गोमा न्यौपाने । देवघाट, मंसिर ११
देवघाट गाउँपालिका–५ पिपलटारमा निर्माणाधिन ऐतिहाँसिक भर्जनकालिका देवी मन्दिरमा सामुहिक रुपमा सप्त गजुर स्थापना गरिएको छ । विहिबार आयोजित कार्यक्रममा देवघाटका जनप्रतिनिधिले सामुहिक रुपमा गजुर स्थापना गरेका हुन् ।



देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले दिप प्रज्वलन सहित औपचारिक रुपमा मन्दिरको मुल गजुर स्थापना गरेका थिए । त्यसैगरि उपाध्यक्ष भुवनसिं गुरुङले मुल घण्टी माथिको स्थानको गजुर स्थापना गरेका थिए । वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले आग्नेय कोणमा, दक्षिणतर्फको कोणमा वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले, पश्चिमतर्फको कोणमा वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आलेले, उत्तरतर्फको कोणमा वडा नम्बर २ का वडा अध्यक्ष मिन बहादुर रानाले र इशान कोणमा वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङले गजुर स्थापना गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भर्जन कालिका मन्दिर देवघाटको निकै पुरानो मन्दिर भएको हुँदा मन्दिर निर्माण समितिले उक्त स्थानामा निकै आकर्षक मन्दिर निर्माण गरेको बताए । उक्त मन्दिर धार्मिक दृष्टिकोणले मात्र नभई पर्यटनको दृष्टिले पनि महत्वपुर्ण रहेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले स्थानीय जनसमुदायको मेहनत र परिश्रमले मन्दिरको निर्माण कार्य र संरक्षण सम्भव भएको भन्दै यसले अन्य वडाका जनतालाई पनि राम्रो सन्देश दिएको बताए ।

वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आलेले मन्दिर निर्माण कार्यको लागि निर्माण समितिले गरेको योगदानको प्रशंसा गर्दै भर्जनकालिका देवी मन्दिरको गजुर स्थापना कार्यक्रम मार्फत देवघाट धार्मिक स्थल भएको परिचयका साथ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापना, आपसी मेल मिलाप र अनुशासनको आध्यात्मिक सन्देश पुगेको बताए ।
मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले मन्दिरको स्थापना, ऐतिहासिक महत्व तथा पृष्ठभुमिको बारेमा चर्चा गर्दै वि.स २००६ सालमा मन्दिर स्थापना भएको र देवीको मन्दिर स्थापना भएपश्चात् मात्र पानीको स्रोत खुलेको बताए । हाल मन्दिरस्थल भित्र नै पानीको स्रोत भएको र त्यसलाई निर्माण र संरक्षण समितिले संरक्षण गरेको न्यौपानेले जानकारी गराए ।

न्यौपानेले मन्दिर निर्माणको क्रममा आर्थिक सहयोग गर्नुहुने देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति, विभिन्न संघ संस्थाहरु, आम जनसमुदायहरुमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा मन्दिर क्षेत्र भित्र पोखरी निर्माण, खेलकुद मैदान, शौचालय निर्माण पर्खाल निर्माण लगायत भौतिक संरचना निर्माणको लागि थप बजेटको आवश्यकता रहेकोे हुनाले देवघाट गाउँपालिका लगायत अन्य संघ संस्थाहरु आमजन समुदायहरुमा सहयोगकोलागि अनुरोध गरे ।
मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्दिर निर्माण समितिका उपाध्यक्ष पन्च बहादुर आलेले स्वागत मन्तव्य राखेका थिए । मन्दिर संरक्षण समितिका अध्यक्ष प्रविण कार्की, निर्माण तथा संरक्षण समितिका पदाधिकारीहरु, सामुदायिक बन खानेपानी संस्थाका पदाधिकारीहरु देवघाट क्षेत्र विकास समितिका सदस्यहरु लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सन्चालन निर्माण समितिकी कोषाध्यक्ष पार्वती थापाले गरेकी थिइन् ।

सोही अवसरमा मन्दिर निर्माणकोलागि देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले १६ हजार, स्थानीय सुर्यबहादुर विकले १६ हजार (यस अघि ११ हजार प्रदान), रामप्रसाद जैसीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।












