पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो ।
‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौैँ’ प्रमुख सुवेदीले भने । चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले बताए ।




सुवेदीले भने, ‘निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिबद्ध छौँ, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिकरुपमा कालोपत्र गर्नेछौँ ।” मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उनले बताए।
पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । करिब ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ ।
पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ ।
सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।
सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समयसमयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन् । सडक विस्तारबाट हुने प्रदूषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरुले माग गरेका हुन् ।












