द्वन्द्व पीडित महिलाहरुले अझैसम्म न्याय र राहत नपाएको गुनासो

Devghat Online

शेयर गरौ

दमौली, चैत २९

तनहुँका द्वन्द्व पीडित महिलाहरुले अझैसम्म राहत र न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्व पीडित राष्ट्रिय महिला सन्जाल तनहुँको आयोजनामा विहिबार सम्पन्न ‘द्वन्द्व पीडित महिलाका समस्या र सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने द्वन्द्व पीडित महिलाहरुले अझैपनि आफुहरुले न्याय र राहत नपाएको गुनासो गरे ।

द्वन्द्व पीडित महिला सन्जाल तनहुँकी अध्यक्ष सीता कैनीले आफ्ना परिवारको सदस्य मारिएको लामो समय भईसक्दा पनि राज्यले अझैसम्म न्याय र परिपुरणको व्यवस्था नगरेको बताइन् । क्षतीपुर्ती स्वरुप १० लाख र शहिद परिवारको नाम बाहेक राज्यले आफुहरुलाई केही पनि नदिएको उनको भनाई थियो । द्वन्द्व पीडित महिलाहरु घर परिवारमा आर्थिक तथा सामाजिक हिंसामा परेको, उनीहरुलाई पारिवारिक अंश पाउन कानुनी संघर्ष गर्नु परेको उनको भनाई थियो ।

यसैगरि अर्की द्वन्द्व पीडित मधु अधिकारीले आफ्नो छोराछोरी १८ वर्ष पुगेपछि राज्यले छात्रबृत्ती नदिएको भन्दै पीडितका छोराछोरीले १८ वर्ष पछि पढ्नु पर्दैन भन्ने प्रश्न गरिन् । उनले द्वन्द्व पीडित परिवारलाई सिपमुलक तालिम तथा सजहरुपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने बताइन् ।

कार्यक्रममा द्वन्द्वपपीडित पुजा नेपाली, सावित्रा कडेंल, तिलका रानाभाट, मिनु गुरुङ, जनक पन्थ, सनीमाया भुजेल, पवित्रा शर्मा लगायतले घाईते अपाङगहरुको उपचार गर्नुपर्ने, छोराछोरीलाई उच्च शिक्षासम्म छात्रबृत्ती दिनुपर्ने, स्थानीय तहले रोजगारी सिर्जना गर्दा द्वन्द्व पीडितका छोराछोरीलाई प्रथामिकतामा राख्नु पर्ने, द्वन्द्व पीडितहरुलाई परिचयपत्र दिनुपर्ने, सिपमुलक तालिम तथा औषधी उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

सो कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले द्वन्द्व पीडित महिलालाई सिप मुलक तालिम र रोजगारीको अवसर सिर्जना गर्ने बताए । साथै नगर क्षेत्रका द्वन्द्व पीडितका छोराछोरीलाई नगरपालिकाको तर्फबाट छात्रबृत्ती उपलब्ध गराउने पनि मेयर न्यौपानेले बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले द्वन्द्व पीडितहरुको सुचिकरणको आधारमा राज्यले पटक पटक क्षतीपुर्ती उपलब्ध गराएको बताए ।अझैपनि कतिपय द्वन्द्व पीडितहरु राहत पाउनबाट बन्चित भएको भए स्थानीय तहबाट सिफारिस सहित प्रमाण पेश गरेमा आफुले गृहमन्त्रालयको सम्बन्धित शाखामा सिफारिस गर्ने बताए । द्वन्द्व पीडितहरुलाई रोजगार र सिपमुलक तालिम उपलब्ध गराउन नीति बनाउनु पर्ने प्रजिअ गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले कुनै द्वन्द्व पीडित घरेलु हिंसामा परेको भए आफुलाई जानकारी गराउन र न्यायको लागि पहल गर्ने बताए । नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल र नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिताराम सुर्खालीले पीडितहरुको सहयोगको लागि राजनीतिक दल सँधै साथमा रहेको बताए ।

द्वन्द्व पीडित महिला सन्जाल तनहुँकी अध्यक्ष सीता कैनीको अध्यक्षतामा भएको सो कार्यक्रममा अधिवक्ता सरिता थापा भण्डारी र इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले द्वन्द्व पीडितहरुको अवस्था र सवालको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा जिल्लाका विभिन्न स्थानका द्वन्द्व पीडित महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू