मर्स्याङ्दी कोरिडोरका १४ पालिकाले एकीकृत विकासका लागि साझा कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १६

मर्स्याङ्दी जलाधार क्षेत्रको एकीकृत विकास गर्न जलाधार क्षेत्रका स्थानीय सरकारहरू एकै ठाउँमा जुटेका छन् । तनहुँ सहित गोरखा, लमजुङ र मनाङका १४ स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले एकीकृत विकासका लागि साझा धारणा सार्वजनिक गरेका हुन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थित खानीगाउँमा बसेको बैठकले ५ बुँदे निर्णय गरी सम्बन्धित निकायमा दबाबको घोषणा गरेका छन् । उक्त बैठकले पालिकाले गर्न सक्ने काम यतै गर्ने र नसकेका काममा संघ र प्रदेशसँग अनुरोध गर्ने भन्ने निर्णय भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

खासगरी शिक्षा र कोरिडोर क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि बैठकमा ध्यानाकर्षण भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । प्राविधिक शिक्षामार्फत गाउँको बसाइँलाई फलदायी बनाउने र उत्पादनमा आधारित कार्यक्रम लागू गर्ने हाम्रो साझा विषय भएको बैठकले ठहर गरेको थापाले बताए ।

बैठकले भदौभित्रै लमजुङको सुन्दरबजारमा शैक्षिक गोष्ठी आयोजना गर्ने, वर्षाका कारण भएको धनजनको क्षतिको तत्काल राहत उपलब्ध गराउने, भदौमा काठमाडौँमा पूर्वप्रधानमन्त्री र मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि, विज्ञहरूको उपस्थितिमा स्कुल अफ म्यानेजमेण्टको बैठक बस्ने निर्णय गरिएको भानु गरपालिकाका प्रमुख त्रिपाठीले जानकारी दिए ।

यसअघिको बैठकले सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाको अध्यक्षतामा शिक्षा उपसमिति गठन गरेकोमा समितिले कोरिडोर क्षेत्रका विद्यालयको अवस्था र स्थायित्वका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गरेको छ । बैठकले करिडोरका पालिकाहरूबिचको सहकार्यलाई मजवुद बनाउँदै लैजाने निर्णय गरिएको थापाले बताए ।

खासगरी फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सञ्चालन, उद्योग स्थापना र सञ्चालन जस्ता क्षेत्रमा पालिकाहरूले एकीकृत रूपमा काम गर्न सकिने छलफलका सहभागीहरूले सुझाब दिएका छन् । समितिमा १४ पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सदस्य छन् ।

मर्स्याङ्दी जलाधार क्षेत्रको स्थानीय सरकारमा तनहुँको भानु नगरपालिका, बन्दिपुर र आँबुखैरेनी गाउँपालिका, गोरखाको पालुङटार, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका, लमजुङको राइनास, सुन्दरबजार र बेंशीसहर नगरपालिका तथा दोर्दी र मर्स्याङ्दी गाउँपालिका, मनाङको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिका रहेका छन् । समितिको अर्को बैठक कात्तिकको ९, १० र ११ गते मनाङको चामेमा बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको