राष्ट्रिय कयाक प्रतियोगितामा तनहुँका रविन प्रथम

Devghat Online

शेयर गरौ

चितवन, माघ १२

त्रिशूली र नारायणी नदीमा आयोजना गरिएको ३५ किलोमिटर राष्ट्रिय कायाक प्रतियोगितामा तनहुँका रवीन गुरूङ विजेता बनेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्मको दूरी दुई घण्टा २८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै रवीन विजेता बनेका हुन् ।

गण्डकी प्रदेश खेलकुद विकास समितिले शनिबार आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिताको विजेता बनेका उनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता तनहुँका प्रमोद गुरूङ भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

देशभरका ११ जिल्लाका २५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा उदयपुरका कृष्ण खड्काले दुई घण्टा ३० मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।
धनकुटाका विजय माझीले दुई घण्टा ३० मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्दै रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निर्धारित दूरी दुई घण्टा ३३ मिनेट पाँच सकेण्डमा पार गर्दै गोरखाका सुरेन्द्र चेपाङ सान्त्वना भएका छन् । उनलाई नगद रू तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरूलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा समितिका सदस्य सचिव शर्माले नेपालमा खेलाडीहरू खेलेरै जीवनयापन गर्ने अवस्थामा आइसकेको बताए । राज्यबाट खेलकुदमा लगानी कम भइरहेको सन्दर्भमा निजी क्षेत्रले खेलकुद क्षेत्रलाई अगाडि बढाउन लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

गण्डकीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक पाउने खेलाडीलाई सम्मानित गर्ने किसिमले कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । ‘प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई समेटेर विभिन्न आठवटा विधामा मेडल दिनेगरी कार्यविधि ल्याएको छ’, शर्माले भने ‘अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी, खेलकुदको क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम, खेलकुदको विकासमा काम गर्ने व्यक्ति तथा संस्था, रेफ्री, कोचसहित पर्नेगरी आठ वटा विधाबाट वार्षिक रूपमा मेडल प्रदान गर्दैछ ।’ खेल क्षेत्रलाई योगदान पुग्नेगरी प्रदेशले मुलुकमा पहिलोपटक कार्यविधि ल्याएको उनले जानकारी दिए ।

प्रदेश खेलकुद विकास समितिका सदस्य एवं राष्ट्रिय कायाक प्रतियोगिताका संयोजक वसन्तराज दवाडीले विगत चार वर्षदेखि जलयात्रा र साहसिक खेलकुदका गतिविधि गर्दै आएको बताए । साहसिक खेलको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको भन्दै उनले आगामी वर्षमा यस प्रतियोगितालाई अझै बृहत् तरिकाले आयोजना गरिने जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले नवलपुर खेलकुदका लागि उर्वर भूमि भए पनि यहाँ अभ्यासका लागि पर्याप्त पूर्वाधार नभएको बताए । उलले यस क्षेत्रमा आवश्यकता अनुसार खेलकुदका पूर्वाधार निर्माण गरी राष्ट्रिय, अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले