गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २४

देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको बार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९ औं स्मृति दिवसको अवसरमा जेठ २६ गते शनिबार आश्रममा विभिन्न कार्यक्रम गरिने भएको छ ।

आश्रमका पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा हुने उक्त कार्यक्रममा बृहत धार्मिक अनुष्ठान, स्मृति सभा तथा विशाल भन्डाराको कार्यक्रम आयोजना गरिएको गलेश्वर आश्रमले जनाएको छ । आश्रमका अनुसार उक्त कार्यक्रम विहान ९ बजेबाट हुनेछ ।

तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि.सं.२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।

गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको स्थापना गरेका थिए । उक्त विद्यालयको अभिलेख अनुसार विद्यालयले वि.सं.२०२४ साल चैत्र १२ गते अस्थायी अनुमति पाई गुरुकुलीय पद्धति अनुसार वेदाध्ययन गराउँदै आएको छ ।

वि.सं.२०५३ सालमा उक्त आश्रमलाई भौतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्नसक्ने योग्य तपोनिष्ठ क्षमतावान् सन्त हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज पिठाधिश भएका थिए । तत्पश्चात उनकै नेतृत्वमा आश्रमले संस्थागत विकास गर्दै आएको छ । हाल आश्रमले भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र शैक्षिक विकासमा पूर्णता प्राप्त गर्न सफल भएको छ ।
आश्रम अन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी सिद्धेश्वर महादेव, ज्योतिर्लिङ्गश्वर महादेव, गङ्गामाला मन्दिर, सहक्षल्पेश्वर हनुमान मन्दिर राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर रहेका छन् ।

आश्रम अन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन । तीर्थयात्रीका लागि निशुल्क वास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रम अन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिव सय कोठाको साधक भवन रहेको छ । करिव रु १५ करोड लगानीमा वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
गलेश्वर आश्रम सन्चालनकालागि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा १३ सदस्यिय सञ्चालक समिति पनि रहेको छ ।

आश्रममा आश्रित साधु–सन्त, भक्तजन, वृद्धवद्धा, वेद वेदाङ्ग विद्यालयका अध्यापक, अध्येता, ब्रह्मचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक) निःशुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ । ३ सय जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ ।

स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम १५ हजार रुपैयाँसम्म रकम जम्मा गन सक्ने व्यवस्था रहेको छ । सो को व्याजबाट अन्नक्षेत्र नियमित रुपमा सञ्चालन भएको छ । दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ । पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित स्द्राभिषेक गर्ने गरिन्छ ।

विभिन्न पुराणहरूमा कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगमस्थल, आदिप्रयाग, हरिहर क्षेत्र, देवताहरूको तपोभूमिजस्ता अनेक नामले देवघाटको वर्णन गरिएको छ । यसै पवित्र पावन क्षेत्रमा वैदिक सनातन धर्मसंस्कृति र संस्कृत वाङ्मयलाई हृदयङ्गम गर्दै वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले श्री वेद वेदाङ्ग विद्यालयको स्थापना गर्नुभएको थियो । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठी अन्तर्गत श्री गलेश्वर आश्रमबाट सञ्चालनमा रहेको छ ।

समयको अन्तरालसँगै विद्यालयले विभिन्न अप्ठ्यारा सप्ठ्यारा परिस्थितिहरू पार गर्दै आइरहेको छ । विगतमा विद्यालय सञ्चालन गर्नका निमित्त ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)को अमूल्य योगदान रह्यो । गलेश्वर बाबापश्चात् उहाँका उत्तराधिकारीहरु क्रमशः श्री १००८ स्वामी आशुतोषानन्द(दण्डी स्वामी) तथा श्री १००८ स्वामी परमानन्द सरस्वती तथा हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि महाराजलको संरकक्षकत्वमा उक्त विद्यालय सन्चालन भईरहेको छ । यसलाई सञ्चालनार्थ अक्षयकोषको स्थापना गरी विभिन्न भक्तजन, धर्मानुरागी महानुभावहरूबाट प्राप्त सहयोगबाट निःशुल्क भोजन सुविधा सम्पन्न आवास तथा प्राथमिक औषधो पचारसहित आधुनिक पद्धतिअनुसारको गुरुकुलीय संस्कृत शिक्षा प्रदान भइरहेको छ ।

अस्थायी रूपपमा सञ्चालन भई पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९ र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट एसएलसी परीक्षा बोर्डमा आबद्ध भएको थियो । २०७५ सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा प्रदान गरिएको छ ।

वि.सं.२०५७ सालदेखि आत्मानन्द धर्मार्थ औषधालयको रुपमा सञ्चालनमा रहेको औषधालयलाई हाल देवघाट घर्मार्थ अस्पतालको नामबाट सञ्चालन गरिएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरणका साथै असक्त बिरामीहरूको सेवा गर्न १५ शैयाको लागि भौतिक संरचना तयार छ । देवघाट धर्मार्थ अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले व्यवस्थापनमा आश्रमको सहभागिता सहित मिति २०७५ श्रावण १ गतेदेखि यस अस्पताल देवघाट गाउँपालिकालाई सञ्चालनको दायित्वसहित हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको