काठमाडौं, मंसिर १७
उपनिर्वाचनमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना केही सीट गुमाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बोनसमा देखिएको छ । अर्कातिर प्रमुख सत्तारुढ दल नेकपा एमालेले पनि केही सीट बढाएको छ ।
तर, पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने एउटा वडा जित्दा २२ ठाउँमा सदर मतको न्यूनतम् १० प्रतिशत पनि ल्याउन नसकेर जमानत समेत गुमाएको छ ।
रिक्त ४१ पदमा कांग्रेसले जितेका २४ स्थान थिए । यी २४ मा दैलेखको महाबु र मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पनि सामेल थिए । तर, कांग्रेसले यी दुवै पालिका गुमाएको छ । १६ वडाध्यक्ष जिते पनि कांग्रेसले प्रमुख पद गुमाएको हो । यसअघि जितेको कीर्तिपुर नगरपालिकाको मेयरमा भने कांग्रेस उम्मेदवार कृष्णमान डंगोल निरन्तर अगाडि छन् ।
कांग्रेसले जितेका २४ र एमाले तथा माओवादीले जितेका ७÷७ स्थानमा उपचुनाव भएको थियो । जसपाले जितेका २ र स्वतन्त्रले जितेको १ स्थानमा पनि उपचुनाव भएको हो ।
यसपटक एमालेलाई माओवादी उछिनेको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । यो समाचार तयार पार्दासम्म माओवादीले १ अध्यक्ष, २ उपाध्यक्ष र ६ वडाध्यक्ष जितेको छ । यसपटक कांग्रेस पछाडि माओवादीले सबैभन्दा धेरै पदमा विजय प्राप्त गरेको छ । माओवादीले ९ वटा पद हात पारिसकेको छ ।
२०७४ यता कसै न कसैसँग टाँसिँदै आएको माओवादीले यसपटक आफ्नो बलबुतामा अपेक्षाभन्दा राम्रो नतिजा ल्याएको छ । उपनिर्वाचनमा राम्रो परिणाम हात पारेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी २०६४ को अवस्थामा फर्किएको टिप्पणी गरेका छन् ।
‘तपाईंलाई बधाई छ, ग्रामथानमा विजय सुनिश्चित गर्नुभयो,’ गाउँपालिका अध्यक्षमा नमोनारायण माझीलाई जिताउन भूमिका खेलेका सांसद अमनलाल मोदीलाई फोन गर्दै प्रचण्डले भनेका थिए, ‘माओवादी अब २०६४ सालमा फर्किएको छ । हाम्रा दिन शुरू भए ।’
अघिल्लोपटक कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिकाको अध्यक्ष यसपटक एमालेले जितेको छ । एमालेले दैलेखेको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा ५ वडा जितेको हो ।
एमालेले अहिलेसम्म ७ पद जितेको छ । हुम्लाको सर्केगाडको उपाध्यक्षमा पनि माओवादीले एमाले उम्मेदवारलाई चुनौती दिइरहेको छ ।
२३ वडामा उठेको रास्वपाको २२ ठाउँमा जमानत जफत
पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं– १६ मा परम्परागत दल कांग्रेस र एमालेलाई धक्का दिएको छ । अघिल्लोपटक कांग्रेसका मुकुन्द रिजालले शानदार जीत हात पारेको काठमाडौं– १६ मा रास्वपाकी रोजिना श्रेष्ठ २९०२ मत ल्याएर विजयी भइन् । तर, २३ वडाध्यक्षका लागि उम्मेदवारी दिएको रास्वपाले २२ ठाउँमा (एक अध्यक्ष र एक उपप्रमुखसहित) जमानत समेत जोगाउन सकेन ।
काठमाडौं– १६ बाहेक कीर्तिपुरको १ र ४ दुवैमा रास्वपाले उम्मेदवारी दिएको थिएन । तर, उम्मेदवारी दिएका अन्य स्थानमा जमानत जफत भयो । कांग्रेस, एमाले र माओवादीले प्रभावशाली मत ल्याएर जित्दा रास्वपा निरीह बन्न पुग्यो ।
यद्यपि रास्वपाले भने सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेका बेला भएको उपनिर्वाचनमा काठमाडौं–६ जित्नु ठूलो विषय भएको तर्क गरिरहेको छ ।
पुराना दलको प्रभाव रहेको काठमाडौंको महत्वपूर्ण वडा जित्नु अन्यत्र जमानत जफत भएको भन्दा धेरै माथि भएको रास्वपा नेताहरू बताउँछन् । एउटा मात्रै वडा जित्दा पनि रास्वपाले यसलाई विजयोत्सवका रूपमा लिएको देखिन्छ ।
माओवादीको प्रभाव क्षेत्र भन्दै रुकुम पूर्वमा कांग्रेस र एमाले मिले पनि माओवादी उम्मेदवार नरपुरा बुढाले शानदार जीत दर्ता गरेकी छिन् । सत्तारुढ दुई ठूला दल मिल्दा पनि माओवादी उम्मेदवार १४९९ मतान्तरले विजयी भइन् । नरपुराले ३६२७ मत ल्याउँदा कांग्रेसको रूख चिन्हबाट लडेकी एमाले उम्मेदवार केशकुमारी तुलाचनले २१२८ मत प्राप्त गरिन् । अन्यत्र आपसमै प्रतिस्पर्धा गरे पनि उत्तरगंगामा माओवादीविरुद्ध सत्तारुढ कांग्रेस–एमाले मिलेर लडेका थिए ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपेक्षा अनुसार नभए पनि पार्टीले लाभ प्राप्त गरेको दाबी गरे । ‘स्थानीय तह उपनिर्वाचनमा एमालेले अपेक्षाअनुसार जितेन,’ गौतमले भने, ‘तर, अध्यक्ष र उपाध्यक्ष जित्दा केही लाभ भयो । तीन वडाध्यक्ष गुमायौं ।’
कांग्रेस निर्वाचन समितिका सदस्य मधु आचार्यले महासमिति बैठकले चुनावमा तालमेल गर्नु हुँदैन भनेर दिएको निर्देशनलाई स्थानीय तह उपनिर्वाचनले सही ठह¥याएको तर्क गरे । ‘निर्वाचन परिणामले कांग्रेस महसमितिले भनेजस्तै चुनावी तालमेल उचित छैन भन्ने देखायो, किनकि कांग्रेस र एमाले मिल्दा पनि माओवादीले चुनाव जित्यो । दुई ठूला दल मिलेपछि किन माओवादीलाई समर्थन नगर्ने भनेर दुवै पार्टीका मतदाता भाँडिए,’ आचार्यले भने, ‘यो कांग्रेसका लागि सबक हो । पार्टी मात्र हुँदैन, स्वच्छ छवि भएका र जनतासँग नजिक उम्मेदवार उठाउनुपर्छ भन्ने सन्देश चुनावले दियो ।’
अब नेताले होइन, जनताले रुचाउने उम्मेदवार तय गर्नुपर्ने उनी बताउँछन् । टिकट वितरणको प्रणाली बदलेर ‘प्राइमरी इलेक्सन’मा जानुपर्ने उनले बताए । माओवादीलाई पनि दुःख र ग्लानि बोकेर बस्नु नपर्ने सन्देश मतदाताले दिएको आचार्य बताउँछन् ।
‘माओवादीलाई पनि संगठन बनाउने, दुःख गर्ने हो भने ग्लानि बोकेर बस्नुपर्ने छैन । जनताको मन जित्न सकिन्छ भन्ने सन्देश यो चुनावले दियो,’ उनले भने, ‘माओवादीले नसोचेको मत पायो । जनता यो दल ऊ दल भन्नेमा छैनन्, आग्रह÷पूर्वाग्रह बोकेर बस्दैनन् भन्ने यो चुनावको ठूलो सन्देश हो ।’
रास्वपालाई भने आवेगबाट माथि उठ्नुपर्ने, विचार, दर्शन र संगठन चाहिने सन्देश निर्वाचनले दिएको उनको तर्क छ ।
कुन दलले कहाँ जिते ?
नेपाली कांग्रेसका जितेका वडा–१६– मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१२ अर्जुनप्रसाद तिवारी, कञ्चनपुर, मदत्त नगरपालिका–६, प्रकाश चन्द, बर्दिया, ठाकुरबाबा नगरपालिका–४, अमिन थारु, सुनसरी, गढी गाउँपालिका–६, तेतर साहु, रौतहट, राजपुर नगरपालिका–६, समसे आलम, रोल्पा, रुन्टीगढी गाउँपालिका–४, भूपमणि पुन मगर, रौतहट, ईशनाथ नगरपालिका–७, शेख अब्दुल खलिक, पश्चिम रुकुम, सानीभेरी गाउँपालिका–५, मोतीराम खत्री, काठमाडौं, कीर्तिपुर नगरपालिका–१, इच्छाकुमार महर्जन, काठमाडौं, कीर्तिपुर–४, राजेन्द्र बानियाँ, डोटी, पूर्वीचौकी गाउँपालिका–६, मोहन थापा, तेह्रथुम, लालीगुराँस नगरपालिका–८, नगेन्द्र लिम्बू, दार्चुला, दुहुँ गाउँपालिका–५, धनसिंह कुँवर, जाजरकोट, कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह, गुल्मी, मुसिकोट नगरपालिका–१ र आनन्द श्रेष्ठ, बझाङ, सुर्मा–६ मोहन थापा ।
एमालेले जितेका पालिका र वडा– दैैलेखको महाबु गाउँपलिका अध्यक्ष जंगबहादुर शाही, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी, शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान, रामगोपालपुर नगरपालिका–२ सकिवुल खाँ, दुल्लु नगरपालिकामा–१३ लालबहादुर शाही, मोलुङ गाउँपालिका–५ गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन ।
माओवादीले जितेका पालिका र वडा– ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी, नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा, नुवाकोट, ककनी गाउँपालिका–२, कृष्ण घिमिरे, उदयपुर, त्रियुगा नगरपालिका–१२, नवीनकुमार वान्तवा, धनुषा, धनुषधाम नगरपालिका–१, सुनिल कापर केवट, गोरखा नगरपालिका–५, विष्णुबहादुर मगर, रुकुम, पूर्व, पुथा उत्तरगंगा–२ जगत घर्ती र डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका– ५, नरबहादुर झाँक्री ।
रास्वपाले जितेको वडा–काठमाडौं–१६, रोजिना श्रेष्ठ । नेकपा एकीकृत समाजवादी–रौतहट, गढीमाई–८, बजरंगीप्रसाद यादव । जसपाले जितेका वडा– सप्तरी, डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह र सप्तरी, डाक्नेश्वरी–४ देवेन्द्रप्रसाद यादव । नेमकिपा–कालिकोट, तिलगुफा–४, खड्गराज शाही र स्वतन्त्र–झापा, कन्काई–६, लक्ष्मीप्रसाद ओली । (लोकान्तरडटकमबाट)