तनहुँ । मंसिर १४
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको लागि भएको निर्वाचनको मत गणनाको क्रममा विवाद भएपछि तनहुँ क्षेत्र नम्बर १ मा मतगणना स्थगित भएको छ । बन्दीपुर गाउँपालिकामा खसेको मत संख्या र उम्मेदबारलाई प्राप्त मतलाई लिएर महाधिवेशन प्रतिनिधिका उम्मेदबार र उम्मेदबारका प्रतिनिधिले विवाद निकालेका थिए ।



बन्दीपुर गाउँपालिकामा २५७ मत मध्ये निर्वाचनमा २४२ मत खसेको थियो । खसेको मत संख्या हालको अवस्थामा अस्वभाविक भएको भन्दै उम्मेदबार पुर्णबहादुर गुरुङले मत गणना गर्नु अघि नै आपत्ती जनाएका थिए । नेताहरुको आग्रहपछि गुरुङ मत गणना गर्न तयार भएका थिए । उम्मेदबारहरुका विच सहमती भई देवघाट गाउँपालिकाबाट मतगणना गर्न सुरु गरिएको थियो ।
देवघाट गाउँपालिकाबाट खुल्ला तर्फ हरिराज कडेललाई ८८, श्रीराम कार्कीलाई १४, रामबहादुर गुरुङलाई १३, घनश्याम श्रेष्ठलाई २६, पुर्णबहादुर गुरुङलाई ७३ र प्रेमकुमार रानालाई १८ मत आएको थियो । त्यस्तै देवघाटबाट महिला तर्फ मनुमाया श्रेष्ठलाई १ सय, देवु विष्टलाई २९, रुपा तामाङलाई ३३ र फुलमती थापालाई ५० मत प्राप्त भएको थियो । युवा तर्फ मदन तिमिल्सेनालाई ४९, सोमबहादुर तामाङलाई ३३ र सरु कुमाललाई २७ मत प्राप्त भएको थियो ।
त्यसैगरि दोश्रोमा गनिएको आबुँखैरेनीबाट हरिराज कडेललाई ४७, श्रीराम कार्कीलाई ५, रामबहादुर गुरुङलाई १३, घनश्याम श्रेष्ठलाई ३२, पुर्णबहादुर गुरुङलाई ३१ र प्रेमकुमार रानालाई १ मत आएको थियो । त्यस्तै महिला तर्फ मनुमाया श्रेष्ठलाई १५, देवु विष्टलाई ४०, रुपा तामाङलाई ११ र फुलमती थापालाई २६ मत प्राप्त भएको थियो । युवा तर्फ मदन तिमिल्सेनालाई ३१, सोमबहादुर तामाङलाई ३२ र सरु कुमाललाई १ मत प्राप्त भएको थियो ।

त्यसैगरि भानु नगरपालिकाबाट हरिराज कडेललाई १०३, श्रीराम कार्कीलाई ६१, रामबहादुर गुरुङलाई ८६, घनश्याम श्रेष्ठलाई १३६, पुर्णबहादुर गुरुङलाई १२१ र प्रेमकुमार रानालाई २४९ मत आएको थियो । त्यस्तै महिला तर्फ मनुमाया श्रेष्ठलाई १४६, देवु विष्टलाई २२०, रुपा तामाङलाई २८९ र फुलमती थापालाई ८४ मत प्राप्त भएको थियो । युवा तर्फ मदन तिमिल्सेनालाई २४, सोमबहादुर तामाङलाई ३६८ र सरु कुमाललाई ९ मत प्राप्त भएको थियो ।
बन्दीपुर गाउँपालिकामा कुल खसेको २४२ मत मध्ये पहिलो लटको १ सय मत गन्दा घनश्याम श्रेष्ठलाई ९८ मत प्राप्त भएको थियो । महिला तर्फ बन्दीपुरबाट फुलमती थापालाई सय मत गन्दा ९९ मत प्राप्त भएको थियो । अन्य उम्मेदबारलाई निकै कम मत आएको थियो । बन्दीपुरमा अस्वभाविक मत खसेको र त्यसमाथी बन्दीपुर कै उम्मेदबार घनश्याम श्रेष्ठ र फुलमती थापालाई करिब शतप्रतिशत मत प्राप्त भएपछि गणनामा बसेका अन्य उम्मेदबार र उम्मेदबारका प्रतिनिधिले आपत्ती जनाएका थिए । यसैक्रममा उनीहरुले बन्दीपुरको मतगणना तत्काल स्थगित गर्न माग गरेका थिए । त्यसक्रममा केहीबेर होहल्ला समेत भएको थियो । नेताहरुसँगको परामर्शमा मुख्य निर्वाचन अधिकृत शिवदत्त ढकालले बन्दीपुरको मतगणना स्थगित गर्ने निर्णय गरेका थिए । बन्दीपुरको गणना स्थगित भएपनि अर्काे स्थानमा भानु नगरपालिकाको मत शान्तीपुर्ण रुपमा भईरहेको थियो भने व्यास नगरपालिकाको मत बन्दीपुरको टुंगो लगाएपछि मात्रै गणना गर्ने निर्णय भएको थियो ।
भानु नगरपालिकाको मत गणना सकेपछि गणना भएको मत र गन्न बाँकी मतलाई सुरक्षित सात राखेर गणक प्रतिनिधि र नेता तथा कार्यकर्ताहरु घर गईसकेपछि केही अप्रिय घटना भएको एमालेका नेताहरुले जनाएका छन् । रातको करिब १.३० बजे जिल्ला अध्यक्ष हरिराज कडेंलको कार्यकक्षमा अध्यक्ष कडेंल र निर्वाचन अधिकृत शुनिल पाण्डे गफ गरिरहेको अवस्थामा महाधिवेशन प्रतिनिधिका उम्मेदबार पुर्णबहादुर गुरुङ आफ्ना केही सहयोगी सहित पार्टी कार्यालय भित्र छिरेर अध्यक्ष कडेंल र निर्वाचन अधिकृत पाण्डेलाई कुटपिट र दुव्र्यहवार गरि बन्दीपुर गाउँपालिकाको मत पेटिका कब्जा गरेर लगेको आरोप लागेको छ । व्यास नगरपालिकाको मतपेटिकामा फर्जि मत खसाल्न लागेको सुनेपछि आफुहरु पार्टी कार्यालय आएको व्यास नगर कमिटिका उपाध्यक्ष चिजबहादुर गुरुङले बताए । उनले आफुहरुले नेताहरुलाई कुटपिट गरेको नभई सामान्य भनाभन मात्र भएको बताए ।
निर्वाचन अधिकृत पाण्डेले फर्जि मतको आरोप पुर्णत निराधार रहेको बताए । उनले मतगणना शान्तिपुर्ण रुपमा भईरहँदा केही व्यक्तिहरुले होहल्ला गरि गणनालाई प्रभावित पारेको बताए । मतपेटिका लुटेर लाने क्रममा जिल्ला अध्यक्ष कडेंल र आफुलाई कुटपिट भएको पाण्डेले बताए ।
क्षेत्र नम्बर १ को मत गणना कार्य प्रभावित भएपछि आगामी प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा उम्मेदबार र एमालेका केन्द्र र जिल्लाका नेताहरु विच आइतबार अबेरसम्म छलफल भएपनि त्यसले केही निश्कर्ष निकाल्न सकेन ।

यता क्षेत्र नम्बर २ मा भने शनिबार नै सबै क्लष्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ । उक्त क्षेत्रमा खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ म्याग्दे, राजेश्वर ढकाल ऋषिङ र विष्णुभक्त सिग्देल घिरिङ, महिला तर्फ बिर्सना श्रेष्ठ शुक्लागन्डकी र विष्णुमाया अधिकारी पराजुली शुक्लागन्डकी तथा ४० वर्ष मुनीका युवा तर्फ उज्वल खनाल भिमाद प्रतिनिधि चयन भएका छन् ।

यसैगरि दलित समुदायको प्रतिनिधि तर्फ मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे सर्वसम्मत चयन भएका छन् । सबै उम्मेदबारले नाम फिर्ता लिएपछि लामगादे सर्वसम्मत भएका हुन् ।












