सुंगुर, बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवरबारे बन्दिपुरका कृषकहरुसँग अन्तरक्रिया

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत १५

बन्दिपुर गाउँपालिका पशुपन्क्षी तथा मत्स्य विकास शाखाको आयोजनामा अफ्रिकन स्वाइन फिवर सम्बन्धी कृषकहरूसँग एक दिने सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बन्दीपुर गाउँपालिका भित्रका बंगुर र सुंगुर पाल्ने व्यवसायिक कृषकहरुलाई अफ्रिकन स्वाइन फिवर रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरू अपनाई उक्त रोगबाट बचाउन पशु स्वास्थ्यको सुनिश्चितता, पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा व्यावसायिक बंगुर तथा सुंगुर पाल्ने कृषकहरुलाई अफ्रिकन स्वाइन फिवर रोगबारे जानकारी, रोगका लक्षणहरू, रोग सर्ने तरिकाहरू, रोग लाग्न सक्ने पशुहरू र रोकथाम तथा सरोकारवालाको भूमिकाको बारेमा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराका वरिष्ठ पशु चिकित्सक डाक्टर किरण पाण्डे, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.राजेशकुमार चौधरी, बन्दीपुर गाउँपालिकाका बन्दिपुर गाउँपालिका पशुपन्क्षी तथा मत्स्य विकास शाखाका प्रमुख मधु न्यौपाने, भानु नगरपालिका पशु शाखाका प्रमुख अमित ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खत्री क्षेत्री, वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष दानबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमपछि बंगुर पालक कृषकहरुलाई उक्त रोगबाट सुंगुर तथा बंगुरमा लाग्न नदिनकोलागि प्रयोग गर्ने औषधीहरु वितरण गरिएको थियो ।

के हो अफ्रिकन स्वाइन फिवर ?

विशेषगरि घर पालुवा सुंगुर र बंगुर तथा जंगली बँदेलमा लाग्ने यो रोग अफ्रिकन मुलुक केन्याबाट उत्पती भएको मानिन्छ । यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो । त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम, लाओस, म्यानमार, भुटान हँुदै २०७७ बैशाखमा भारतमा देखा पर्यो । विगत ५ महिनादेखि अफ्रिकन स्वाइन फिवर नेपालका काभ्रे, कास्की, झापा लगायत विभिन्न स्थानमा फैलिदा हजारौ बंगुर मरेर ठूलो धनराशिको क्षति भएको थियो ।

अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेलमा भाइरसले लगाउने उच्च मृत्युदर भएको महामारी सरुवा रोग हो । एसफरभाईरिडी परिवारको भाईरसले लगाउने यो रोग जीवित तथा मरेको सुंगुर बंगुरको सिधा सम्पर्कबाट सर्दछ ।

कपडा, जुत्ता, बंगुरको दाना र फोहोर खानेकुरा, सवारी साधन तथा उपकरणहरुको प्रत्यक्ष सम्पर्क र अरनिथोडिरस प्रजातिको किर्नाको टोकाईबाट समेत यो रोग बंगुरमा सर्दछ । सिमाबिहीन रोग भएकाले एक देशबाट अर्को देशमा सहजै सर्ने यो रोग मानिसमा भने लाग्दैन ।
यो रोग लागेमा उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, वान्ता गर्ने, छेर्ने, छ्टपटाउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, गर्भवती बंगुर तुहिने जस्ता लक्षण देखा परी सतप्रतिशतसम्म बंगुरको मृत्यू हुने गर्दछ ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन । त्यसैले, अफ्रिकन स्वाइन फिवर रोगको प्रकोप भएका देशहरुबाट जीवित बंगुर, बंगुरको वीर्य, बंगुरको मासु वा अन्य बंगुरजन्य पदार्थहरु आयातमा रोक लगाउनु पर्दछ । सीमा नाकाहरुमा रहेका क्वारेनटाईन कार्यालयहरुलाई चुस्तदुरुस्त राख्नुपर्दछ ।

यो रोग नियन्त्रणमा बंगुरपालक किसानहरुको भूमिका महत्वपूर्ण हुन्छ । सकेसम्म यो रोग आफ्नो खोर वातावरणमा आउन नदिन बंगुर फर्ममा अधिकतम जैविक सुरक्षाको विधिहरु अबलम्बन गर्नुपर्दछ । समयमै रोगको निदान गर्न रोगको लक्षण देखिएका र शंका लागेका बंगुरहरुलाई बथानबाट छुट्टाएर राखी परीक्षणको लागि नजिकको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाउन पर्दछ । बंगुर पालिएको खोर वरपर नियमित सरसफाई गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन तथा बजारमा उपलब्ध निष्क्रमण रसायनको प्रयोग गर्नु पर्दछ ।

साथै, रोग फैलिन नदिन मरेको बंगुरलाई पशु चिकित्सकको सल्लाहमा उपयुक्त विधिद्वारा नष्ट गर्नुपर्दछ । जंगली बँदेल घरपालुवा बंगुरको सम्पर्कमा आएमा यो रोग सर्ने संभावना हुने भएकाले बंगुरको खोरलाई चारैतिरबाट तारबार गर्नुपर्दछ ।

नेपालको धेरै बंगुरपालक किसानहरुले अझै पनि होटल रेस्टुरेन्ट, बधशाला र मासु पसलबाट निस्कने फोहोर खानेकुराहरु खुवाएर बंगुरपालन गर्ने गरेका छन् । यस्ता फोहोर खानेकुराहरुमा अफ्रिकन स्वाइन फिवरको बिषाणु मिसिन सक्ने संभावना भएको हुँदा यस्ता सडेगलेका खानेकुराहरु बंगुरलाई खुवाउनु हुँदैन।

अफ्रिकन स्वाइन फिवर कुनै फर्ममा देखा परेमा बर्डफ्लू जस्तै यथाशीघ्र फर्मलाई शिल गरी सम्पूर्ण बंगुर नस्ट गरी वातावरणलाई निसंक्रमण गर्न सके रोग फैलन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण