आगामी माघ ११ देखि नारायणी नदी किनारमा हुने महायज्ञमा नौ तले यज्ञमण्डप निर्माणको काम भइरहेको छ ।
१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् संगीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट् मासिक महायज्ञ –२०७६ अन्तर्गत हवनका लागि सो मण्डप निर्माण भइरहेको हो । महायज्ञको १०८ कुण्डीय कोटिहोमस्थको नौ तले यज्ञ मण्डपको निर्माण पश्चात हवन कुण्ड निर्माण गरिने महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले जानकारी दिए । यज्ञ मण्डप निर्माणका लागि दैनिक ३० जनाभन्दा बढी काममा खटिएको उल्लेख गर्दै उनले हालसम्म पाँचौँ तला निर्माण भइसकेको जानकारी दिए । सो महायज्ञका लागि १०८ तीर्थस्थलको जल ल्याउनका लागि महायज्ञ समितिका सदस्यहरु तीर्थस्थलको भ्रमणमा गइसकेको महाराजश्रीले बताए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेले यसपटकको धार्मिक यात्राका लागि नारायणी नदी किनारमा आयोजना हुने महायज्ञमा तीर्थयात्राका लागि आउने जानकारी गराइरहेका उनको भनाइ छ । फागुन ११ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा दैनिक एक हजार जना भक्तजनलाई गास र आवासको व्यवस्था गरिने समेत महाराजश्रीको भनाइ छ । त्यस्तै, महायज्ञलाई सफल पार्नका लागि विभिन्न जिल्लाहरुमा उपसमिति विस्तार तथा प्रचार प्रसारको काम भइरहेको महाराजश्रीको भनाइ छ । यसैबीच, आगामी पुस २६ गते शनिबार महायज्ञ स्थल नारायणी नदी किनारमा वृहत् भेलाको आयोजना गरिएको महाराजश्रीले जानकारी दिए । महायज्ञको दुई हजार १०० सदस्यीय मूल समारोह समिति विस्तार तथा १०८ उपसमिति निर्माणका लागि भेलाको आयोजना गरिएको हो ।
आगामी शनिबार बिहान ११ बजे हुने भेलामा सम्पूर्ण बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, सामाजिक अगुवा तथा धर्मानुरागी व्यक्तिलाई सहभागी हुने महाराजश्रीले आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित बिपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत् धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
उक्त धन धान्याचल पितृमोक्ष बिराट् मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई भव्यरुपमा सफल पार्न देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर दैनिक एक हजार जनाका लागि गास तथा आवासको प्रबन्ध मिलाइने महाराजश्रीको भनाइ छ । महायज्ञस्थलमा दैनिक ६ पटक भण्डारा लगाइने उनले जानकारी दिए ।