सरकारले घरजग्गा कारोबारलाई कडाई गरेपछि भरतपुरमा नयाँ घर बन्ने क्रम घट्दै

Devghat Online

शेयर गरौ

भरतपुर महानगरपालिका भित्र नयाँ घर बन्ने क्रम घट्दै गएको छ । जग्गाको मुल्यमा वृद्धि र नेपाल सरकारले घरजग्गा कारोबारलाई कडाई गरेपछि भरतपुरमा नयाँ घर बन्ने क्रम घट्दै गएको हो । भरतपुर महानगरपालिकाका अनुसार, तीन वर्षको अवधिमा घरको नक्सा पास गर्नेको संख्या क्रमशः घट्दै गएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्पपछि भूकम्प प्रतिरोधी घर निर्माण हुने क्रम बढे पनि पछिल्ला तीन वर्षमा भूकम्प प्रतिरोधी घर निर्माण क्रमशः घट्दै गएको महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिकाका अनुसार, आर्थिक वर्ष २०७३/२०७४ सालदेखि प्रत्येक वर्ष भरतपुरमा नक्सा पास गर्नेको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७३/२०७४मा दुई हजार चार सय ३८ घरको नक्सा पास भएकोमा २०७४÷०७५ सम्म आउँदा एक्कासी घटेर ९ सय ७३ मात्र घरको नक्सा पास भएको छ । त्यस्तै २०७५/२०७६ मा ८ सय ९७ वटा घरको नक्सा पास भएको ईन्जिनियर सूर्यप्रकाश लामाले जानकारी दिए । चालु आर्थिक वर्षको तीन महिनामा ३ सय ३९ वटा घरको नक्सा पास भएको छ ।

भरतपुरमा २०३५ सालदेखि नक्सा पास गर्ने व्यवस्था गरिएको थियो । तर, पनि आधा भन्दा बढी घर राष्ट्रिय भवन संहिता विपरीत बनेको इन्जिनियर लामाले बताए । “भरतपुर महानगरपालिका भित्रका १७ नम्बर वडादेखि माथिका वडामा नक्सा पास गरेको संख्या देखिदैन । उनीहरुमा अझै जनचेतना नपुगेको हुन सक्छ,” उनले भने, “चालु आर्थिक वर्षमा ७६ नक्सा पास भएका छन् ।” सहरी क्षेत्रमा नयाँ घर निर्माण कम भए पनि त्यस आसपासका वडामा नयाँ घर बन्ने क्रम भने यथावत नै देखिन्छ । भरतपुर महानगरपालिकाका १, १२, १३,१५, १६, १७, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, र २९ वडामा चालु आर्थिक वर्षमा एउटा पनि भूकम्प प्रतिरोधी घरको नक्सा पास भएको छैन ।

भरतपुर महानगरपालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै घर भरतपुर वडा नम्बर ११ मा बनेका छन् । त्यहाँबाट गत आर्थिक वर्ष २ सय २३ वटा नयाँ घरको नक्सा पास भएको छ । चालु आर्थिक वर्षमा पनि ११ नम्बर वडामा ५२ वटाघरको नक्सा दर्ता भैसकेको छ । त्यसपछि सबैभन्दा धेरै नयाँ घर बन्ने वडामा क्रमशः वडा नम्बर ७, १२, ४, ५, ८, २, १५ बनेका छन् । इन्जिनियर लामाका अनुसार, चितवनमा व्यवसायीक प्रायोजनका लागि बनेका घरहरुमा नक्सा पास गर्ने गरे पनि ग्रामीण क्षेत्रमा बन्ने घरहरु नक्सा पास नगरी गर्ने चलन बढेको छ ।

२०६८ सालको जनगणना अनुसार ६९ हजार ३५ घरधुरी रहेको भरतपुर महानगरपालिकामा अहिलेसम्म ३० हजार २ सय ९ वटा घरको मात्र नक्सा पास भएको छ । महानगरपालिकाको ग्रामीण क्षेत्रमा अझै पनि नक्सा पास नगरि घर बनाउने क्रम बढ्दै गएको महानगरको तथ्याङ्कले उल्लेख गरेको छ ।

नेपाल सरकारले २०७२ बैशाख १२ भूकम्पपछि लागू गरेको नयाँ भवन निर्माण संहिता अनुसार नै भरतपुरमा भूकम्प प्रतिरोधी घर निर्माण भइरहेको लामाले जानकारी दिए । घरको डीपीसी भएपछि मात्र नक्सा पास दिने गरेको बताए । ‘भवन संहिता अनुसार १२ बाई १२ को पिल्लर राख्नु पर्ने हुन्छ । त्यसमा प्रयोग हुने ८ वटा रडमध्ये ४ वटा ५ सुते र ४ वटा ४ सुते रड अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ’ उनले भने, ‘त्यस अनुसार घर निमार्ण भएको छैन भने हामीले नक्सा पास दिँदैनौ ।’

अहिले भरतपुर महानगरपालिकाले नक्सा पासको व्यवस्था वडाबाट गर्ने व्यवस्था छ । एक वर्ष अघिबाट १२ जना इन्जिनियर वडामा गएर नक्सा पास गर्ने काम गरिरहेको उनले बताए । तर, पनि नक्सा पास गरी घर बनाउनेको संख्या बढिरहेको देखिन्छ । वडाबाट १ हजार स्क्वायर फिटको घर निर्माण हुने गरेको छ ।

भरतपुर महानगरपालिकाले नगरभित्र १७ मिटर उचाईभन्दा माथिको भवनको नक्सा पास गर्दैन । त्यसभन्दा माथिको भवन निर्माण गर्नु परेमा प्राविधिक समितिको प्रमुख, भवन विभागको डिभिजन प्रमुख, नापी कार्यालयका अधिकृत, जिविसका इन्जियिनर र एक जना भरतपुर महानगरपालिकाको विज्ञसहितको टोलीले माटो परीक्षण गरेपछि भवन निर्माण गर्न पाइने लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू