दीपक परियार
(पोखरा) — पाँच वर्षअघि प्रदर्शन भएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को ओपनिङ सटमै माछापुच्छ्रेको काखमा एक सुन्दर गाउँको दृश्य देखिन्छ । ढुंगा र माटोको गारो, ढुंगैले छाएका चिटिक्क परेका घरले भरिएको गाउँ हो, कास्कीको हेम्जाकोट । ‘टलकजंग भर्सेस टुल्के’को ७५ प्रतिशत सुटिङ हेम्जाकोटमै भएको हो । माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो गाउँमा सामुदायिक होमस्टे छ । अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे मोडल ट्रेक पुग्ने पर्यटक हेम्जाकोट हुँदै जान्छन् । हेम्जाकोट पुगेपछि आन्तरिक पर्यटकले सोध्ने पहिलो प्रश्न हुन्छ, ‘टलकजंग भर्सेस टुल्के सुटिङ भएका ठाउँ कुन–कुन हुन् ?’फिल्म हेरेका दर्शकले हेम्जाकोट पुग्ने वित्तिकै फिल्मका बाबुसाहेव (प्रकाश घिमिरे) को घर चिनिहाल्छन् । टुल्के (खगेन्द्र लामिछाने) पुगिरहने भट्टी भेटिहाल्छन् । फिल्ममा टुल्के, सुके (सुशांक मैनाली), हनुमान (बुद्धि तामाङ), टंके (सुदाम सिके), ढिकरे (हुम बीसी) भेटेर गफिने भट्टिमा पुग्दा दर्शक फिल्मकै दृश्य सम्झिएर रमाइलो मान्छन् । हेम्जाकोट तल धितालका फाँटमा लहलह धान झुलेका देखिन्छन् । अलि तल शान्त बगिरहेको देखिन्छ मर्दी र इदी खोला ।