासप्तशती, विष्णुसहस्रनामस्तोत्रको सामूहिक पाठ हुन्छ भने आश्रमका सम्पूर्ण पदाधिकारी, आचार्य, छात्र र आगन्तुक भक्तहरूको विशेष उपस्थितिमा बिहान र बेलुका भगवान् विद्येश्वरको दिव्य आरती सञ्चालन हुन्छ ।
आश्रमसँग आबद्ध श्रद्धालुहरूको मनोकामना अनुसार विशेष पूजा एवं अनुष्ठानहरू समेत हुने गर्दछन् । पर्व विशेषमा तत् तत् देवता र पर्वको वैशिष्ट्य अनुरूपको विधि र सामग्री तयार गरी अनुष्ठानहरू सञ्चालन गरिन्छन् । विशेषतः सर्वजनहितायको भावनाले गुरुकुलका बटुकहरूद्वारा आश्रमको मर्यादा र शास्त्रीय विधि पालना गर्दै प्रतिदिन यज्ञ, अनुष्ठान र देवपूजन निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
भौतिक संरचना
देवघाट गाउँपालिका वडा नम्बर ५मा महेश सन्यास आश्रमको नाममा खरिद गरिएको ६५ रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । उक्त भुमीमा विभिन्न प्रयोजनका भवन, बगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ । यस महेश संस्कृत गुरुकुलको पूर्वाधार निर्माणका क्रममा विभिन्न कार्यका लागि विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् ।
आश्रमले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न निर्माण कार्यहरू गरिसकेको छ । जसमा विद्येश्वर–शिवमन्दिर, यज्ञशाला, गुरुमन्दिर, प्रार्थना मण्डप, सन्त निवास, सन्त सेवा आश्रम, गुरुकुल छात्रावास, विद्यापीठ छात्रावास, गुरु निवास, अध्यापक निवास, कार्यालय भवन, पुस्तकालय, आचार्य निवास, भोजनालय, कर्मचारी आवास, साधक निवास, गौशाला, शिक्षण भवन, धर्मशाला, भण्डार गृह, स्टोर घर, विद्युत् गृह तथा विभिन्न कुटीहरु रहेका छन् ।
पुस्तकालय सन्चालन
महेश सन्यास आश्रमले आफ्नै पुस्तकालय सन्चालन गरेको छ । जसमा विभिन्न प्रकारका २० हजार भन्दा बढि पुस्तकहरु संग्रहित छन् ।
घर घरमा गुरुकुल अभियान
यसबाहेक आश्रमको समन्वयमा घरमै बसेर सनातन धर्म, संस्कार र संस्कृतिको विषयमा अध्ययन गर्न चहानेहरुकोलागि घरघरमा गुरुकुल अभियान पनि सन्चालन गरेको छ । उक्त अभियानमा युवा, गृहिणी लगायत समस्त वर्गका व्यक्तिहरुले धार्मिक नित्यकर्म, श्रीमद्भगवद्गीता, श्रीदुर्गासप्तशती (चण्डी) तथा विभिन्न नेपाली र संस्कृत स्तोत्रहरू पाठ गर्छन् । उक्त घर घरमा गुरुकुल बेलुका ७ देखि ८ बजेसम्म सन्चालन हुन्छ ।
रामानन्द अनुसन्धान केन्द्र
यसैगरि महेश सन्यास आश्रमले भुमिदानको माध्यमबाट रामानन्द अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ । दाताहरुले उपलब्ध गराएको भुमि वापतको रकमबाट आश्रमले वैदिक वाङ्मय, पुर्विय दर्शन, धर्म संस्कृतीको चिन्तन तथा ज्ञानविज्ञानको अध्ययन तथा अनुसन्धानकोलागि रामानन्द अनुसन्धान केन्द्रको भवन निर्माण गर्ने भएको हो । अनुसन्धानकेन्द्र निर्माणकोलागि देवघाट गाउँपालिका–५ स्थित गोहीटार नजिक १९ रोपनी जग्गा खरिद गरिसकिएको आश्रमले जनाएको छ । करिब ४ करोडको लागतमा उक्त जग्गा खरिद गरिएको र उक्त रकम दाताले नै उपलब्ध गराउँदै आएको आश्रमले जनाएको छ ।
दाताको सहयोगकोलागि आश्रमले भुमिको मुल्यांकन गरि रकम नै उपलब्ध गराउन सकिने व्यवस्था मिलाएको छ । त्यसकोलागि १ रोपनीको २४ लाख १ रुपैयाँ, ४ आनाको ६ लाख १ रुपैयाँ, १ आना भुमि बराबरको रकम १ लाख ५० हजार, १ पैसा भुमिको रकम ४० हजार र १ दाम भुमिको रकम बराबर ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । वैदिक वाङ्मय र ज्ञानविज्ञानको अध्ययन तथा अनुसन्धानार्थ महेश–संन्यास–आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको भौतिक विकास तथा विस्तारका लागि हालसम्म धेरै भक्तजनले भुमि दान गरिसकेको आश्रमले जनाएको छ ।
उक्त जग्गा खरिद गरिएको रकम भुमिदानको माध्यमबाट संकलन भएपछि आश्रमले बृहद अनुसन्धान केन्द्रको निर्माण कार्य सुरु गर्ने भएको छ । हाल उक्त रामानन्द अनुसन्धान केन्द्र महेश सन्यास आश्रमको भवनमा नै सन्चालन भईरहेको छ । अनुसन्धान केन्द्रको नयाँ भवन निर्माण भईसकेपछि उक्त स्थानबाट अनुसन्धान केन्द्र सन्चालन गरिने हुँदा हाल आश्रमबाट नै अनुसन्धान केन्द्र सन्चालन भईरहेको छ ।
वर्तमानको युगीन आवश्यकताअनुसार संस्कृत वाङ्मयका प्राचीन ज्ञानविज्ञानको आधुनिक पद्धतिले अनुसन्धान गरेमात्र प्रविधिमैत्री नयाँ पुस्तालाई प्रशिक्षित गर्न सकिने भएको छ । यसका साथै नेपालको प्राचीन ज्ञान गौरवलाई विश्वसामु परिचित गराउन र यसको ज्ञानसम्पदाबाट विश्वलाई लाभान्वित तुल्याउन समेत संस्कृत वाङ्मय एवम् नेपाली माटोमा हुर्केका विविध सांस्कृतिक परम्पराहरूको गहन अनुसन्धान अपरिहार्य बनेको छ । यो आवश्यकताको पूर्ति एउटै गुरुकुलबाट मात्र नहुने भएकाले महेश संन्यास आश्रमले नेपालभरका गुरुकुलहरूमा उत्पादित जनशक्तिलाई विश्वस्तरीय अनुसन्धान कार्यमा संलग्न गराउन र परस्पर सहकार्यको आधार उपलब्ध गराउनका लागि अनुसन्धान केन्द्रको अवधारणा अघि बढाएको हो ।
अनुसन्धान केन्द्रका शिवसङ्कल्पकर्ता सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नाममा अनुसन्धान केन्द्रका प्रस्तावक महेश संन्यास आश्रमका वर्तमान अध्यक्षको अवधारणा अनुसार नेपालको सनातन ज्ञानसम्पदा, बृहत्तर संस्कृत वाङ्मय र परम्परागत ज्ञानविज्ञानका विविध पक्षहरूको आधुनिक प्रविधिले अध्ययन, अनुसन्धान गर्ने अनुसन्धान केन्द्रको रूपमा वि.सं २०७८ आषाढ ६ गते औपचारिक स्थापना भएको हो ।
श्रोतः महेश सन्यास आश्रम, देवघाट