– आचार्य लक्ष्मण भण्डारी
घरमा पुस्तकालय छ । दराजभरि किताब छन् । हारमोनियम छ, तबला छ । राम्रा–राम्रा चित्र बनाउने उपकरण छन्, तर छोराछोरी ती कुनैमा रमाउँदैनन् । बाबाआमाको मोबाइल नभई हुँदैन । साना–साना बाबुनानी पनि मोबाइल नभई खाना खाँदैनन् । घरमा एउटा टेलिभिजन छ । हजुरबा—आमा, बाबा—आमा, छोराछोरीका तीन पुस्ता छन्, तर कान्छो पुस्ताको रूचिमा सबै ढल्नुपर्ने छ ।किशोरकिशोरी भएपछि फेसबुक, टिकटक, युट्युबमा हराउँदै ठीक छ । किताबकापी पढ्ने कुरा त एकादेशको कथाजस्तो भएको छ ।
यस्तो प्रविधिमय जीवन देख्दा पनि अभिभावकलाई वाक्कदिक्क लाग्छ । मोबाइलको लागि झगडा हुन्छ, बाबुआमा र छोराछोरीका बीचमा, दाजुभाइका बीचमा, दिदीबहिनीका बीचमा । सबैलाई मोबाइल
चाहिने, सबैलाई ल्यापटप चाहिने ।
एकछिन चलाउने, हेर्न र फेरि पढाइलेखाइ अनि घरको काम गरे त हुन्थ्यो नि ! त्यो पनि छैन । लगातार खान, लगाउन, विद्यालय जान, पढ्न सबैसबै बिर्सिएर मोबाइलको दासताभित्र कैद भएका छोराछोरी देखेर कसको मन रूँदैन र ! हाम्रा छोराछोरीको मात्र यो अवस्था होइन, यो घरघरको कहानी हो । सबै मोबाइलमा घोप्टिएका छन्, झुकेका छन्, भर्चुअल संसारभित्र लुकेका छन् । रातभरि त्यही मोबाइल हेर्दाहेर्दा वा इमेल–इन्टरनेट र विशेषगरी युट्युब हेर्दाहेर्दै १–२ बज्छ । त्यसपछि सुतेका छोराछोरी बिहान ८ बजे उठ्छन् । बिहानको ब्रह्ममुहूर्तको स्वर्णिम समयमा त्यसरी घ्वार्रघ्वार्र घुरेर ८ बजेसम्म सुतेको सन्तानलाई देख्दा कुन बाबुआमाको चित्त नरोला । यो आज धेरै घर र त्यस घरका अभिभावकले व्यहोर्नुपरेको नियति हो ।
यस्तो अवस्था नै भए पनि रोएर हुँदैन । प्रविधिको युग हो । प्रविधिको प्रयोग र सदुपयोग नगरी हुँदैन । तर, प्रविधिले हामीलाई उपयोग गर्नुभएन, प्रविधिको दास हामी हुने होइन, प्रविधिले हामीमाथि शासन गर्नुभएन भन्ने उद्देश्यमा आधारित भएर बालबालिकालाई वा छोराछोरीलाई प्रशिक्षित गर्नुपर्ने देखिन्छ । यदि स्वयम् बाबुआमा पनि माथि वर्णन गरेजस्तै प्रविधिको दासताभित्र बाँचिरहनुभएको छ भने त्यो जीवनशैलीलाई बदल्नुपर्ने देखिन्छ । संयमित भएर प्रविधिको सदुपयोग गर्ने उद्देश्यले सबै बसेर नियमित समयतालिका निर्धारण गरी यसको व्यवस्थापन गर्न सकिन्छ ।
गैरजिम्मेवार छोराछोरी
प्रविधिको दासता, गलत खानपान, साथीसँगी र बदलिँदो राजसी परिवेशका कारण बालबालिका आलस्यका सिकार बन्दै गएका छन् । आलस्यको सिकार पनि यति साह्रो भएका छन् कि तिनलाई आफ्नै सरसफाइको पनि ध्यान छैन । कसरी खाने, के–के खाने, कतिखेर उठ्ने, कतिखेर सुत्ने, घरको कामको मह¤व के हो ? पढाइ के हो ? पाहुना र इष्टमित्र के हुन् ? संस्कार के हो ? यस्ता विषयमा यिनलाई कुनै मतलब छैन । बिहान सबेरै उठ्नु पनि छैन । उठेपछि आफू सुतेको ओछ्यान मिलाउने, सिरक, सिरानी, डसना सफा र चिटिक्क पारेर राख्नुपर्छ भन्ने संस्कार पनि छैन । कोठा सफा गर्ने, बढारकुँढार गर्ने, समयमै दिसापिसाब गर्ने, नियमित स्नान गर्र्नुपर्छ भन्ने चेतना पनि मरिसकेको जस्तो देखिन्छ ।
‘बाबुआमालाई कति दुःख छ, एकछिन सघाउँछु’ भन्ने भावना त टाढाको कुरा भयो । बोलीमा पनि कठोरताबाहेक केही छैन । बोल्यो कि झर्किएर फर्किएर मात्रै ! भित्रको मल एक हप्तादेखि बोकेर बसेको छ, अनुहारमा चाहिँ क्रिम–पाउडरको शृङ्गार ! हातका नङ बाँदरका भन्दा लामा ! बल्ल २०–२२ वर्ष भएको छ, कपालमा दसथरी रङरोगन ।
घरमा आमाले कति मीठो खाना पकाउनुहुन्छ, खान बस्यो मुख बिगारेर हैरान । यो भएन, त्यो भएनको किचकिच । कति प्रेमले दुःख गरेर बिहानभरि लगाएर खाना तयार पारेर थालमा पस्किएर बोलाएको छ, छोराछोरी आएर अनेक खोट लगाउने ! हात हुँदाहुँदै चम्चा चाहिने ! खाना मुस्किलले १० गाँस पनि खानु छैन । दिउँसो खाजा खाने बेलामा भने प्लेटका प्लेट चाउमिन, प्लेटका प्लेट मम, प्लेटका प्लेट चाट, बर्गर ! के–के छन्, भएजति सबै हसुर्न पर्ने ।
होटेलमा कस्तो मान्छेले पकाएको छ, के–के हालेर पकाएको छ, कुन भावले पकाएको छ, त्यसको कुनै चासो छैन । बाहिरको कहाँको कहाँको मानिसले बनाएको मृतभोजनप्रति यति ठूलो सम्मान, तर घरमा प्रेम, स्नेह र अपार करूणाले आफ्नै आमाले बनाएको खानाको घोर अपमान ! खानाको ठाउँमा खाजा, खाजाको ठाउँमा खाना । मसला, नुन र कृत्रिम रङ्गरोगन हालेर तयार पारिएका जङ्कफुडप्रतिको आसक्ति ! त्यसैले, बुद्धि र संस्कार पनि सबै जङ्क हुँदै गएका छन् ।
अभिमानको कुरै नगरौँ । छोरो चाहिँलाई संसारकै सबैभन्दा राम्रो हिरो मै हुँ भन्ने लाग्छ भने छोरीलाई संसारकै सबैभन्दा राम्री मै हुँ भन्ने लाग्छ । बाबुआमाको काम, दुःख, सङ्घर्षको के मतलब ! बजारमा आएका अनेक खाले कपडा तिनलाई नै चाहिने ! मोटरबाइक र स्कुटर तिनलाई नै चाहिने, तर घरको दायित्व, कर्तव्य र जिम्मेवारीको कुनै मतलब छैन । यी प्रायः १५ देखि २५ वर्षभित्रका आजका छोराछोरीमा देखिने लक्षणहरु हुन् ।
छोराछोरीका यस्ता हर्कत देख्दा बाबुआमालाई ‘बेकार छोराछोरी जन्माएछु’ भन्ने सम्म लाग्छ । ‘बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामाथि’ भन्ने आहान चरितार्थ भएको अनुभव हुन्छ । सारै दुःख लाग्छ, तर पनि यसलाई व्यहोर्नुको विकल्प छैन । हाम्रा छोराछोरीले हामीलाई सघाऊन्, सहयोग गरुन्, आफ्नो जिम्मेवारी सुन्दर तरिकाले निर्वाह गरुन् भन्ने हाम्रो चाहना अत्यन्त राम्रो हो । त्यसका लागि प्रयास पनि गर्नुपर्छ । तर, भनेजस्तो भएन भनेर दुःखी पनि हुनुहुँदैन, किनकि हामीले सोचेको जस्तो सधैँ नहुन पनि सक्छ ।
कतिपय अभिभावकको छोराछोरी ठूला भएपछि पनि तिनकै चिन्ता गरेर बसिरहने बानी हुन्छ, जुन ठीक होइन । तपाईंहाम्रो कर्तव्य भनेको कम्तीमा २० वर्षसम्म सकेको गर्ने, तिनको भलाइ र कल्याणका लागि मिहिनेत गर्ने हो । त्यसपछि ती आफैँ गर्ने भइसकेका हुन्छन् । २०–२२ वर्षपछि बाबुआमाले भनेको भन्दा आफूले भनेको कुरामा हिँड्ने तिनको चाहना हुन्छ । त्यस्तो अवस्थामा छोराछोरीलाई अनावश्यक अवरोध गर्ने, आफ्नो बाटो र सोचमा हिँडाउन खोज्ने, बिग्रन्छ वा केही हुन्छ कि भनेर चाहिनेभन्दा ज्यादा चिन्ता लिने गर्नु राम्रो होइन ।
तपाईंले आफ्नो तर्फबाट गर्ने दायित्व र जिम्मेवारी शतप्रतिशत निर्वाह गर्नुस्, त्यो पनि बढीमा २० वर्षसम्मका लागि । त्यसपछि चिन्तामुक्त हुनुस् । जति गर्नुभयो गर्नुभयो, अब त्यसको वास्ता नगर्नुस् । उनीहरुले कमाए, पढे, राम्रो उन्नति गर्दै गए धेरै राम्रो । त्यसका लागि बेलाबेलामा प्रेरणा पनि दिनुस् । परमात्मासित प्रार्थना पनि गर्नुस् । यदि त्यस्तो हुन सकेन भने पनि चिन्ता नगर्नुस्, किनकि छोराछोरी नै भए पनि हामीले भनेको तिनले जीवनभरि मान्नैपर्छ भन्ने छैन, मान्दा पनि मान्दैनन् । संसार यस्तै रहेछ भनेर चित्त बुझाउनुको विकल्प केही छैन ।
हामीले भनेको बालबालिकाले मान्ने अथवा पूर्ण आज्ञाकारी हुने ती साना हुँदा हो, विश्लेषण गर्ने क्षमताको विकास नुहँदाका दिनसम्म मात्रै हो । एकछिन नाइँ भने पनि कुनै न कुनै तरिकाले मान्छन्, तर उनीहरु ठूला भएपछि ती आफैँ सक्षम भएको महसुस गर्दछन् । हाम्रो खाँचो पनि तिनलाई पर्दैन ।
तपाईं बाबु अथवा आमा हुनुहुन्छ, त्यसैले धन्य हुनुहुन्छ, किनकि तपाईंले ठूलो तपस्या गर्नुभएको छ, जिम्मेवारी निर्वाह गर्नुभएको छ । कति मानिस यो जिम्मेवारी पूरा गर्नुपर्ने भयले विवाह पनि गर्दैनन्, विवाह गरे पनि बच्चा नजन्माउने पश्चिमी संस्कार पूर्वतिर पनि सर्दै गएको छ । तर, तपाईंले हिम्मत हार्नुभएन, बालबालिका जन्माउनुभयो । अब सकेको गर्नुस्, तर आशा नगर्नुस् । ‘छोराछोरीले मेरो लागि के गर्लान् ?’ भन्दा पनि ‘छोराछोरीका लागि मैले के गर्ने होला ?’ भन्ने अभिभावक नै महान् हुन्छ ।
तपाईं अभिभावक बन्नुभएको छ, यसैले अनन्त बधाईका पात्र हुनुहुन्छ, तपाईंको तपस्या, त्याग र पुरूषार्थको जति प्रशंसा गरे पनि कम नै हुन्छ । दोस्रो कुरा, प्रत्येक अभिभावकले मनन गर्नुपर्ने के छ भने बालबालिकालाई हामीले गर्ने प्रेम निरपेक्ष हुनुपर्दछ, अर्थात् कुनै पनि आशा र अपेक्षाबिनाको । उनीहरुले हामीलाई भोलि हेरे, हाम्रो त्यागको सम्मान गरे भने राम्रै भयो, गरेनन् भने पनि केही हुँदैन, कम्तीमा हामीले त गरेका छौँ नि !
अधीर मानिसहरु कहाँ अभिभावक हुन सक्छन् । कति धैर्य चाहिन्छ, अभिभावक हुन । सहनशीलताबिना जतिखेर पनि दुःख दिने र चकचक गर्ने बालबालिकाको स्याहार गर्न कहाँ सकिन्छ र ? हाम्रो निरपेक्ष त्याग नै हाम्रो अभिभावकत्व हो । छोराछोरीलाई रेखदेख गर्दा उत्पन्न हुने समस्याको तुलना अन्य कुनै पनि समस्यासित गर्न सकिँदैन । ती समस्याहरुका बीचमा पनि प्रसन्न हुनु हामी अभिभावकहरुको मूल दायित्व हो, किनकि संसारका कुनै पनि काम समस्यारहित हुँदैनन् ।
सदा सकारात्मक हुनु, दण्ड र पुरस्कारको संस्कारलाई समान तरिकाले लागू गर्नु र सादा जीवन उच्च विचारको जीवनशैलीतर्फ छोराछोरीलाई प्रोत्साहित गर्नु अभिभावकको अहो दायित्व हो । बालबालिकालाई प्रेम गरौँ, माया र आसक्ति प्रकट नगरौँ । आसक्तिले दुःख हुन्छ । आसक्ति भनेको अपेक्षायुक्त माया, लगाव वा मोहको नाम हो ।
अन्तमा, छोराछोरीका लागि सकेको गर्दागर्दै पनि, श्रेष्ठ संस्कार दिँदादिँदै पनि, राम्रो विद्यालयमा पढाउँदापढाउँदै पनि, अत्यन्त सचेत र संवेदनशील भएर एउटा अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्दागर्दै पनि परिणाम हामीले आशा गरेजस्तो आएन अथवा छोराछोरी संस्कारी बन्न सकेनन् वा अन्य कुनै कुलतमा लागेका छन् भने पनि दुःखी हुनुपर्दैन । किन दुःखी हुनुपर्दैन भने बालबालिका हाम्रा कारणले मात्रै विकसित हुने होइनन्, हाम्रा कारणमात्रै तिनले सम्पूर्ण संस्कार पाउने होइनन् । अवश्य पनि धेरै कुरा घरबाटै सिक्छन्, घर नै संस्कार सिकाउने प्रमुख ठाउँ हो, तर सबै कुरा घरबाट मात्रै सिक्दैनन् भन्ने कुरा पनि त्यत्तिकै मह¤वपूर्ण छ ।
वरपर समाज छ, हाम्रा छोराछोरीका साथीहरु छन्, समयसितै बदलिँदो प्रविधि छ, नयाँ–नयाँ मान्यता र मूल्यहरु स्थापित हुँदैछन् । समाज रुपान्तरणको तीव्र प्रक्रियाबाट गुजँ्रदै छ । एउटा ठाउँको मान्छे, अर्को ठाउँमा पुगेर आफ्नो संस्कार साटासाट गर्ने समय छ । यस्तो अवस्थामा छोराछोरीले हाम्रा कुरा, हाम्रो दर्शन, संस्कार र जीवनशैलीअनुसार व्यवहार गर्छन् भन्ने हुँदैन । तर, उनीहरुभित्र भने घरमा हामीले लामो समयदेखि प्रदान गरेका वा उनीहरुले घरमा सिकेका संस्कार बलियो गरी स्थापित भएका हुन्छन् भन्ने पनि बिर्सनुहुँदैन ।
हाम्रा यी सबै जिम्मेवारी, कर्तव्य र तिनको परिणाम भगवान्लाई जिम्मा लगाउनु उत्तम हुन्छ । आखिर हामी पनि त आपैmँमा अज्ञानी नै त छौँ । कतिखेर रोग लाग्छ, कतिखेर के हुन्छ, त्यो हामी स्वयम्लाई थाहा हुँदैन । यसैले, कर्तव्य गरौँ, जिम्मेवारीमा कतै नचुकौँ, प्रत्येक कामलाई कर्मयोगका रुपमा सम्पन्न गरौँ । छोराछोरीप्रतिको दायित्वलाई निरपेक्ष तरिकाले सम्पादन गरौँ, त्यसको सम्पूर्ण परिणाम भगवान्मा छोडिदिऊँ । जे हुन्छ, उसकै इच्छाले हुन्छ । बस्, हामी असल अभिभावक बन्ने प्रयास गरौँ, जिम्मेवारी पूर्णनिष्ठाका साथ निर्वाह गरौँ । अन्तमा, पुनः तपाईंलाई विशेष धन्यवाद, विशेष आभार र विशेष कृतज्ञता किनकि अभिभावकको महान् भूमिका तपाईंले सहर्ष स्वीकार गर्नुभएको छ र देवतातुल्य सन्तानको सेवा गरिरहनुभएको छ । अस्तु ।
लेखक ठेगाना :acharyalb@gmail.com