दमौली, असोज १५
तनहुँ जिल्लामा डेंगु संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । मंगलबारसम्म तनहुँमा डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार मंगलबारसम्म ३ हजार ४ जनामा डेंगु संक्रमण भएको छ ।
डेंगु तनहुँको १० वटै पालिकामा फैलिएको छ । तनहुँका संक्रमित मध्ये सबैभन्दा धरै आबुँखैरेनी गाउँपालिकामा रहेका छन् । कार्यालयका अनुसार आबुँखैरेनीमा मात्रै १४४१ जना डेंगु संक्रमित रहेका छन् ।
त्यसपछि क्रमशः व्यासमा ८८८, शुक्लागन्डकी नपामा ३९२, बन्दिपुर गाउँपालिकामा १३७, म्याग्दे गाउँपालिकामा ३०, भानु नपामा ३७, देवघाटमा ३७, भिमादमा २२, ऋषिङमा ३ र घिरिङमा ३ जना डेंगु संक्रमित रहेका छन् ।
जिल्लास्थित सरकारी अस्पताल, पालिकाका अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो । डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले डेंगुको निशुल्क परिक्षण र डेंगु संक्रमितको निशुल्क उपचार गरिरहेको छ । अन्य पालिकामाले पनि निशुल्क परिक्षण गर्दै आएका छन् ।
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ ।
निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।