मातातिर्थ औंशीमा देवघाटको बद्धाश्रममा दाताको भिड

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २६

माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा बुधबार देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रीत जेष्ठ नागरिकलाई भेटघाट गर्न विहानैदेखी दाताहरुको भिड लागेको थियो ।

विभिन्न ठाउँ बाट आएका संघ संस्था तथा व्यक्तिहरुले बृद्धाश्रममा आश्रीत जेष्ठ नागरिकलाई भेटी फलफूल, लत्ताकपडा भोजन तथा दान दक्षिणा उपलब्ध गराएका थिए । आमाको मुख हेर्ने औंशीको सन्दर्भ पारी बृद्धाश्रममा बिहानै देखि भीड लागेको बृद्धाश्रमले जनाएको छ ।

यस पुण्य तिथिमा आफ्ना आमाहरु गुमाउनु भएकाहरु त्था विभिन्न संघ संस्थाले आश्रममा आएर आश्रमका बुवा आमाहरुलाई भोजन तथा जिन्सी सामग्री हरु उपलब्ध गराएको आश्रमले जनाएको छ । आश्रमका वुवा आमाहरुलाई माया गरी हाम्रो आश्रमलाई सहयोग गर्ने सबैमा आश्रमले आभार व्यक्त गरेको छ ।

दाताको भरमा सन्चालित छ बृद्धाश्रम

देवघाट क्षेत्र विकास समिति मातहत सन्चालित उक्त बृद्धाश्रम दाताको भरमा नै सञ्चालन भईरहेको छ । बृद्धाश्रम सञ्चालनको लागि चालु आर्थिक वर्षमा कुनै पनि तहको सरकारले बजेट उपलब्ध नगराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं बृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए । सरकारले बजेट उपलब्ध नगराउँदा बृद्धाश्रम सञ्चालन गर्न कठिनाई भइरहेको बृद्धाश्रमका अध्यक्ष बरालले बताए ।

सरकारबाट बजेट प्राप्त नहुँदा बृद्धाश्रम सञ्चालन गर्न दाताहरूलाई गुहार्नु परेको बरालले बताए । चालु आर्थिक वर्षमा गन्डकी प्रदेश सरकारले भान्साकोठा निर्माणकोलागि भने ७ लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यबाहेक अन्य कुनै पनि आर्थिक सहयोग र अनुदान प्राप्त नभएको बरालले बताए ।

उक्त बृद्धाश्रममा १७ पुरूष सहित ३२ जना बृद्धबृद्धा आश्रित छन् । अधिकांश दाताहरूले जन्मदिन, पितृहरूको पुण्यतिथी, वैवाहिक वार्षिकोत्सव या अन्य कुनै दिनका अवसर पारेर बृद्धबृद्धालाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइरहेको बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटाले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफुल सबै दाताहरूले नै उपलब्ध गराइरहेका छन् ।

देवघाट क्षेत्र विकास समिति संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत रहेपनि बृद्धाश्रम भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित छ । बृद्धाश्रममा आश्रित बृद्धबृद्धाको खानपिन तथा अन्य कार्यका लागि बजेट उपलब्ध नभएपनि आश्रममा कार्यरत व्यवस्थापक, भान्से र सहयोगी सहितको कर्मचारीको लागि मासिक पारिश्रामिक भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजन भईरहेको छ । आश्रममा १ जना व्यवस्थापक, २ जना भान्से, २ जना सुसारे र १ जना चौकीदार गरि ६ जना कर्मचारी रहेका छन् ।

कुनै दाताहरूले बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाना खुवाउन चाहेमा अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्थापक सापकोटाले बताइन् । ३२ जना बृद्धबृद्धाका लागि एक छाक दाल, भात, पनिरको तरकारी साथमा दुध, दही सहितको सादा खाना खुवाउन चाहेमा ८ हजार तथा दाल भात र सादा तरकारीको खानाको लागि ४५ सय रुपियाँ तोकिएको सापकोटाले जानकारी दिइन् ।

अधिकांश दाताले समितिले तोकेको रकम उपलब्ध गराउँछन् भने केहीले आफैँले खाना र फलफुल ल्याएर उपलब्ध गराउने गरेको सापकोटाले जानकारी दिइन् । सरकारले चालु आर्थिक वर्षमा सन्चालन बजेट नदिँदा खर्च विहीन भएको समितिले यस आर्थिक वर्षको पुरै ३ सय ६५ दिनको लागि नै दाता खोज्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक बरालले बताए ।

यसको लागि विभिन्न व्यवसायी र समाजसेवीहरूलाई अनुरोध गरिएको समितिले जनाएको छ । हालसम्म देवघाट सहित चितवन भरतपुर, नवलपरासी गैँडाकोट, मुग्लिन र दमौलीका समाजसेवीहरूले बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न उपलब्ध गराउँदै आएको सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू