देवघाट, साउन ६
आज गुरुपूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ हो–अन्धकार एवं ‘रु’ को अर्थ हो–प्रकाश । ‘गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ ।
गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा समेत मनाइन्छ । वेद व्यासले वेद–वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छन् । गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो– बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ ।
‘आज गुरु पुर्णिमा तथा व्यास जयन्तीगुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः’ अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ ।
आज गुरुपुर्णिमा तथा व्यास जयन्तीको अवसरमा तनहुँको व्यास नगरपालिकाले नगरपालिका भित्र सार्वजानिक बिदा दिएको छ । धर्मशास्त्रमा व्यासको जन्म तनहुँको दमौली स्थित सेती र मादी नदीको किनारमा भएको मानिन्छ । यसकारण पनि व्यास जयन्तीलाई दमौलीबासीले उल्लास पुर्वक मनाउने गर्छन् । सेती र मादीको संगममा रहेको व्यास गुफामा बसेर व्यासले अठ्ठार पुराण र चार बेदको रचना गर्नु भएको मानिन्छ । गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् ।
द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र आजको दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।