देवघाट, चैत १७
राष्ट्रपती रामचन्द्र पौडेलले देवघाटधामको विकासकोलागि सबैसँग हातेमालो आवश्यक भएको बताएका छन् । चितवनको भरतपुर–१ ठिमुरा र तनहुँको देवघाट–५ जोड्ने त्रिशुली नदीको पक्की पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपती पौडेलले सबैको समन्वय र सहकार्यमा यस धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नु पर्ने बताए ।
संविधानले आफुलाई देशको अभिभावकिय भुमिकामा पु¥याएपनि आफु तनहुँ जिल्लाको विकासको काममा पछि नहट्ने राष्ट्रपती पौडेलले बताए । ‘संविधानले मलाई राजनीति नर्ग रोकेको छ’ राष्ट्रपती पौडेलले भने म राजनीति गर्दिन तर विकासबाट हात झिक्दिन ।’
भौतिक पुर्वाधार तथा यायतात मन्त्रालय सिंहदरबारद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपती पौडेलले सरकारले धेरै योजना अघि सारेको र ति सबै योजनाहरु अलपत्र परेको बताए । ‘जहाँ स्थानीय मान्छे लागि परेका छन् त्यही मात्र योजना सम्पन्न भएको छ’ पौडेलले भने ‘ग्राउन्ड लेभलमा बसेर योजना सम्पन्न गर्न खोज्नेहरुलाई सरकारले बुझ्नुपर्छ ।’
दासढुङ्गा पुलले देवघाटको माथिल्लो भागलाई जोडेको छ भने यो पुलले देवघाटधामलाई सिधै नारयणगढसँग जोडेको राष्ट्रपती पौडेलले बताए । यो एउटा पुल मात्र नभएर देवघाटको समृद्धीको ढोका समेत हो । यसले देवघाटका जनताको आर्थिक विकासमा ढोका खोलेको छ । पुल निर्माणको क्रममा पटक पटक विभिन्न अवरोध आएपनि त्यसलाई चिरेर पुल निर्माण भईछाडेको उनले बताए । आफ्नो मन्तव्यको सुरुमै राष्ट्रपती पौडेलले पुल निर्माणको क्रममा पुल भत्किएर मृत्यु भएका ३ जना मजदुरहरुलाई श्रद्धान्जली दिएका थिए ।
भरततपुर भ्रमण वर्षको प्रभावकारीताकोलागि पर्यटनको विकासको विकास हुनुपर्ने भन्दै राष्ट्रपती पौडेलले कालिगन्डकी र त्रिशुलीमा त्रिकोणात्मक पुल बन्नुपर्ने बताए । साथै अहिले चालु रहेका पुलको मुखहरुमा सुन्दरपार्कहरु बन्नुपर्ने बताए । पौडेलले भने ‘त्यसकोलागि स्थानीय तहले ध्यान दिओस, सार्वजानिक जग्गाहरुको संरक्षण हुनुपर्छ, सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने छाडा राजनीतिको अन्त्य हुनुपर्छ ।’
राष्ट्रपतीमा निर्वाचित भएपछि देवघाट आउने आफ्नो चाहाना भएपनि विविध कारणले ढिलाई भइरहेकोमा अहिले यती महत्वपुर्ण पुलको उद्घाटनमा आउन पाउँदा गर्व लागेको उनले बताए । ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको देवघाटधामको विकासकोलागि सबैले पहल गर्नुपर्ने भन्दै पौडेलले देवघाटधामको विकासकोलागि आफ्नो ठाउँबाट सक्दो काम गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघुविर महासेठले कुनै पनि योजना अलपत्र पर्न नदिईने बताए । अलपत्र परेका योजनलाई बजेट विनियोजन गरेर पुरा गराउने मन्त्री महासेठको भनाई थियो । मन्त्री महासेठले निर्माण सम्पन्न भईसकेका योजनाहरुमा निर्माण व्यवसायीलाई भुक्तानी दिने प्रक्रिया सुरु भईसकेको बताए । चितवनको नारयणगढ र नवलपुर जोड्ने पुर्व पश्चिम राजमार्गमा नारयणी नदीमा नेपालकै आकर्षक सिग्नेचर पुल निर्माणको काम अव चाँडै नै सुरु हुने उनको भनाई थियो ।
सो कार्यक्रममा गन्डकी प्रदेशका मन्त्री महेन्द्रध्वज जिसि, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, सडक विभागका महानिर्देशक शुशिलबाबु ढकाल, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।
उक्त पुल निर्माणकोलागि २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणीले संयुक्त रूपमा लिएका थिए । सम्झौता अनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपर्नेमा पटक पटक म्याद थपेर पछिल्लो पटक काम सक्नुपर्ने समयसीमा २०७८ असार १२ सम्म तोकिएको थियो ।
पुल सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा पछि लागत बढेर २१ करोड ६८ लाख पुगेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहेको छ ।
निर्माणको क्रममा ठेकेदारको लापरवाहीको कारण उक्त पुल दुई पटक भत्किएको थियो । पुल भत्कँदा ३ जना मजदुरको मृत्यु भएको थियो । पहिलो पटक २०७७ चैत २४ गते विहान पुल भत्किएको थियो । सो क्रममा कुनै मानवीय क्षती भने भएन । दोश्रो पटक २०७८ बैशाख १२ गते पुल भत्कँदा ३ जना मजदुरको नदीमा डुबेर मत्यु भएको थियो । मजदुरले काम गरिरहँदा एक्कासी पुल भत्किएको थियो, सो क्रममा मजदुरहरु नदीमा खसेका थिए ।
निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको थियो । निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा ढिलाई भएको थियो । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको हो ।