दमौली, जेठ ९
भानु नगरपालिका वडा नम्बर ४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदीरम्घाको डाँडामा ‘भानु साहित्य उद्यान’ कार्यक्रम सञ्चालन गर्न सरकारले भानु नगरपालिकालाई वि.सं. २०७८ मा दुई करोड रुपैयाँको स्रोत सुनिश्चित गरी सोही वर्ष एक करोड रुपैयाँ निकासा भएको भानु नगरपालिकाले जनाएको छ । रकम सुनिश्चितता पछि भानु नगरपालिकाले ४२१ रोपनीभन्दा बढी जग्गाप्राप्तिको प्रक्रिया अघि बढाई जग्गाधनीहरुलाई मुआब्जा वितरण गर्दै आइरहेको छ ।
उक्त आयोजनाकालागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण र भानुको सालिक निर्माणजस्ता कार्यहरु प्रारम्भ गर्न नेपाल सरकारले चालु आ.व. २०८०÷८१ मा पुनः पाँच करोड थप विनियोजन गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । हालसम्म ४२१ रोपनी जग्गाको अधिग्रहणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भईसकेको छ ।
विज्ञ समूहको बैठकमा प्राप्त सुझावका आधारमा तयार पारिएको अवधारणाको परिमार्जित रुप २०८० मा काठमाडौंमा समपन्न गैरआवासीय नेपालीहरुको अधिवेशनमा विशेष समय लिई प्रस्तुत गरिएको थियो । सोही अवधारणा गत फागुन १६ मा भानु नगरपालिकाको आयोजनामा राष्ट्रपति निवासको सभाकक्षमा आयोजित बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा थप परिमार्जन सहित प्रस्तुत गरिएको थियो । बैठकमा सांसदहरु, वरिष्ठ साहित्यकार, समालोचक, कलाकारसहित एक सयभन्दा बढी विज्ञहरूको उपस्थिति रहेको थियो ।
बैठकमा छलफलका निम्ति वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा चुँदीरम्घा डाँडामा निर्माण–परिकल्पना गरिएका प्रारम्भिक तस्विर (रेखाचित्र) सहित अवधारणापत्र प्रस्तुत गरिएको थियो । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण परिकल्पनाको प्रारम्भिक तस्बिर (रेखाचित्र) स्केच गर्ने कार्य सम्पन्न गरि मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । अव ६ वर्षको अवधि भित्र उत्कृष्ट साहित्यिक र सांस्कृतिक गन्तव्यको रुपमा निर्माण र विकास गर्ने पनि मेयर त्रिपाठीले घोषणा गरेका छन् ।
प्रस्तावित संरचना भित्र समेटिएको प्रमुख निर्माण परिकल्पनाहरुमा भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, प्रवेशद्वार, बस्ती तथा बजार क्षेत्र, मनोरञ्जन वनभोज स्थल, पार्किड स्थल, प्राकृतिक वन–विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र, साहित्यिक पदमार्ग आदि रहेका छन् ।
भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु एंव नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गर्नु रहेको छ ।
यसै अनुरुप संस्थाले रम्घाकोट (रम्घाको डाँडो) मा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने, भानुभक्तको कृतित्वलाई जीवन्तता दिन रम्घाको डाँडामा रामायण मन्दिर निर्माण गरी प्रमुख चरित्र (राम, सीता) का मुर्ति स्थापना गर्नु र रामायणमा वर्णित स्थान, घटना र परिवेशलाई विभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने, नेपालको सामाजिक तथा सांस्कृतिक एकिकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्ने उद्देश्य लिएको छ ।
त्यसैगरि रम्घा डाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्ने भानु साहित्य बाटिका निर्माण गरी नेपालका स्थापित कवि र साहित्यकारहरुका प्रतिमा स्थापना गर्ने, भानुभक्तका कृति, योगदान एंव नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय÷सङ्ग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने तथा भानुभक्तको जीवनीमा आधारित रही भानुभक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानहरुलाई जोड्ने गरी भानु परिक्रमा मार्ग (भानु सर्किट) को विकास गर्ने मुख्य उद्देश्य राखेको मेयर त्रिपाठीले बताए ।