विप्लव काफ्ले,देवघाट
क्षेत्र विकास समितिले ‘भ्रमण वर्ष २०२०’ को तयारी तीव्र बनाएको छ । समितिका अध्यक्ष शिवराज पौडेलले पुस १६ गते भव्य कार्यक्रमको तयारी गरिएको जानकारी दिए । “पञ्चेबाजासहित पर्यटकको स्वागत गरिनेछ”, उनले भने, “पर्यटकलाई वेणीसंगमको दृश्यसहितका आकर्षक चिनोहरु दिने योजना बनाएका छौँ ।” सन् २०२० सुरु हुने दिन पुस १६ गते झोलुंगे पुल हुँदै देवघाट भित्रिने सुरुका ७ जना पर्यटकलाई सम्मानको कार्यक्रम राखिएको बताए । देवताहरुको घुम्ने, तपस्या गर्ने क्षेत्रका रुपमा परिचित देवघाटमा सीता भासिएको ठाउँ, वशिष्ठ ऋषिले तपस्या गरेको गुफा, चक्रशिलालगायत धेरै धार्मिक क्षेत्र छन् ।
उनका अनुसार देवघाट जोडिएका तनहुँ, चितवन, नवलपुरका क्षेत्रमा जानकारीमूलक बोर्ड राख्न थालिएको छ । उनले भ्रमण वर्षमा देवघाट महोत्सव, विराट ज्ञानमहायज्ञ गर्नेबारे छलफल चलिरहेको बताए । “धेरै पर्यटक ल्याउन प्रचारप्रसार सुरु गरेका छौँ”, उनले भने, “भारतका चर्चित धार्मिक क्षेत्रमा देवघाटबारे जानकारी दिन व्यानर तथा फोटो राख्न थालिएको छ ।” उनले देवघाट क्षेत्रको महिमा, घुम्ने गन्तव्य सूचीसहितको ब्रोसर बनाउन लागेको बताए । स्नानघाट र वेणीसंगमलाई व्यवस्थित गर्ने काम अघि बढाइएको बताए ।
कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले चितवन, नवलपुर आउने अधिकांश पर्यटकलाई देवघाट भित्र्याउने गरी स्थानीय तहहरुसँग सहकार्य भइरहेको बताए । “स्थानीय तहका कार्यक्रममा पनि सहभागिता जनाएका छौँ”, उनले भने, “देवघाट घुमौँ भन्ने अभियान चलाउने छौँ ।” उनले देवघाट क्षेत्रमा सामुहिक सरसफाइ, रङरोगनलगायत गतिविधिलाई निरन्तरता दिइने बताए । “सेल्फी प्वाइन्ट’ समेत बनाउँदै छौँ”, उनले भने, “समग्र देवघाट झल्काउने तीन प्वाइन्ट बनाइनेछ ।”
उनका अनुसार झोलुंगे पुलको चितवनतर्फ, तनहँुको वेणी संगम, नवलपुरको शिलान्यासचोक नजिकै ‘सेल्फी प्वाइन्ट’ बनाइनेछ । ती क्षेत्रमा वेणी संगम, देवघाटका मुख्य धार्मिक क्षेत्रका दृश्यसहितका ठूला तस्विरहरु राखिनेछन् । समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेल पर्यटकलाई कम्तीमा एक दिन बस्ने वातावरण बनाउनुपर्ने बताउँछन् । “अधिकांश पर्यटक घुमेर एकै दिनमा फर्किने अवस्था छ”, उनले भने, “पर्यटक धर्मशाला बनाउँ, शाकाहारी भोजनालय खोल्न प्रोत्साहन गरौँ, देवघाटमा कम्तीमा १ रात बिताउने वातावरण बनाउन लाग्नुपर्छ ।”
देवघाटका हरिहर, महेशसंन्यास र गलेश्वर आश्रमले रात बिताउन चाहनेलाई निःशुल्क खाना तथा बासको व्यवस्था मिलाउँदै आएका छन् । तर, घुमफिर गर्न, अध्ययन अवलोकन गर्न आउने पर्यटक बस्ने ठूला रिसोर्ट तथा होटलहरु नगण्य छन् ।
धार्मिक मार्ग बन्दै
देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको ट्रयाक खोलिएको छ । देवघाट गाउँपालिका अन्तर्गतको ४० किमि दुरीमा ट्रयाक खोलिएको छ । दासढुंगा–देवघाट हुँदै कालिगण्डकी नदीतिर हुँदै मुक्तिनाथ जोड्ने करिडोर प्रदेशको गौरवको आयोजना हो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सबै वडाहरु सडक सञ्जालले जोडिएको बताए । “पर्यटकहरु गाउँपालिकाका अन्य गन्तव्यसमेत घुम्ने वातावरण बनेको छ”, उनले भने, “होमस्टे खुलेका छन्, अन्य गन्तव्यमा समेत पर्यटन पूर्वाधार भइरहेका छन् ।” हरिहर मार्ग, गलेश्वर आश्रम नजिकैको सडक, मौलाकालिका मन्दिर जाने सिढी मार्ग बनेका छन् ।
दासढुंगा–देवघाट सडकको ६ किमिमध्ये २ किमि सडक कालोपत्रे भइसकेको छ । “तीनै जिल्लाबाट सहजरुपमा आउन मिल्ने गरी सडक तथा पुल बनिरहेका छन्”, कार्यकारी निर्देशक घिमिरेले भने, “हालको झोलुंगे पुल नजिकै मोटरेबल पुल बनाउन ‘लबिइङ’ भइरहेको छ ।” २०३७ सालमा बनेको झोलुंगे पुल भएर देवघाट जानुपर्ने बाध्यता विस्तारै हटेको छ । दासढुंगा–देवघाट पुल बनिसकेको छ । हर्दी–देवघाट जोड्ने पुल निर्माणाधीन छ । ठिमुरा–देवघाट–घिनाटार जोड्ने पुल निर्माणाधीन छ ।
त्रिकोणात्मक पुल अन्यौलमा
चितवन, तनहुँ र नवलपुर जोड्ने गरी वेणीसंगम नजिकै बनाउने भनिएको त्रिकोणात्मक आकर्षक झोलुंगे पुल अन्यौलमा परेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेपनि पुल निर्माणको कामले गति लिन सकेन । भ्यूटावरसहितको सो पुल बनाउने योजना थियो । तर, डीपीआर सकिएको १ वर्ष बढी समय सकिँदा पनि टेण्डर हुन सकेको छैन । “त्रिकोणात्मक पुलको अवधारणा कार्यान्वयन हुने अपेक्षा लिएका छौँ”, अध्यक्ष पौडेलले भने, “बजेट विनियोजनका लागि पहल भइरहेको छ ।” डीपिआर बनाउन करिव ५९ लाख खर्च भएको थियो ।
देवघाटमा बजेट न्यून
देवघाट क्षेत्र विकास समितिले २०६६ सालमा बनाएको २१ वर्षीय गुरुयोजना स्थानीय विकास मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालयले अनुमोदन गरेका थिए । १ अर्ब २३ करोड बराबरका योजना बनेका थिए । गुरुयोजना अनुसारका काम गर्न वार्षिक १४ करोड बजेट आवश्यक पर्छ । तर, समितिले ज्यादै कम बजेट पाउँछ । यो वर्ष १ करोड ५ लाख बजेट छ । जसमध्ये ७५ लाख मात्रै पुँजीगत बजेट छ । यस्तै प्रदेश सरकारले ८० लाख बजेट दिएको छ । “बजेट नहुँदा धेरै काम गर्न सकेका छैनौं”, अध्यक्ष शिवराज पौडेलले भने, “स्थानीय तह, प्रदेश सरकारसँग पनि ‘लबिङ’ गरिरहेका छौं ।” आश्रमहरुको स्तरोन्नती, ध्यान केन्द्र निर्माण, व्यवस्थित स्नानघाट, पार्क निर्माणलगायत कामहरु हुन सकेका छैनन ।