विप्लव काफ्ले
देवघाट,
तनहुँको देवघाट गाउँपालिकामा होमस्टे खुल्ने क्रम बढेको छ । घरलाई नै सिँगारेर पाहुनालाई बास दिन स्थानीय अग्रसर बनेका छन् । देवघाट–५ की देउपुरकी आशा गुरुङले ४ कोठा पाहुनाका लागि बनाएकी छन् । “अन्यत्र होमस्टे राम्रो चलेको देख्यौँ, पर्यटकलाई राम्रो बास पनि मिल्ने, आम्दानी पनि हुने भएरै लगानी गरेको हो”, उनले भनिन्, “सुरुआती चरणमै छौँ, २–३ पटक पाहुन आए ।”
उनले होमस्टे ८ लाख ८० हजार खर्चेर बनाइन् । सो घरमा पसल पनि चलाएकी छन् । प्रति कोठा ५ सय रुपैयाँ तिर्नुपर्छ । गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तका अनुसार ९५ होमस्टेका रुपमा कोठा तयार भएका छन् । १ को गोपीटारमा १३, २ को खाल्टेमा २५, कोटवैदीमा १४, करादिपमा १६, ४ को काफलडाँडामा १०, ५ को देवपुरमा १७ कोठा स्थानीयले पाहुनालाई स्वागत गर्न सजाएका छन् । “गोपीटार, करादिपमा पर्यटक चहलपहल बढी छ”, उनले भने, “अन्यत्रका होमस्टे सुरुवाती चरणमा छन् ।”
देवघाटका होमस्टेमा डेढो, अर्गानिक तरकारी, लोकल माछा, कुखुरा, हाँस बढी खपत हुन्छ । “पर्यटन सर्किट बनाउन बजेट केन्द्रीत छ”, गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले भने, “होमस्टे प्रवद्र्धनमा जुटेका छौँ ।” गाउँपालिकाका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटनका रुपमा विकास गर्न लागेको बताए । “देवघाट धार्मिक पवित्रधामका रुपमा चिनिएको छ, जनजातिको बसोबास पनि छ”, उनले भने, “५ वटै वडालाई समेटेर एकिकृत पर्यटन विकासको काम भइरहेको छ ।”
उनका अनुसार गुरुङ, मगर समुदायले होमस्टे सञ्चालनमा ल्याएका हुन् । तर, घरबास (होमस्टे) का लागि छट्टै घर नभई आफैंले बनाएकै घरका बाहिरी कोठालाई प्रयोगमा ल्याएका छन् । “शालिग्राम करिडोर नजिकै ४ र मोटरबाटो नजिकै २ क्षेत्रमा होमस्टे चलेका छन्”, उनले भने, “पर्यटकलाई आरामदायी बासको व्यवस्था छ ।”
उनले शालिग्राम करिडोर क्षेत्रमा करिव ५ करोड खर्चेर ट्रयाक खोलिएको बताए । “देवघाट क्षेत्र भरतपुरजस्तै छ, समथर छ, तर अन्य थुप्रै गाउँ विकट छन्”, उनले भने, “कतै लालिगुराँस फुल्छन्, कतै झरना छन्, कतै दृश्यावलोकन गर्न मिल्ने ठाउँ छन्, सबैलाई एउटै ‘सर्किट’ बनाउँदैछौँ ।” बाइसे चौविसे राज्यका बेलाको गढी मानिने प्याउलीगढी जाने सिढि निर्माण भएको छ ।
देउपुरको चौतारी क्षेत्रलाई पार्कको रुपमा दिइएको छ । कोटवैदीमा भ्यु प्वाइन्ट छ । “तालिम, अध्ययन भ्रमण गरायौँ, अब होमस्टे उन्मुख छन्”, उनले भने, “छिटै देशभरका शक्तिपीठहरुको यही पुस माघमा सम्मेलन गर्दैछौँ, अन्य शक्तिपीठमा जाने पर्यटकलाई यहाँ आउने र यता आउनेलाई उताबारेको जानकारी दिने गरी समन्वय गर्दैछौँ ।”
देवघाट गाउँपालिका १ सय ५९ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । तर, २०६८ को जनगणना अनुसार जनसंख्या १६ हजार १ सय ३१ मात्रै छ । ३ हजार ४ सय ३५ घरधुरी छन् । “जनसंख्या महानगरको वडा बराबरी छ, तर भुगोल ठुलो छ, विकट छ”, उनले भने, “थोरै बजेटले विकासमा फड्को मार्न सकेका छैनौँ ।” होमस्टे प्रवद्र्धन गर्न ५ लाख बजेट छ । छरछरे झर्ना, क्यानेनिङ लगायतका पर्यटन गतिविधिका लागि ५ लाख, खाल्टेमा बाल उद्यान तथा पार्क बनाउन ५ लाख, रंगशाला बनाउन ३ लाख, ४ को घट्टीचुलीमा भ्युटावर बनाउन १० लाख, कर्तापमा जनजाति संग्राहलय बनाउन २ लाख, देउपुरमा पार्क बनाउन ५ लाख बजेट छ । यो वर्ष पर्यटनका लागि ४० लाखमात्रै बजेट छ ।
सामुदायिक वन महासंघ गण्डकी प्रदेश सदस्य केशवचन्द्र न्यौपानेले सप्तगण्डकी र कालिगण्डकी नदीले घेरिएको देवघाट क्षेत्र प्राकृतिक रुपमा रमणीय रहेको बताउँछन् । “तराईदेखि हिमालसम्मको हावापानी एउटै गाउँपालिकामा पर्छ”, उनले भने, “पर्यटक भित्राउने प्रवल सम्भावना छ, हरेक वडाहरु घुम्न लायक छन् ।”
नेकपा देवघाट गाउँपालिका अध्यक्ष भुवनसिंह गुरुङले होमस्टेलाई व्यवस्थित गरेर सञ्चालन गरेमा पर्यटक चहलपहल बढ्ने बताए । उनका अनुसार सुलीघोप्टे डाँडामा २०५० साउनमा १९ जना बोकेको विमान दुर्घटना भएको क्षेत्रलाई स्मृति पार्कका रुपमा विकास गर्न सकिने बताए । “अर्गानिक उत्पादन बढी छ, खपत पनि हुन्छ, बजारीकरण पनि हुन्छ”, उनले भने, “पर्यटन लक्षित कार्यक्रम मार्फत स्वरोजगारको वातावरण सृजना हुनेछ ।” तरकारी, मौरीपालन, फलफूल, बाख्रापालन, अम्रिसो खेतीका पकेट क्षेत्र निर्धारण हुँदैछन् ।