मुकुन्देश्वरी गढीमा चैते दशैं मेला हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २१

तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक मुकुन्देश्वरी गढीलाई प्रर्वद्धन गर्न चैते दशैं मेला सञ्चालन गरिने भएको छ ।

बन्दीपुर गाउँपालिका, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय र मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण संरक्षण समितिको संयुक्त आयोजनामा उक्त मेला आयोजना गर्न लागिएको हो ।

हजारौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको मुकुन्देश्वरी मन्दीरमा यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण संरक्षण समितिका अध्यक्ष सुकुमलाल गुरुङले बताए ।

यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैंश गुरुङलले जानकारी दिए ।

ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्र्याउने लक्ष्य राखिएको बताउँदै, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले भ्रमण वर्षलाई सफल पार्न प्रत्येक महिनामा फरक फरक कार्यक्रमहरु सञ्चालन गरिएको बताएका छन् ।

मुकुन्देश्वरी डाँडाँमा अवस्थित यो मन्दिरमा विगतमा बडादशैंका अवसरमा नियमित पूजा गरिँदै आए पनि पछिल्लो समय चैते दशैं लगायत अन्य समयमा पनी पूजाआजा गरिँदै आएको छ । इतिहासविद्हरूका अनुसार पाल्पाली राजा मणि मुकुन्दसेन पाल्पाबाट काठमाडौँ उपत्यका जाने वा आफ्ना अन्य राज्य लगायत तीर्थस्थलहरू भ्रमण गर्ने क्रममा मुकुन्देश्वरीमा बसाइ गर्ने गर्थे ।

मन्दिर क्षेत्र परिसरमा अझै पनि राजा मणि मुकुन्दसेनको शीतकालीन दरबारका भग्नावशेष, तत्कालीन सैनिक टुँडिखेल, ३०–३५ जना अट्ने गुफा, ८–१० फिट गहिराइको इनार, घोडा बाँध्न प्रयोग गरिएका तबेलाहरू रहेका छन् । यी सम्पदाहरूलाई संरक्षण गर्दै मुकुन्देश्वरी क्षेत्रलाई अध्ययन अनुसन्धानको केन्द्रका रूपमा समेत विकसित गर्ने योजना अघि सारिएको छ ।

गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि मणि मुकुन्देश्वरी पदमार्ग (मिनि ग्रेटवाल) निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ ।

मुकुन्देश्वरी समुन्द्री सतहबाट १,३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली, गणेश, लाङटाङ हिमशृङ्खलाहरू लगायत तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका विभिन्न स्थानहरू सजिलै अवलोकन गर्न सकिन्छ ।
बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुग्न सकिन्छ, त्यसपछि करिब ४५ मिनेटको उकालो पैदल यात्रा गरेपछि मुकुन्देश्वरी डाँडामा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी