श्याम थापा
भानु नपा–१२, तनहुँ
तनहुँमा नेकपा (एमाले) को अवस्था कस्तो छ ? यो प्रश्नको जवाफ दिन तथ्यांकबाट सुरु गरौँ ।
तनहुँमा १० पालिका छन्–व्यास, शुक्लागण्डकी, भीमाद, भानु नगरपालिका र बन्दीपुर, म्याग्दे, घिरिङ, देवघाट, आँबुखैरेनी, ऋषिङ गाउँपालिका । अघिल्लो स्थानीय चुनावमा कांग्रेसले ५, एमालेले ४ र माओवादीले १ पालिका जिते । जिल्लाका केही पालिकामा हामी पूरै प्यानल हा¥यौँ । भानुमा १३ वडामध्ये २ वडा मात्र जित्यौँ । प्रतिनिधिसभाको चुनावमा पनि तनहुँमा एमाले अपेक्षित नतिजा ल्याउन सकेन ।
यो तथ्यांकले के भन्छ भने तनहुँमा एमाले सकिएको होइन, तर कमजोर हुँदै गएको छ । संगठन अझै छ, तर मनोबल घटेको छ । कार्यकर्ता अझै छन्, तर उत्साह घटेको छ ।
तनहुँ जिल्ला पार्टीको अहिलेको अवस्था तीन तहमा बुझ्नुपर्छ ।
पहिलो, संगठनको अवस्थाः
तनहुँमा वडा तहसम्म एमालेको संरचना छ । केही पालिकामा हाम्रो संगठन अहिले पनि बलियो छ । तर केही नगरपालिका÷पालिकामा संगठन निष्क्रिय जस्तै छ । धेरै वडामा अधिवेशन भएको छैन । कमिटी पुरानै छ, नयाँ अनुहार आएका छैनन् । पुरानो कमिटीले मात्र नयाँ चुनाव लड्न सक्दैन ।
दोस्रो, नेतृत्वको अवस्थाः
तनहुँमा नेतृत्वमा गुटबन्दी सबैभन्दा ठूलो समस्या बनेको छ । टिकटको बेला वडाले छानेको मान्छेलाई होइन, गुटको मान्छेलाई टिकट दिने प्रवृत्तिले कार्यकर्तालाई निराश बनाएको छ । अघिल्लो पटक कतिपय ठाउँमा तालमेल र भागबण्डाको नाममा वडा साट्ने काम भयो । त्यसले गर्दा ‘हामीले भोट हाले पनि हाम्रो मान्छे उठ्दैन’ भन्ने भावना कार्यकर्तामा पसेको छ । केन्द्रको विवाद पनि तनहुँसम्म आइपुगेको छ । केन्द्रको झगडा तनहुँमा ल्याउँदा कार्यकर्ता झन् बाँडिन्छन् ।
तेस्रो, जनतासँगको सम्बन्धको अवस्थाः
तनहुँका जनताले एमालेबाट के खोजेका छन् ? ठूलो भाषण होइन । जनताका माग । तर पार्टीले यी मुद्दालाई जिल्लाको एजेन्डा बनाउन सकेको छैन । पार्टीको कुरा केन्द्रको राजनीतिमा मात्र अल्झेको छ, वडाको समस्यामा पुगेको छैन । त्यसैले युवा र तटस्थ मतदाता एमालेबाट टाढिएका छन् । जुन बर्गको जगमा एमाले उभेको थियो त्यो बर्ग नै आज एमालेसँग छैन ।
अब तनहुँ जिल्ला पार्टीले के गर्नुपर्छ ?
पहिलो, अब केन्द्रको सर्कुलर अनुसार वटै पालिकामा वडा अधिवेशन सकाएर नयाँ कमिटी बनाउने । नयाँ कमिटीमा हरेक वडामा कम्तिमा २० प्रतिशत युवा र महिला अनिवार्य राख्ने ।
दोस्रो, टिकटमा न्याय गर्ने । यसपाली टिकट वडा र पालिका कमिटीको सिफारिसबाट मात्र दिने । माथिबाट भागबण्डा नगर्ने । वडाले छानेको मान्छे हारे पनि कार्यकर्ताले अपनाउँछन्, माथिबाट लादेको मान्छे जिते पनि कार्यकर्ताले अपनाउँदैनन् ।
तेस्रो, तनहुँकै एजेन्डा बनाउने । तनहुँको खानेपानी, बाटोघाटो, पुल, स्वास्थ्य शिक्षा, रोजगारी सृजना गर्ने सुकुम्बासिलाइ लालपुर्जा, पर्यटन र कृषि बजारलाई जिल्ला पार्टीको मुख्य एजेन्डा बनाउने । केन्द्रको एउटै घोषणापत्रले तनहुँ जितिँदैन ।
चौथो, केन्द्रको विवाद तनहुँमा नल्याउने । तनहुँमा अहिले चाहिने भनेको ‘कसले नेतृत्व गर्ने’ भन्ने विवाद होइन, ‘तनहुँका जनताको काम कसले गर्ने’ भन्ने प्रतिस्पर्धा हो ।
तनहुँ एमालेको राम्रै थियो । अहिले कमजोर भएको छ, तर मरेको छैन । वडाको कुरा सुन्ने, टिकटमा न्याय गर्ने र जनताको मुद्दामा केन्द्रित हुने हो भने तनहुँ फेरि फर्किन्छ । तर त्यही पुरानो गुट, पुरानो तरिका र पुरानो भाषण दोहो¥याउने हो भने तनहुँका जनताले अर्को विकल्प खोज्नेछन् ।
निर्णय अब तनहुँ जिल्ला पार्टीकै हातमा छ ।
लेखक नेकपा एमाले जिल्ला कमिटि तनहुँका सदस्य हुनुहुन्छ












