तनहुँ । असोज २०
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन् । भिमाद नपा–६ की खनालले सहिद परिवार कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । उम्मेदवारी दर्तासँगै उनले सहिद परिवारको पीडा, संघर्ष र अतुलनीय योगदानलाई पार्टीको नीति निर्माण, नेतृत्व तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।



‘बलिदानको सम्मान, संघर्षको प्रतिनिधित्व’ लाई आफ्नो मुख्य चुनावी एजेन्डा र आधार बनाउँदै उनले सहिद परिवारको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्व तहसम्म सशक्त रूपमा पु¥याउने बताएकी छन् । ‘राष्ट्र, लोकतन्त्र र समृद्धिका लागि कांग्रेस सधैँ अग्रसर’ भन्ने नाराका साथ अघि बढेकी खनालले ‘बलिदानको सम्मान, संघर्षको प्रतिनिधित्व–अब निर्णय गर्ने ठाउँमा सहिद परिवारको आवाज’ भन्ने मुख्य संकल्प अघि सारेकी छन् ।
आफ्नो उम्मेदवारीबारे प्रतिबद्धता जनाउँदै खनालले भनेकी छन्, ‘सहिद परिवारको पीडा, संघर्ष र योगदानलाई पार्टीको नीति, नेतृत्व र निर्णयमा अझ प्रभावकारी रूपमा स्थापित गर्न मेरो प्रतिबद्धता छ ।’ सशक्त, समावेशी र न्यायपूर्ण नेपाली कांग्रेस निर्माणको संकल्पसहित चुनावी मैदानमा उत्रिएकी खनालले लोकतन्त्र, एकता, समृद्धि र नयाँ सोचलाई प्राथमिकतामा राखेकी छन् ।












