शेषमणी आचार्य
नेपालको समकालीन इतिहासमा अचेल सर्वाधिक चर्चित र भजन गाइने दुई महापुरुषको स्मृति दिवस यही साउनको ६ र ७ गते मनाईयो । यी महापुरुषको भजनकीर्तन गर्ने समूह र व्यक्ति पनि सामाजिक सञ्जालमा व्यस्त छन् । त्यसमा पुछारको लाइनमा म पनि अब सामेल भएको छु ।
सर्वप्रथम म ती महान् पुरुषहरू प्रति भावपूर्ण श्रद्धा सुमन चढाउँछु, यो मेरो औपचारिक धर्मको निर्वाह हो, यति सम्झिदिनुहोला ।
म किन यी व्यक्तित्वलाई सम्झन्छु !
केही भन्न चाहेँः
१) वीपी कोइराला बारेः
मेरो पुस्ताको कुनै पनि सचेत व्यक्ति एकपटक विपी कोइरालाको प्रशंसक नभएको नहोला ! मैले जानेदेखि नै विपीबारे सुनेको हूँ ! मलाई उनबारे जानकारी दिने मेरा मातामह विष्णुहरि खनाल हुनुहुन्थ्यो । उहाँ २००६ सालको हलोजोत आन्दोलनको एक सक्रिय व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँ हाम्रो घर आइरहनु हुन्थ्यो । उहाँ आएपछि साँझ पिँढीमा गाउँले बाहरू आउने र राती तारा मध्य आकाशबाट तल नझर्दासम्म धाराप्रवाह उहाँको प्रवचन चल्दथ्यो, जसले मेरो सिंगो गाउँ काँग्रेस बन्यो, मेरो घर काँग्रेसीहरूको भान्साघर, वास–घर पनि बन्यो । मलाई यसले विपी कोइराला प्रति आकर्षित ग¥यो, यो मेरो बाल्यकालको कुरा हो । मलाई धेरै थाहा थिएन, १०४ वर्षसम्म राणा भन्नेहरूको एकतन्त्रीय शासनलाई हटाएर प्रजातन्त्र ल्याउने प्रमुख संघर्षका प्रमुख नेता विपि कोइराला हुन् भन्ने छाप परेको थियो । अहिले सम्झना आइरहेछ, १६÷१७ सालमा प्रधानमन्त्री विपीको देश भ्रमणको क्रममा पालुङटारमा उनलाई देख्ने अवसर मिलेको हो ।
२०१७ सालको घटनापछि म पनि अध्ययनको क्रममा काठमाडौं पुगेँ । त्यहाँ केही नयाँ कुराहरू थाहा भए, त्यसपछि विपी कोइरालाको त्यो जादु हट्न थाल्यो । त्यसपछि उनप्रतिको मेरो मोहभङ्ग भयो ।
मेरो संङ्गत वामपक्षीय साथीहरूसँग बढ्न थाल्यो । तथापि म विपीलाई केही विषयमा उच्च सम्मान गर्दछु । नेपाली समाजमा विपी कोइरालालाई नेपाली राजनीतिको एउटा मियोको रुपमा लिन सकिन्छ । उनी प्रजातान्त्रिक समाजका एक उदार समाजवादी धाराका नेता हुन् । यिनले प्रारम्भमा माक्र्सबाट प्रभावित भएपनि, यिनले लेनिनलाई केही स्पेस दिए पनि यिनको झुकाव वैज्ञानिक समाजवाद तर्फ रहेन । यी नेपालको सन्दर्भमा सम्बैधानिक राजतन्त्रको पक्षमा देखिन्छन् । यद्यपि यिनको राजा महेन्द्रसँग सुमधुर सम्बन्ध रहेको देखिन्न, यसो हुनुमा सैद्धान्तिक भन्दा व्यक्तित्वको टकराव नै देखिन्छ ।
राजतन्त्रसँग यिनको जति मोह भए पनि राजाले यिनलाई खेदिरहे । विपी कोइरालामा राजनीतिक रुपमा भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव, राममनोहर लोहियाहरूको प्रभाव रहेको पाइन्छ । यिनको अनुयायीको रुपमा नेपाली काँग्रेस दावी गर्दछ । तर यिनले अनुभवको क्रममा राजनीति, सत्ता, जनता,जस्ता विषयमा जुन विचार राखेका छन्, ती अहिले निकै चर्चित पनि छन् । पछिल्ला दिनमा यिनका “जेल जर्नल” “आत्मवृत्तान्त” जस्ता कृतिको प्रकाशन पछि यिनको बारे नेपाली बौद्धिक जगत्मा नयाँ धारणा देखापरेका छन् । जसमा यिनलाई एक देशभक्त राजनेताको रुपमा स्वीकार्न गर्न सकिने आधार देखिएका छन् । यी राजनीतिक रुपमा एक साहसिक नेताको रुपमा देखिन्छन् ।
प्रधानमन्त्री हुँदा यिनले ‘स्वतन्त्र’ विदेशनीति अँगाले । चीनसँग यिनले सन्तुलित नीति अवलम्बन गरे, नेपाल चीनको सीमाना सम्बन्धी केही समस्या समाधान गर्न यिनले कूटनीतिक चातुर्य देखाए । यिनको व्यक्तित्व बाट त्रसित महेन्द्रले यिन बिरुद्ध विद्रोह गरे । यसपछि निरन्तर जेल, निर्वासन, रोगसँग संघर्षमा यिनका दिनहरू बिते । समाजमा यी कम्युनिष्टहरूप्रति निकै अनुदार देखिन्छन् । नेपालमा यिनको जीवनभर कम्युनिष्ट काँग्रेस सहकार्य हुन सकेन, सम्भवै थिएन । तैपनि यी प्रष्टवादी राजनीतिक नेता हुन् । २०२८सालको कम्युनिष्ट झापा विद्रोहका क्रान्तिकारी हरूप्रति नेपालका कतिपय कम्युनिष्टहरू पनि विरोधी हुँदा यी भने झापाली क्रान्तिकारीहरूका प्रशंसक थिए । यसरी आफ्नो पार्टीको नेतृत्वमा चलेको सशस्त्र क्रान्तिमा एक नेताको हैसियतले क्रान्तिकारीको पक्षमा आफूलाई उभ्याएका थिए ।
विपी कोइरालाको जीवनको अर्को पाटोमा यिनको साहित्यिक पाटोलाई बिर्सन मिल्दैन । यिनले साहित्यमा हिन्दी भाषाबाट प्रवेश गरेका हुन् । यी नेपाली साहित्यमा पहिलो मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक हुन् । यिनले आफूलाई राजनीतिमा माक्र्सवादी र साहित्यमा अराजकतावादी मान्दछन् । मनोविज्ञानमा यी विशेष गरी फ्रायडीय चिन्तनबाट बढी प्रभावित छन्, तर यिनको यौन मनोविज्ञान पछिल्ला साहित्यकारको तुलनामा संयमित देखिन्छ । यौन बाहेक मनोविज्ञान का अरु पक्षमा पनि सफल आख्यानकार देखिन्छन् ।
कथामा– ‘दोषी चस्मा’ प्रसिद्ध कथासँग्रह हो । सुन्दरी जेलमा रहँदा प्रकाशित ‘तीन घुम्ती’ उपन्यास निकै विवादित र प्रसिद्ध पनि छ । यस्तै ‘नरेन्द्र दाइ’ पनि । यिनका उपन्यासहरुमा ‘सुम्निमा’ एक प्राक्ऐतिहासिक कथावस्तुमा आधारित छ । यी नेपाली साहित्यमा एक युगप्रवर्तक पनि हुन् । यिनको एकचालीसौँ स्मृति दिवसमा श्रद्धासुमन अर्पण गर्दछु ।
सन्दर्भः विपी र पुष्पलाल स्मृति दिवस
२) पुष्पलाल बारेः
त्यस्तै अर्का व्यक्तित्व पुष्पलालको ४६ औँ स्मृति दिवसपनि सँगै परेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस विपिको भोलिपल्ट परेको थियो । यो दिन पनि नेपालका बामपन्थीहरू तँछाडमछाड गर्दै पुष्पलाल प्रति श्रद्धाञ्जली अर्पण गरे । उनको नाममा गोष्ठी भए, नेताहरू कार्यकर्ताहरूलाई पुष्पलालको शिक्षा ग्रहण गर्न अर्ती उपदेश दिए । म पनि यही पङ्क्तिमा उभिएको छु ।
पुष्पलाल नेपालका अमर शहीद गङ्गालालका माइला भाइ हुन् । पुष्पलाल जीवनको प्रारम्भिक अवस्थामा नेपाली राष्ट्रिय काँग्रेसका केन्द्रीय सचिव थिए । तर यी रुसी बोल्शेभिक क्रान्ति, चिनिँया नव जनवादी क्रान्तिको प्रभावमा आए । यिनले नेपालीमा र नेपालमै पनि पहिलो मार्क्सवादी साहित्यको प्रवेश गराए । विख्यात कृति “कम्युनिष्ट पार्टीको घोषणापत्र १८४८” को नेपाली अनुवाद १९४९ अप्रिल ५ मा प्रकाशीत गरे र यिनको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको २००६ साल अप्रिल २२ मा स्थापना गरे । (यद्यपि पुष्पलालले लेख्नुभएको नेकपाको इतिहासमा १५ सेप्टेम्बरलाई पार्टीको स्थापना दिवस मानिएको छ ।)
अहिले यही पार्टीको उत्तराधिकारीको रुपमा नेपालका बग्रेल्ती कम्युनिष्ट संगठनहरू देखापरेका छन् । यदि पुष्पलाल जीवितै भए उनी कुन क.पा.मा हुन्थे, अनुमानको विषय हो ।
तर उनको सम्झना गरिरहँदा केही विषयमा जान्न मलाई चाहना भइरहेकोछः कम्युनिष्ट पार्टीको स्थापना हुँदा त्यतिखेर नै अरु कम्युनिष्ट पार्टीहरू पनि देखापरे,ती हुन्न् १) नेकपा (संस्थापक पुष्पलाल), २) नेपाल लाल कम्युनिष्ट पार्टी (संस्थापक ःगङ्गालाल हलुवाई) ३) अर्को कम्युनिष्ट पार्टी पनि थियो भन्ने सुनिन्थ्योः जनमुक्ति कम्युनिष्ट पार्टी (तर यसबारे अहिले चर्चा पाइन्न) ।
यसो हुँदा पनि तात्कालीन अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठनले पुष्पलालको कम्युनिष्ट पार्टीलाई मान्यता दियो ।
हामी अहिले यसकै नाम लिन्छौँ, पुष्पलाल यसका प्रमुख संस्थापक हुन् । पुष्पलाल नेकपाको प्रमुख संस्थापक महासचिव भए पनि यी पहिलो नेपाली कम्युनिष्ट भने रहेनछन् । अहिले सम्मको जानकारी अनुसार पहिलो नेपाली कम्युनिष्ट भने मनमोहन अधिकारी थिए भनिन्छ । नेकपाका संस्थापक ४÷५ जना थिए,तर नेपालका कम्युनिष्टहरू अरु पनि रहेछन्, जसमा केही नाम मनमोहन अधिकारी, केशरजङ्ग रायमाझीहरू पनि थिए भनिन्छ । नेकपाको स्थापना अगि काठमाडौँमा “नेपाल साम्यवादी संघ” तथा कतिपय अध्ययन मण्डल खुलिसकेका थिए अरे !
यस्ता विषयमा हाम्रो शोध किन हुन सकिरहेको छैन ?
कमरेड पुष्पलाललाई संझँदा उहाँका केही गुणहरूलाई बिर्सनु हुँदैनः
१)नेकपाको पहिलो संस्थापक महासचिव (महामन्त्री), २) कार्ल माक्र्स र फ्रेडरिख एंगेल्स एँगेल्सद्वारा रचित “कम्युनिष्ट पार्टीको घोषणापत्र”का पहिलो नेपाली अनुवादक, ३) नेपालको प्राक्ऐतिहासिक कालको मातृसत्तात्मक समाज बारेको पहिलो खोजकर्ता, ४) नेपालको इतिहासमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट अध्ययन गरिएको ऐतिहासिक टिप्पणी ।
यस बाहेक प्रजातान्त्रिक अपहरण पछि संयुक्त जनआन्दोलनको प्रस्तावक, प्रजातान्त्रिक अपहरण अगि पनि यसको सम्भावनाबारे जानकारी दिने पहिलो व्यक्ति,
५) निर्वासनमा रहँदा बारम्बार राजाको प्रलोभनलाईअस्वीकार गर्ने राजनेता । ६) जीवनको अन्तिम समयमा उचित उपचार पाउन नसकेका राजनेता !
अहिले पुष्पलाल हामीमाझ नहुनु भएको ४६ वर्ष र विपी कोइराला ४१ वर्ष पुगेको छ, यस अवधिमा नेपालको प्रजातन्त्र र समाजवादले के पायो जवाफ छैन । तर उहाँहरूका नाममा सडक, कलेज अस्पताल, स्मारकहरू स्थापित छन्, यिनले जनताको निम्ति देखेका सपना भने अलपत्र छन्, खैर यी ऐतिहासिक पुरुषहरुको सम्झनामा यी हरफ कोर्न उपयुक्त नै लाग्यो ! त्यसै गरेँ ! फेरि श्रद्धा सुमन !!