तनहुँ । मंसिर १०
बन्दीपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिक अवधिमा सम्पादित विकास निर्माणका कार्य, सेवा प्रवाह तथा समग्र गतिविधिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माणका काम, सुशासन, पारदर्शिता तथा नागरिकका गुनासा, जिज्ञासा र सुझावका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सार्वजनिक सुनुवाइमार्फत नागरिकका सुझाव तथा गुनासालाई सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर खवास, बन्दीपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अनिल गिरीलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर खवासले प्रथम चौमासिक अवधिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका नागरिकसँग गरिएको सेवा सन्तुष्टिसम्बन्धी सर्वेक्षणको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।
सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकहरूले सडक तथा नाला व्यवस्थापन, पर्यटन पूर्वाधार, कृषि, शिक्षा, लालपुर्जा वितरण, घरनक्सा पास, कर निर्धारण, बजेट कार्यान्वयन तथा बेरुजुका विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको सम्बन्धित शाखा तथा निकायका प्रमुखहरूले जवाफ दिएका थिए ।












