देवघाट अनलाइन
दमौली, चैत ३०
उपनिर्वाचनको प्रचारको क्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाललाई टुरिष्ट उम्मेदबार भन्दै प्रचार गरेका छन् । नेपाल प्रहरीका पुर्व महानिरिक्षक खनाल तनहुँको भानु नगरपालिका वडा नम्बर ६ को सिम्पानी आमडाँडामा २०२३ वैशाख १३ गते जन्मिएका थिए ।
अध्यनको क्रममा जिल्ला बाहिर बसेका खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए । त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरेका उनि २९ माघ २०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा उनी स्थानमा रहेका थिए ।
प्रहरी संगठनमा कार्यरत रहँदा खनालले सँधै उत्कृष्ट कार्य गर्दै आएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहेको बेला उनले काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्तीलाई ‘स्मार्ट लाइट’ जडान गरेर रिप्लेस गरेर चर्चामा आए । महानगरीय अपराध अनुसन्धान महाशाखा सहितका महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व गरिसकेका खनालले सीमावर्ती क्षेत्र बारा, पर्सा, वीरगञ्ज लगायतमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए । इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, दरबारमार्ग र कालिमाटीको प्रमुखका रुपमा काम गरेका थिए । डीएसपीमा बढुवा भएपछि उनले नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरेको उनी एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको नेतृत्व उनले गरेको थिए । उनी एसएसपी भएपछि अञ्चल प्रहरी कार्यालय नारायणीमा पनि नेतृत्वमा गरेको थिए । एसएसपी भएकै बेला केन्द्रीय प्रहरी प्रवक्तासमेत बनेका थिए उनी ।
अञ्चल प्रहरी कार्यालय नारायणीमा उनलाई प्रहरीको केन्द्रिय कार्यालयलले उत्कृष्ट प्रहरी अफिसरको रुपमा पुरस्कृत समेत गरेको थियो । जागिरे जीवनका क्रममा खनालले २२ वटा विभुषण र १२ तालिम हासिल गरेका छन् । खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए । सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो । महाशाखामै रहँदा उनले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका थिए । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए । भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।
त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ । तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए । दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैन्य कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यस बेलै पक्राउ परे । खनालले देश र जनताका पक्षमा रहेर काम गरेका छन् ।
खनाल प्रहरी प्रमुख हुदा ई–पुलिसिङको अवधारणाअनुसार पुलिस रिपोर्ट लिनका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न पुलिस रिपोर्टका लागि अनलाइन रजिष्ट्रेशन खुल्ला भएको थियो । विदेश बस्नेले पनि अनलाइन रजिष्ट्रेशन भनेर उतै नेपालको पुलिस रिपोर्ट पाउनसक्ने भएका छन् । बढ्दो विद्युतीय कारोबार मार्फतका अपराध नियन्त्रणका लागि विद्युतीय कारोबार नियन्त्रण ब्युरो र मानव बेचविखन नियन्त्रण ब्युरो स्थापना गरे । उनकै कार्यकालमा महिलाविरुद्ध हुने हिंसाको अभिलेखन कार्य समेत शुरु भएको थियो । खनाल महानिरिक्षक हुँदा काठमाडौंको ललिता निवासको सरकारी जग्गा हिनामिना गर्नेहरुको विरुद्ध अनुसन्धान गरि मुद्धा दायर भएको थियो भने खनालकै नेतृत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको सुरुवात समेत भएका थियो । जनु कार्यक्रम अहिले सबै स्थानीय तहका सबै वडा र टोलमा समेत सन्चालित छ ।
खनाल प्रहरी महानिरिक्षक हुँदा यसअघिको भन्दा बढि नेपाल प्रहरीका विभिन्न युनिटका भवनहरु निर्माण भएका थिए । खनालकै पहलमा तनहुँमा ११ वटा प्रहरी चौकीमा नयाँ भवन निर्माण भएको थियो । खनाल प्रहरी संगठनभित्र रहदाँ जिम्मेवार र सक्षम अफिसरको रुपमा परिचय स्थापित गराएका थिए । बैशाख १० गते हुने उपनिर्वाचनमा उनै खनाल नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् ।