तनहुँ । जेठ २६
कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि गत विहिबारदेखी सुरु भएको कालिगन्डकी पदयात्रा उत्साहजनक रुपमा सन्चालन भईरहेको छ । पदयात्रको टोली आईतवार तनहुँको घिरिङ गाउँपालिका–१ को पुट्टार स्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा बास बसेको थियो । यात्राको क्रममा टोलीलाई नवलपुरको बुलिङटार र बौदीकाली गाउँपालिकाका तथा तनहुँको प्ुट्टारमा स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।



कालीगण्डकी पदयात्रा देवघाटमा रहेको त्रिशुली र कालीगन्डकी नदीको संगम वेणीबाट विहिबार विहान सुरु भएको थियो । दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी नदी र कालीगन्डकी सभ्यताको संरक्षणकोको लागि महेश सन्यास आश्रम देवघाटको समन्वयमा विहिबारबाट ४३१ किलोमिटर दुरीको कालीगन्डकी पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका आचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । पौडेलका अनुसार पदयात्रा निकै उत्साहजनक रुपमा सन्चालन भईरहेको छ ।

‘प्रकृति संस्कृति र सभ्यताको आरधना, कालिगन्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुल नाराका साथ आयोजित उक्त पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरू सहभागी छन् । पदयात्रा देवघाटधामबाट दामोदरकुण्डसम्म पुग्ने छ । देवघाटधामबाट सुरु भएको पदयात्रा दामोदर कुण्डमा पुगेर समापन हुनेछ । पदयात्रा ४३१ किलोमिटर र २२० मिटर सामुद्रिक सतहदेखि ४९९० मिटर उचाइसम्म हुनेछ । पदयात्रा २२ देखि २५ दिन सम्म हुनेछ । कालीगण्डकी किनारको कालीगण्डकी करिडोर र शालिग्राम करिडोर हुदै यात्रा गरिने पौडेलले बताए ।
यात्रामा दैनिक आठ घण्टा तथा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । उक्त पदयात्रामा कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य हुनेछ ।
कालीगन्डकी नदी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा प्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले प्रत्यक्ष देवताका रूपमा पूजा गर्दछन् । गण्डकीका किनारमा दामोदर कुण्ड÷मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध छन् ।

पछिल्लो समयमा गण्डकीका सन्तानहरूले नै आमाको त्यो दिव्यतम महिमा र सौन्दर्य भुल्दै गएको देखिएको छ, जसका कारण पवित्र कालीगण्डकीको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक गरिमा कमजोर बन्दै गइरहेको सन्दर्भमा जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पुर्याउने उद्देश्यले कालीगन्डकी पदयात्रा गरिएको पदयात्रामा सहभागी महेश सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी रमणानन्द गिरिले बताए ।
पदयात्रामा व्रतधारण गरेका साधु–सन्त र अभियन्ताहरु तथा गण्डकी किनारका श्रद्धालुहरू आ–आफ्ना क्षेत्रमा यथाशक्य सहभागी हुन सक्नेछन् । पदयात्राको क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम, ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम–दामोदरकुण्डधाम लगायत मुख्य तिर्थहरुमा पूजा एवं जागरण सभा हुनेछ ।

कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र संवर्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा आयोजित पदयात्रा कार्यक्रम आ–आफ्नो तहबाट महत्वपूर्ण सहयोग पुर्याउन सम्पूर्ण गण्डकीप्रेमीहरूलाई अनुरोध गरिएको छ ।
उक्त ऐतिहासिक पदयात्रा आफ्नो स्थानीय क्षेत्र गाउँ/नगर/वडा/टोलमा आइपुग्दा व्यक्तिगत तथा सामूहिकरूपमा आवश्यक जलपान, भोजनप्रसाद र आवासको उचित प्रबन्ध मिलाई सहयोग गर्नहुन तथा आ–आफ्ना सांस्कृतिक पहिचान र प्रस्तुतिसहित सहभागिता जनाउनुहुन समस्त सनातनीहरूलाई संयोजक पौडेलले अनुरोध गरेका छन् ।












