दमौली, भदौ २७
एमसिसि परियोजना अन्तर्गतको प्रशारण लाइनको लागि विद्युत टावर रहने जग्गाको मुल्य निर्धारण गरिएको छ । मुल्य निर्धारण समितिको बुधबार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको बैठकले प्रशारण लाईन अन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मुल्य निर्धारण गरेको मुल्य निर्धारण उपसमितिका संयोजक एवं तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखरुको उपस्थितीमा बसेको बैठकले तनहुँ जिल्ला भित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मुल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले जानकारी दिए । तनहुँ जिल्लाका आबुँखैरेनी, बन्दिपुर व्यास नपा, ऋषिङ र घिरिङ गाउँपालिका अन्तर्गत करिब १९९ वटा टावर निर्माण हुन्छन् । ति मध्ये कतिपय टावरहरु सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ति टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मुल्य निर्धारण गरिएको हो ।
टावर रहने जग्गाका धनीहरुले पनि मुल्य निर्धारण समितिले गरेको जग्गाको मुल्यांकन प्रति असहमती जनाएका छन् । उनीहरुले सम्बन्धित जग्गाधनीहरुसँग कुनै छलफल र सहमती नै नगरिकन सरकारी तवरबाट आफुखुसी मुल्य निर्धारण गरेको बताएका छन् । सरकारले तोकेको मुल्य सहमती नहुने भन्दै यस्तो अवस्थामा टावर निर्माणकालागि आफुहरुको जग्गा उपलब्ध गराउन नसकिने एक जग्गाधनीले बताए ।
मुल्य निर्धारण समितिले भने जग्गाको मुल्य निर्धारण गर्नु अघि स्थलगत रुपमा जग्गाको निरिक्षण गरिएको र धेरै पटक छलफल गरिएको सहायक प्रजिअ भन्डारीले बताए । जग्गाको क्याटोगोरी अनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मुल्यांकन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मुल्य, बैंक तथा वित्तिय संस्थाले तोकेको मुल्य, बाटोको दुरी तथा जंगल क्षेत्रको आधारमा जग्गाको मुल्यांकन भएको बताए । उपसमितिले निर्धारण गरेको मुल्यमा पनि बुधबारको बैठकले १० प्रतिशत मुल्य थप गरेको भण्डारीले बताए ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने रातमाटे, न्यु दमौली, लेखनाथ र न्यु बुटवल सबस्टेसनमा विद्युत प्रवाहको लागि विद्युत् प्रसारण आयोजना अन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रशारण लाईन अन्तर्गत तनहुँका पाँच वटा पालिकामा १९९ वटा टावर रहनेछ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहको लागि महत्वपूर्ण विन्दुको रुपमा काम गर्नेछ । चार सय केभी न्यु दमौली सबस्टेसनबाट विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३२०० मेगावाट बिजुली प्रसारण गर्ने क्षमता हुनेछ । यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरणले नेपालमा औद्योगिक र व्यावसायिक गतिविधि बढाउन सकिनेछ । टावर रहने जग्गाको मुल्य निर्धारण पश्चात ठेक्का सम्झौता पछि एमसीए नेपालले प्रशारण लाइनमा पर्ने जग्गाहरुको मुल्य निर्धारण गर्नेछ ।
लोकवाणी दैनिकबाट