आवुँखैरेनी, असार ९
आवुँखैरेनी गाउँपालिकाको १३ औं गाउँ सभा शनिबार सम्पन्न भएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाको आगामी आर्थिक वर्षकोलागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।



आवँखैरेनीले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।

एक गाउँ एक कृषि उत्पादन, विद्यार्थीलाई पढ्दै, रमाउँदै र कमाउँदै कार्यक्रम लागु गर्ने, जनप्रतनिधि, सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन तथा अभिभावक समितिका पदाधिकारी र सदस्यहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने विषयलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिईएको छ ।
आफ्नै उत्पादनलाई उपभोगमा प्रथामिकता दिने, स्थानीय हाटबजारलाई निरन्तरता दिई कृषकलाई प्रोत्साहत दिने, सबै घर परिवारमा खानेपानीको सुविधा पु¥याउन खानेपानी योजनालाई प्राथामिकता पनि दिईएको छ । संघ र प्रदेश सरकारसँग सहकार्य गरि पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सिंचाई, खानेपानी तथा कृषि सम्बन्धी कार्यक्रम लागु गर्ने गाउँपालिकाको नीति रहेको अध्यक्ष चुमानले बताए ।

गाउँसभाले अध्यक्षद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित समेत गरेको छ । गाउँसभाको आईतबार हुने बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।












