देवघाट अनलाइन
दमौली, बैशाख ७
तनहुँका स्थानीय तहबाट नै श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताए ।
‘यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ,’ उनले भने । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले बताए ।
सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ । उनका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उहाँहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ । पहिला पहिला श्रम स्वीकृतिका लागि पोखरा जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरुलाई झण्झट हुँदैन उनले भने ।
त्यसैगरि आँबुखैरेनी गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् । सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ । श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।
‘वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ दिदीबहिनीलाई सेवा लिन अप्ठेरो र झन्झट भयो, टाढा जानु प¥यो भन्ने गुनासोका साथै श्रम स्वीकृति लिनकै लागि ठगिएको गुनासो हामीले पाइरहेका थियौँ’ श्रम सचिव अर्यालले भने ‘त्यस्तो ठगी र असहजताको अन्त्यका लागि यो व्यवस्था गरिएको हो, बिस्तारै वैदेशिक रोजगारी सम्बन्धी सबै कामहरु पालिकाबाटै हुने गरीको व्यवस्था गर्छौँ ।’
रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक, रोजगार सहायक लगायत कर्मचारीलाई कसरी श्रम स्वीकृतिको सेवा प्रदान गर्ने भनेर तालिम पनि दिइसहेको सचिव अर्यालले बताए । अनलाइनमार्फत नै वैदेशिक रोजगार कार्यालय काठमाण्डौ र सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्दै आएको श्रम स्वीकृतिको आवेदन रोजगार सेवा केन्द्रमार्फत नै दिन मिल्ने गरी गएको चैत २६ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।