देवघाट । कार्तिक १७
देवघाट । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्मित ‘मातापिता सेवा आश्रम’ को उद्घाटन महोत्सव आगामी मंसिर ५ गतेदेखि २१ गतेसम्म आयोजना गरिने भएको छ । विश्व जागरण महाअभियान ट्रष्टद्वारा आयोजित विशेष धार्मिक महोत्सवका साथ आश्रमको औपचारिक उद्घाटन गरिन लागेको हो ।
ट्रस्टका संस्थापक एवं प्रसिद्ध भागवत कथा वाचक ईश्वरकृष्णजी महाराजको सत्संकल्प अनुसार मंसिर ५ देखि २१ गतेसम्म आश्रम परिसरमै धार्मिक महोत्सव सञ्चालन हुनेछ । उक्त धार्मिक महोत्सवमा देश तथा बिदेशबाट आउने प्रख्यात भागवत कथा वाचकहरुले भागवत कथा वाचन गर्ने छन् । हाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको ट्रष्टले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिक तथा वृद्ध मातापिताका लागि सुरक्षित, सुविधायुक्त र पूर्ण रूपमा धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ यो आश्रम निर्माण गरिएको ट्रष्टका अध्यक्ष डा. केशवराज भुर्तेलले बताए । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजले देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको बताए ।

३६५ कोठामध्ये १४० कोठा निर्माण सम्पन्न
महात्वाकांक्षी परियोजनाका रूपमा अघि बढाइएको यस आश्रममा कुल ३६५ वटा कोठा रहनेछन् । जसमध्ये हालसम्म एक तिहाइ अर्थात् १४० वटा कोठाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक ईश्वरकृष्ण महाराजका अनुसार परियोजनाले ज्येष्ठ नागरिकलाई निःशुल्क आवासीय सुविधाका साथै धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउनेछ । आश्रम निर्माणका लागि करिब १३ करोड रुपैयाँको लागतमा २० रोपनी जग्गा खरिद गरिएको थियो ।
देवघाट दिव्यधाम मन्दिर’ बन्दै, लागत २०० करोड अनुमान

आश्रम परिसरमै ‘देवघाट दिव्यधाम मन्दिर’ समेत निर्माण भइरहेको छ । शिलान्यास भई निर्माणको चरणमा रहेको उक्त मन्दिर सिमेन्ट र छडको प्रयोग नगरी पूर्ण रूपमा पत्थर (ढुङ्गा) बाट कलात्मक शैलीमा तयार पारिँदैछ । हजारौँ वर्ष टिक्ने संरचनाका रूपमा निर्माण गर्न लागिएको यस मन्दिर र आश्रमको कुल लागत करिब २०० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।
निर्माण कार्यलाई आर्थिक रूपमा पूर्णता दिन यसअघि २०८१ माघ १ देखि ३० गतेसम्म ‘देवघाट महा–महोत्सव’ आयोजना गरी २५ करोड रुपैयाँ सङ्कलन गरिएको थियो । आगामी मंसिरमा हुने धार्मिक महोत्सवबाट पनि थप आर्थिक सहयोग जुटाई आश्रम र दिव्यधाम निर्माणलाई पूर्णता दिने ट्रष्टको योजना रहेको छ ।












